KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

यौन व्यवसायमा बालिका  संग्लनताबारे अनुगमनमा ‘यौन व्यवसायी’ जस्तै बनेर ग्राहकसँग ‘बार्गेनिङ’ गर्दा 

प्रकाशित मिति : श्रावण १९, २०७३ बुधबार

– बिन्दु परियार

कसैलाई पर्खिरहनुभएको हो ? उसको प्रश्नको झस्किएको नाटक गरे पनि वास्तवमा म झस्किएकी थिइनँ । मलाई थाहा भइसकेको थियो, त्यो मान्छेले पक्कै पनि मलाई यौन व्यवसायी ठानिसकेको थियो भनेर । कुरा २०७३ वैशाख ३१ को हो । राजधानीको विभिन्न आकाशे पुलहरू र केही सार्वजानिक स्थलहरूमा यौन व्यवसाय मौलाइरहेको र त्यसमा बालिकाहरूको संग्लनता बढिरहेको भन्ने थाहा भएपछि हाम्रो अभियान (अधिकारका लागि अभियान) ले आकाशेपुलमा अनुगमन गर्ने निर्णय गर्‍यो । त्यही निर्णयअनुसार उक्त अभियानमा संग्लन विभिन्न संस्थाहरू र काठमाडौं जिल्ला बाल कल्याण समितिको प्रतिनिधिसमेत गरेर हामी करिब १८ जना जति कलंकीमा भेला भयौं । अरू संस्थाहरूका साथीहरू प्राय: यस्ता अनुगमनमा गइरहन्थे । तर म र केही साथीहरूका लागि यो नौलो अनुभव थियो । अझै भनुँ ममा केही डर थियो केही उत्सुकता । अनुगमन पहिला कलंकीकै एउटा संस्थामा जम्मा भई सानो छलफल गर्‍यौं । त्यसपछि हामी २/२ जनाको समूह बनाई लाग्यौं कलंकीको आकाशेपुलतर्फ । मसँग ‘विश्वास नेपाल’की मधु गुरुङ हुनुहुन्थ्यो । हामी १८ जना पुलमा नजिकै नजिकैजस्तै भएर त्यहाँको गतिविधि नियाल्न थाल्यौं । त्यहाँको अवस्था देख्दा साँच्चिकै मलाई लागिरहेको थियो, म कुनै ‘रेड एरिया’ मै छु । त्यहाँ हेर्दा १२, १३ वर्षका तर तर लागूऔषध प्रयोग गरेको जस्ता देखिने बालिकाहरू ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेको देख्दा मलाई धेरै दु:ख लागिरहेको थियो । हामी पुलमा टहल्लिरहेको करिब २०, २५ मिनेट भइसकेको थियो । त्यसबीचमा हामीलाई पछ्याए पनि कोही प्रत्यक्ष बोल्न आएन । पछि हामी एक्लै– एक्लै टहलिन थाल्यौं । एक्लै भएको करिब १० मिनेटपछि पहिलादेखि नै मलाई पछ्याइरहेको करिब ३०, ३२ वर्षको टाउकोमा हेल्मेट लगाएको केटा मेरो छेउमा उभिन आइपुग्यो । ऊ मेरो यति नजिक आयो कि करिब–करिब मलाई छुनै लागेको थियो । उसको पहिलो प्रश्न सोध्यो– कसैलाई पर्खनुभएको हो ?  मैले सहज रूपमा भनें, ‘हैन यसै घुमिरहेको ।’ अब प्रश्न सोध्ने पालो मेरो थियो, उही प्रश्न दोहोर्‍यादिएँ, ‘तपाईं पनि कसैलाई कुर्दै हो ?’ मेरो प्रश्न नसकिँदै उसको जवाफ आयो– हैन । त्यसपछि मैले यहाँ किन त भनेर सोधें । उसको जवाफ आयो– साथी खोज्न । म– कस्तो साथी ? ऊ– मनोरञ्जन गर्ने साथी । म त्यति बेला साँच्चै कामिरहेको थिएँ तर सहज हुँदै कुरा पनि गरिरहेको थिएँ । ऊ– जाने हो ? म– कहाँ ? ऊ– तिम्रो आफ्नै ठाउँ, नत्र सुन्धाराको कुनै होटल । म– कति दिनुहुन्छ ? ऊ– कति लिनुहुन्छ ? म– म त महंँगो छु । ऊ– महँगो भनेको कति ? म– ५ हजार । ऊ– एक रातको ? म– हैन १ घन्टाको । ऊ– बढी भएन र ? म– म योभन्दा कममा जान सक्दिनँ । एक छिन दुवैजना चुप । त्यसपछि म– घर कहाँ ? ऊ– काठमाडौंबाहिर । यहाँ काम परेर आएको सुन्धाराको होटलमा बसेको छु । आज फर्कने भनेको काम सकिएन । त्यही भएर रात रमाइलो बनाऊँ भनेको… म– रातमा त म बस्न सक्दिनँ । अहिले करिब २ बज्न लाग्यो म ५ बजेसम्म बस्न सक्छु तपाईंसँग… ऊ– कति ३ घन्टाको ? म– १ घन्टाको ५००० लिन्छु भने ३ घन्टाको १५००० । ऊ– महँगो भएन र ?
म– सस्तो पनि पाउनुहुन्छ जानु अरूलाई खोज्नु । ऊ– त्यो नै सबै कुरा हैन मन मिल्नुपर्यो नि… । तपाईंलाई हेर्दा स्मार्ट लाग्यो त्यही भएर अघिदेखि पछ्याइरहेको… उसको कुरा सुनेर मलाई हाँसो लाग्यो, जो घरमा श्रीमती हुँदाहुँदै एउटा यौनकर्मीसँग यौनसम्बन्ध राख्न खोज्दै छ, उही अझै मन मिलाउने कुरा गर्दै छ । अनि मैले हाँस्दै भनें– ठीकै छ म ३ घन्टा तपाईंसँग जान्छु तर १०००० भन्दा घट्दिनँ ।ऊ खुसी हु‘दै– ठीकै छ म दस हजार दिन तयार । अब भने मलाई साँच्चिकै डर लागिरहेको थियो, बार्गेनिङ र त्यति कुरा भइसकेपछि ऊ मेरो पछि लाग्ला भनेर । ठीक त्यति नै बेला अभियानकै भाइ चेतन आइपुगे । मलाई ढुंगा खोज्दा देउता मिलेको जस्तै भयो । अनि म ऊसँग छुट्टिएर अरू साथीहरू भएको स्थलमा पुगें । बाहिरिने क्रममा पछाडि फर्कंदै हेर्दै गर्दा लाग्थ्यो, अझै उसका आँखाहरू मलाई अपिल गरिरहेका छन् । बेलुका घर आएपछि रातभर निदाउन सकिनँ । त्यहाँको दिनभरको अवस्था र हामीले गरेको ‘बार्गेनिङ’ मनमा खेलिरह्यो । अझै अचम्म त त्यो आकाशेपुलमै रात कटाउने (पुललाई स्ट्यान्ड दिने मेन खम्बाको माथि ठ्याक्कै कोठाजस्तो हुने रहेछ) समेत गरिँदो रहेछ । अचम्म, प्रहरीहरू त्यहीँ हुँदा पनि त्यही ठाउँमा दिउँसै पनि यौनकार्य हुँदो रहेछ । त्यसपछि पनि हामी गोंगबुलगायतका केही ठाउँमा अनुगमनका लागि गयौं, तर अरू ठाउँहरूभन्दा बढी दर्दनाक अवस्था कलंकीमै पायौं । तपाईं यदि युवती हो र ५ मिनेट पुलमाथि उभिनुभयो भने ‘बार्गेनिङ’ गर्न ग्राहकहरू आउनेछन् । यदि तपाईं केटा हो भने ग्राहक ठानेर यौनकर्मीहरू नजिकिनेछन् । हाम्रो अनुगमनपछि जिल्ला बालबालिका उद्धार समितिले त्यहाँका केही बालिकालाई उद्धार गरी सेन्टरमा राखिरहेको छ । पछि हामी फेरि अनुगमनमा जाँदा यौनकर्मीहरू देखिए तर त्यहाँ पहिलेजस्तो बालिका थिएनन्, अनुगमनले