काठमाडौं संसारकै उत्कृष्ट बनाउँछौँः विद्यासुन्दर शाक्य


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्यसहित उपत्यकाका महानगर र नगरपालिकाले सामूहिक प्रतिवद्धता अघि बढाएका छन् । उपत्यकाका १८ महानगर र नगरपालिकाले उपत्यका नगरपालिका फोरम बनाएर यस्तो प्रतिवद्धता अघि बढाएका हुन् । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संयोजक रहेको उपत्यका नगरपालिका फोरमले ललितपुरमा पहिलो विस्तारित बैठक सम्पन्न गर्दै उपत्यकालाई संसारकै उन्नत शहर बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

बैठकमा काठमाडौं उपत्यकाको प्राकृतिक विशिष्ठता र यसको गरिमालाई मानवीय क्रियाकलापबाट जोगाएर संसारकै उन्नत शहर निर्माण गर्ने विषयमा छलफल भएको मेयर शाक्यले जानकारी दिनुभयो । बैठकमा फोहोरमैला व्यवस्थापनका विषयमा बढी केन्द्रित भएर छलफल गरेको पनि मेयर शाक्यले जानकारी दिनुभयो । बैठकमा फोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि उपत्यकाका नगरको एउटै धारणा बन्नुपर्ने, त्यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्नेलगायतका विषयलाई महत्वका साथ उठाएको शाक्यले जानकारी दिनुभयो ।

बैठकले मानव र समग्र चराचर जगतको अन्तःस्करणलाई आहत गर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिका लागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियालीयुक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थल सहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानेर घोषणा जारी गरेको हो ।

बैठकपछि जारी गरेको नौँ बुँदे विज्ञप्तिमा काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत शहर बनाउन महानगरपालिका÷नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्ने, वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउन संस्थागत संरचनाहरु परिचालित गर्ने उल्लेख गरिएको छ ।

‘स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्युनिकरण गर्दै जानेछौं,’ नौँ बुँदेमा भनिएको छ, ‘स्स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ ।’

बैठकमा नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दर र एकरुपता कायम गराउने विषय, जग्गा विकास आयोजना सञ्चालन, खरिद ऐनमा एक रुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक र सरकारी बन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषयमा पनि गहन छलफल भएको थियो । बैठकमा उठेका विषयहरुमध्ये कतिपय नीतिगत व्यवस्था गर्नु पर्ने र कतिपय कार्यान्वयन गर्नु पर्ने भएकोले विषयलाई कार्यसमितिले बर्गीकरण गरेर आगामी बैठकमा प्रस्तुत गर्ने तयारी गरेको पनि उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ ।

उपत्यकाको दिगो विकासका लागि साझा धारणा तय गर्ने भन्दै गत भदौ २२ गते उपत्यका नगरपालिकाका प्रमुख र उप–प्रमुखको भेलाले उपत्यका फोरमको गठन गरेको हो । ११ सदस्यीय कार्य समिति रहेको फोरमको उप–संयोजकमा ललितपुर महानगरका उप–प्रमुख गीता सत्याल र सचिवमा मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ हुनुहुन्छ । कार्यसमिति सदस्यमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र हुनुहुन्छ ।

घोषणा पत्रको पूर्ण पाठ
वातावरणीय स्वच्छताः हाम्रो प्रतिबद्धता
नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको, स्वच्छ र स्वस्थ वातावरण मानव मात्र नभई समग्र चराचर जगतकै लागि अपरिहार्य रहेको तथ्यलाई मनन गर्दै,

मानवीय मुल्य मान्यतालाई कायम राख्दै ‘वातावरणीय न्याय र शान्तिपूर्ण बसोवास मानव अधिकारको आधार’ भएकोले काठमाडौं उपत्यका प्राकृतिक रुपमा जति विशिष्ट प्रकृतिले परिचित छ, मानवीय क्रियाकलापबाट समेत सो गरिमालाई जगेर्ना गर्दै संसारकै उन्नत शहर निर्माण गर्ने उद्देश्य राख्दै,

