अमेरिकामा नेपालीलाई दिइएको टीपीएस सुविधा लम्बाउन अदालत जाने तयारी


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस खारेज गर्ने सरकारी निर्णयलाई अमेरिकी अदालतले अस्थायी रुपमा रद्द गरिदिएपछि अमेरिकामा बस्ने नेपालीका लागि टीपीएसको अवधि थप गराउन अदालत जाने तयारी गरिएको छ । अमेरिकामा बस्ने नेपालीका लागि टीपीएस सुविधाको अवधि सन् २०१९ को जुन २४ मा सकिदैछ । त्यसपछि सयौं नेपालीहरुले अमेरिकाबाट देशनिकालाको सामना गर्नुपर्नेछ ।

ती चार देशका टीपीएसप्राप्त नागरिकहरुले होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीलाई प्रतिवादी बनाएर अमेरिकी अदालतमा मुद्दा हालेका थिए । तर त्यतीबेला नेपालका टीपीएसप्राप्त कोही पनि व्यक्ति अदालत जान तयार नभएपछि यो सुविधा प्राप्त गर्नबाट नेपाल छुटेको हो । आफूहरु त्यतीबेला अदालतजान तयार भएपनि अदालत जानका लागि टीपीएसप्राप्त वादी प्राप्त नभएका कारण जान नसकेको अधिकारकी नर्बदा क्षेत्रीले जानकारी दिनुभयो ।

अधिकारले अदालतमा जान चाहने टीपीएसप्राप्त नेपाली खोजिरहेको र त्यसपछि नेपालका लागि दिइएको टीपीएसको अवधि लम्बाउन अदालत जान तयारी गरिरहेको क्षेत्रीले बताउनुभयो । नेपालको टीपीएसको अवधि झण्डै ८ महिनामात्र बाँकी रहेकाले अदालत जानका लागि समयसिमा भने निकै कममात्र रहेको छ ।

अमेरिकामा पुन दर्ताबाट सुविधा लिनसक्ने टीपीएसप्राप्त नेपालीहरु झण्डै ९ हजार रहेका छन् । उनीहरुमध्ये झण्डै १५ सय नेपालीहरुले पहिले नै देशनिकालाको आदेश पाइसकेकाले टीपीएस सकिनासाथ आगामी जुन २४ पछि बाध्यात्मक रुपमा अमेरिका छाड्नुपर्नेछ ।

कतिपय नेपालीहरु अमेरिकामा १० बर्षदेखि लामो समयदेखि बसिरहेकाहरु र अमेरिकन नागरिक छोराछोरीहरु भएकाहरु समेत छन् । नेपालको टीपीएस समाप्त भइसकेपछि त्यस्ता नेपालीहरुकाबिरुद्ध समेत अमेरिकी सरकारले देशनिकालाका लागि नोटिस टु अपियर जारी गर्नसक्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com