गैरकानुनी रुपमा सिमा पार गर्नेलाई शरण नदिने ट्रम्पको आदेशबिरुद्ध अदालतमा मुद्दा


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनीरुपमा अमेरिका छिर्ने आप्रवासीहरुलाई एसाइलम गर्ने अधिकारबाट वञ्चित गर्ने कार्यकारी आदेश जारी गरे लगत्तै उक्त आदेशबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । द अमेरिकन सिभिल लिबर्टी युनियन र अन्य कानुनी समुहहरुले ट्रम्पको आदेशबिरुद्ध उत्तरी क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरेका हुन् ।

अदालतमा दायर गरिएको मुद्दामा ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ । ट्रम्पको कार्यकारी आदेश अमेरिकी संसदबाट तय गरिएको एसाइलमको नियमविपरित रहेको अधिकारकर्मीहरुको दावी छ ।

अमेरिकामा हरेक बर्ष ७० हजार भन्दा धेरै कागजपत्रविहिन आप्रवासीहरुले गैरकानुनी रुपमा सिमा पार गरेर एसाइलमका लागि आवेदन दिदै आएका छन् । कार्यकारी आदेशमा हस्ताक्षर पछि राष्ट्रपति ट्रम्पले अमेरिकामा आप्रवासीहरु चाहिएको तर उनीहरु कानुनी रुपमा आउनुपर्ने बताएका छन् ।

ट्रम्पको कार्यकारी आदेश शनिबारबाट लागु भएको छ । यो आदेश कम्तीमा तीनमहिनासम्म लागु हुनेछ भने पछि थप्न पनि सकिनेछ । यसअर्थमा कम्तीमा अबको ३ महिनाको अवधिमा गैरकानुनी रुपमा अमेरिका छिर्नेले अमेरिकामा एसाइलम आवेदन दिन पाउनेछैनन् । तर पहिले नै अमेरिका छिरिसकेकाहरुका हकमा भने यो नियम लागु हुनेछैन ।

अमेरिकी सिमा सुरक्षा गस्तीले अक्टोबरमा मात्र सिमाक्षेत्रबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ५० हजार लाई नियन्त्रणमा लिएको जनाएको छ । पोर्ट अफ इन्ट्रीमा आएर एसाइलम दावी गर्न सकिने बताइएपनि त्यहाँ भएको अत्यन्तै लामो लाइनका कारण अधिकारीहरुले पछि आउन भन्दै आप्रवासीहरुलाई फर्काउने गरेका छन् ।

तस्वीरमा  : सान डिएगोको पोर्ट अफ इन्ट्रीमा एसाइलमका लागि आवेदन दिन नोभेम्बर ९ मा लाइन उभिएका आप्रवासीहरु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com