मानव र समग्र चराचर जगतको अन्तःस्करणलाई आहत गर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिका लागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियालीयुक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थल सहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानी विकास निर्माणका कार्य गर्दा समेत वातावरणमा प्रतिकूल असर नपुग्ने कुराको सुनिश्चितता गर्दै,

हामी काठमाडौं उपत्यका भित्रका १८ स्थानीय सरकार (महानगरपालिका–नगरपालिका) को लागि साझा सवालहरुमा साझेदारी र सहकार्य गर्नका लागि मिति २०७५ भदौ २२ गते चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरी हिल्स, थानकोटमा बसेको महानगरपालिका, नगरपालिकाको प्रथम भेलाको फोरम गठन गर्ने साेंचबाट निर्देशित भई मिति २०७५ असोज १९ गते, चाँगुनारायण नगरपालिकास्थित नगरकोटमा बसेको बैठकबाट गठित उपत्यका नगरपालिका फोरम, काठमाडौंका संयोजक श्री विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको मिति २०७५ कात्तिक १३ गतेको बैठकबाट वातावरणीय न्यायका निमित्त साझा बोध नै सर्वोत्तम महत्वको विषय भएकोले यो घोषणा पत्र मार्फत देहायका विषयमा प्रतिबद्धता व्यक्त गर्दछौँ:

१) स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्यूनीकरण गर्दै जानेछौं ।

२) स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ ।

३) काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत शहर बनाउन महानगरपालिका-नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्नेछौँ । वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउन हाम्रो संस्थागत संरचनाहरु परिचालित हुनेछन् ।

४) काठमाडौं उपत्यकाको वातावरण संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै वैज्ञानिक रुपमा वातावरण प्रतिकूलका हानीकारक प्रभाव तथा असरहरुलाई घटाउन एकीकृत रुपमा जनचेतना, अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी वातावरणीय न्यायको निम्ति सहयोग, सहकार्य र साझेदारीका कार्यक्रमहरु गर्न सामुहिक रुपमा प्रतिबद्ध छौँ ।

५) उपत्यकाको प्रदुषण घटाउन फोहरमैलाको वैज्ञानिक व्यवस्थापन, वृक्षारोपण गरी हरियाली प्रबद्र्धन, पुराना सवारी साधन विस्थापन, ढल निकासलाई नदीको प्रवाहीकरणबाट पूर्णतः अलग गरी निर्मलीकरण गर्ने तथा प्रदूषणलाई बढावा दिने हानीकारक उद्योगधन्दा तथा पेशा व्यवसायलाई सुधार गर्दै जानेछौँ ।

६) विकास निर्माणका कार्यहरु गर्दा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने–नपार्ने तर्फ पर्याप्त सजगकता अपनाउने छौँ ।
७)सवारी साधनबाट निस्कने धुँवा तथा धुलोलाई कम गर्न यातायातलाई दिगो र वातावरण मैत्री बनाउने कार्यका लागि इन्धनको गुणस्तर कायम गर्दै स्वच्छ उर्जाको उपयोगका लागि अग्रसर हुनेछौँ ।

८) वातावरणीय स्वच्छता र वातावरणीय न्याय कायम गर्न सरकार, समुदाय, व्यवसायी, उद्यमी, नागरिक समाज र अन्य सरोकारवालाहरुबीच आवश्यक सहकार्य–साझेदारीलाई प्रोत्साहित गर्नेछौँ ।

९) स्वच्छ वातावरणका लागि आवश्यक कार्य गर्न परस्परमा छलफल, परामर्श, अन्तरक्रिया जस्ता कार्यक्रमहरु हामीहरुबीच निरन्तर सञ्चालित हुनेछन् र काठमाडौं उपत्यकाको वातावरणमा अपेक्षाकृत स्वच्छता कायम हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com