अमेरिकाको मध्यावधी चुनाव : इतिहास रच्ने दौडमा नेपाली उम्मेदवार भण्डारी


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

भोलि हुने अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा नेपाली मुलकका नेपाली मुलका अमेरिकन नागरिक ह्यारी (एचबी) भण्डारी इतिहास रच्ने दौडमा छन् । मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ को प्राइमरी चुनाव जितेका उनी भोलि रिपब्लिकन उम्मेदवारहरुसँग भिड्दैछन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकले चुनाव जितेको इतिहास नभएको सन्दर्भमा भण्डारीले भोलिको चुनाव जितेमा अमेरिकामा नयाँ इतिहास कायम हुनेछ । प्राइमरी चुनावमा डेमोक्रयाटिक पार्टीको तर्फबाट चार जना मध्येबाट तिन जना उम्मदेवार बिजयी हुनुपर्नेमा ह्यारी ५ हजार ७ सय ६५ भोट ल्याएर दोश्रो स्थानमा बिजयी भएका थिए ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारीले भोलिको चुनाव जितेमा एउटा नेपाली मुलको युवा अमेरिकी राज्यको संसद भवन छिर्नेछ ।

तीनजना विजयी हुने भोलिको निर्वाचनमा ह्यारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटिक पार्टीका तर्फबाट भिड्दैछन् । उनीहरुले रिपब्लिकन पार्टीका तीनजना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग सामना गर्नुपर्नेछ । जो क्लस्टर र एरिक ब्रोमवेल यसअगाडि पनि चुनाव जितेका उम्मेदवारहरु हुन् ।

सन् २०१४ को चुनावमा यो क्षेत्रबाट दुईजना रिपब्लिकन र एकजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com