काम गरेछ । अनुगमनका क्रममा भेटिएका यौनकर्मी बालिका तथा महिला यो पेसामा खुसी छैनन् । रोजगारी नहुँदा र भएको रोजगारीबाट आउने तलबले जीविका नचल्दा धेरै महिला बाध्यताले यो पेसामा छन् । अझै भूकम्पपछि यस्तो व्यवसाय गर्नेहरू बढिरहेका छन् । धेरै बालबालिका घरबारविहीन भएर, बाबाआमा गुमाएर यस पेसामा आएका छन् । कतिपय रेस्टुरेन्ट तथा मनोरञ्जनका क्षेत्रमा काम गर्दै जाँदा त्यहाँ यौन दुव्र्यवहार भोगेपछि सडकसम्म आइपुगेका छन् । बाँच्नकै लागि यो पेसा अपनाउने किशोरीको संख्या बढ्दै छ । काठ्माडौंमा कति यौनकर्मी छन्, यकिन छैन । अनुगमनका क्रममा मैले भेटेका व्यवसायीहरू ११,१२ देखि ३४, ३५ वर्षका बढी छन् । मलाई अचम्म लागेको त देख्दा ६५, ७० वर्षकी देखिने एकजना आमाले कलंकीमा ग्राहक मिलाइदिने काम गर्दिरहिछन् । त्यसबापत उनले कमिसन लिँदिरहिछन् । अनि ग्राहकहरूचाहिँ १८, १९ देखि २५ वर्षसम्मका केही र त्यसदेखि माथि ५० वर्षसम्मका धेरै हुने रहेछन् । बढी ग्राहक वैदेशिक रोजगारीमा जान लागेका/फकिर्एका, पुलिस आर्मी, गाडीचालक र सहचालकहरू देखिए । तरकारी, फलफूल बेच्नेहरूदेखि विद्यार्थीसम्म पनि ग्राहकका रूपमा भेटिए । धेरै महिलाहरू आफैंभन्दा पनि आफ्नो जीवनमा आउने पुरुषसँगको सम्बन्ध बिग्रिएपछि यौनकार्यमा लागेको पाएँ । केही समयअगाडि मजदुर दिवसको दिन राजधानीमा एउटा कार्यक्रम हुँदैथ्यो । त्यहाँ दुईजना महिला, एकजना २ छोराकी आमा ४२ वर्षीया केसी थरकी र अर्की पोखराकी २८ वर्षीया नेपाली थरकी एक छोरीकी आमा आए । उनीहरू दुवैले अन्तरजातीय विवाह गरेका रहेछन् । आफ्नो पतिको घर कहिल्यै नगएका उनीहरू जब पतिले छाडे त्यसपछि क्याबिन रेस्टुरेन्ट हुँदै यौनकर्मी बन्न पुगेका रहेछन् । उनीहरूलाई आफ्नै पेसा मन पर्दैन । उनीहरू निस्कन चाहन्छन् यो दलदलबाट । तर चिन्ता छ छोराछोरीको भविष्य र आफ्नो दैनिकी गुजाराको । अनुगमनका क्रममा हामीले यस्ती गर्भवती महिला भेट्यौं– जसलाई डाक्टरले ‘डेलिभरी डेट’ दिइसकेका थिए र उक्त मिति आउन केही दिन मात्र बाँकी थियो– उनी पनि सुत्केरी खर्च जोहो गर्न त्यस्तो अवस्थामा समेत आफ्नो शरीर बेचिरहेकी थिइन् । उनका पति वैदेशिक रोजगारीमा गएदेखि नै बेखबर रहेछन् । यसरी थुप्रै महिला तथा किशोरी आफ्नो जीविकोपार्जनका लागि यो पेसा अँगाल्न बाध्य छन् । सरकारले यहाँबाट निस्कन चाहने महिलाहरूलाई रोजगारी तथा सीपमूलक तालिमहरूको योजना ल्याउन सके धेरै महिला तथा किशोरी यो दलदलबाट निस्किएर सामान्य जीवन जिउन सक्थे ।

कान्तिपुरबाट

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com