निजगढ–हेटौंडा–भरतपुर खण्ड रेल्वे परियोजनामा आशयपत्र माग


प्रकाशित मिति : कार्तिक १२, २०७५ सोमबार

रेल विभागले मेची–महाकाली रेल्वे परियोजना अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट, ईओआई) माग गरेको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले मेची–महाकाली रेल निर्माण कार्यलाई तीब्रता दिन उक्त रेल परियोजना अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन निर्माणका लागि आशयपत्र माग गरिएको जानकारी दिनुभयो । मेची–महाकाली रेल्वे परियोजना अन्तर्गतको उक्त खण्डको डीपीआर यसअघि नै कोरियाली परामर्शदाता कम्पनीले तयार गरेको थियो । डीपीआर अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज भएर रेलमार्ग निर्माण गर्नुपर्ने कार्य पर्यावरणीय दृष्टिकोणले उपयुक्त नदेखिएकाले उक्त रेलमार्ग निजगढ–हेटौँडा–भरतपुर भएर लैजानका लागि नयाँ डीपीआर तयार गर्न आशयपत्र माग गरिएको प्रवक्ता चित्रकारले बताउनुभयो ।

१३६ किलोमिटर लम्बाइको डीपीआर तयार गर्न अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि मात्र आशयपत्र माग गरिएको उहाँले स्पष्ट पार्नुभयो । नेपालमा रेलमार्ग निर्माणको क्षेत्रमा अनुभवी कम्पनी नभएका कारण अन्तर्राष्ट्रिय कम्पनीका लागि मात्र आशयपत्र माग गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

मुलुकको राष्ट्रिय गौरवको आयोजनामा समेत सूचीकृत चार भागमा विभाजित यस आयोजना अन्तर्गत मेचीदेखि महाकालीसम्मको दूरी ९४५ किलोमिटर छ । यसैगरी काठमाडौंदेखि पोखराको १८७ किलोमिटर, गैंडाकोट–आबुखैरेनी ७२ किलोमिटर छ भने भारतबाट नेपालका सीमावर्ती शहरहरुमा प्रवेश गर्ने सम्पूर्ण लिङ्कमार्गको दूरी ११३ किलोमिटर छ । यस आयोजनाका सबै रुट सिंगल ट्रयाकको हुने विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com