मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो


प्रकाशित मिति : मंसिर २६, २०७३ आईतबार

काभ्रे-बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा मंगलबार डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी परियारको शुक्रबार मृत्यु भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान

ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला ।

ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो । किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो । त्यस्तै, करिब ५ बजेको हुनुपर्छ । मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी आफ्नै बाटोतिर थियौँ । तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ… भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो । तर, ममी भाग्नुभएन । त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे । त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ ।

स्कुलको मैदानमा भलिबलको पोल छ । त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो । त्यसैले उहाँ एकैछिन रोकिनुभयो । त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए । छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन् । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो । सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो । त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन । पछि त दिसा लिएर आउनुभयो । सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन । त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए ।

त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे । केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो । हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ । पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ । अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो । चिरपटले ममीको टाउकोमा हान्नु भयो । ममीको टाउकोमा गहिरो घाउ लाग्यो । ममीको टाउकोबाट रगत बगिरहेको थियो । त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो ।

गाउँमा हल्ला भइसकेछ । मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो । उहाँ ६० वर्षको हुनुहुन्छ । मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो । मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ । उहाँ ममाथि पनि झम्टनुभयो । त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो । तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन । पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्‍यायौँ ।

बेलुकी घर गयौँ । अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो । बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ । त्यो दिन अस्पताल जाने कुरा भयो । तर, ढिलो भएकोले जान सकिएन । धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो । बिहीबार बिहान ममी उठ्न सक्नुभएन । त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ । घरमा ममीलाई औषधि दिँदै थियौँ । आँगनमा पुलिस आइपुग्यो । पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो । गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो । मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए ।

बेलुका बुबा र म सँगै सुत्यौँ । ममी नजिकैको टहरामा सुत्नुभयो । बिहान हजुरआमाले मलाई उठाउनुभयो । तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो । म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो । मैले बोलाउँदा बोल्नुभएन । अलिअलि सास फेरिरहनुभएको थियो । मैले पानी खुवाएँ । आमाआमा भनेर बोलाएँ । उहाँ बोल्नुभएन । म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए । गाउँलेहरुले पुलिसलाई खबर गरे ।

सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो । मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो ।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे । तर, पुलिसले उनलाई पक्राउ गर्‍यो । पुलिस अंकलहरुले बोलाएको हुनाले म शुक्रबार धुलिखेल आएको हुँ । तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ । किन थुनेको मलाई थाहा छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com