२०१८ मा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको विवरण सार्वजनिक, कुन महिना कतिले पाए ?


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

आर्थिक बर्ष २०१८ मा १६ हजार १ सय ६८ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर र बिजेनश भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ । गत आर्थिक बर्षको तुलनामा भने यो बर्ष बी श्रेणीको भिजिटर र बिजेनश भिसा पाउने नेपालीहरुको संख्या केही घटेको छ । आर्थिक बर्ष २०१७ मा १८ हजार ५ सय ७ जना नेपालीहरुले अमेरिकाको बी भिसा प्राप्त गरेका थिए ।

आर्थिक बर्ष २०१६ मा १७ हजार ९ सय २६ जना नेपालीहरुले अमेरिकाको बी भिसा पाएका थिए । आर्थिक बर्ष २०१५ मा १४ हजार ९ सय ४४ नेपालीहरुले अमेरिकाको बी भिसा पाएका थिए । बी भिसा अन्तरगत, बी वान, बी वान बी टु र बी टु भिसा पर्छ । जसमध्ये धेरैजसो बी वान बी टु भिसा जारी गरिदै आएको छ । आर्थिक बर्ष २०१८ भन्नाले सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को सेप्टेम्बरसम्मको अवधि बुझ्नुपर्छ ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा १२६७, नोभेम्बरमा ११६९, डिसेम्बरमा ८४४, जनवरीमा १३३२, फरबरीमा ९५४, मार्चमा १५४९, अप्रिलमा १८२८, मेमा १४९३, जुनमा १९१९, जुलाईमा १३५२, अगस्तमा १३८८ र सेप्टेम्बरमा १०७३ नेपालीहरुले अमेरिकाको बी भिसा प्राप्त गरेका थिए । उनीहरु विश्वभरबाट अमेरिकाको बी भिसा पाउने नेपाली पासपोर्टबाहकहरु रहेको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।

आर्थिक बर्ष २०१८ को १२ महिनाको अवधि हेर्दा सबैभन्दा धेरै नेपालीहरुले बी भिसा जुन महिनामा प्राप्त गरेका छन् भने सबैभन्दा कम डिसेम्बरमा प्राप्त गरेका छन् । यो अवधि कतिजना नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए भन्नेबारे अमेरिकी सरकारले जानकारी उपलब्ध गराएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com