श्रमशोषणबिरुद्धको नाटकमा सहभागी हुँदा एनआरएनका मध्यपूर्व संयोजक कतारमा पक्राउ
प्रकाशित मिति : कार्तिक ७, २०७५ बुधबार
श्रमशोषणबिरुद्धको नाटक प्रदर्शन गरिएको एउटा कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका एनआरएनएका मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा (आरके) कतारी प्रहरीबाट पक्राउ परेको जनाइएको छ । नाटकमा कतारमा हुने श्रमशोषणलाई देखाइएको थियो ।नाटकमा कामदारमाथि कुटपिट गरिएको दृश्य समेत रहेकाले नाटक कतारको सरकारबिरुद्ध भए नभएको सोधपुछका लागि शर्मालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
सादा पोशाकमा आएका प्रहरीले शर्मालाई निवासबाट पक्राउ गरेको पारिवारिक श्रोतले जानकारी दिएको छ । शर्माको नेपाल, अमेरिका र कतारमा व्यवसाय रहेको छ । एनआरएन आन्दोलनमा लामो समयदेखि सकृय शर्मा एनआरएनको गत अधिवेशनबाट मध्यपूर्व संयोजकमा निर्वाचित भएका थिए ।
शर्माको पक्राउबारे कतिपय संचारमाध्यममा भ्रमित समाचार आइरहेकोमा त्यस्ता समाचार सम्प्रेषण नगर्न र भ्रम नफैलाउन पारिवारिक श्रोतले अनुरोध गरेको छ ।
शर्माको पक्राउबारे कतारबाट एनआरएनएका एकजना बरिष्ठ नेताले खसोखाससँग भने – ‘कतारमा कुनै विषयमा आशंका भएमा सोधपुछका लागि नियन्त्रणमा लिने प्रकृया सामान्य नै हो । यसबारे अनेकौं भ्रम फैलाउन जरुरी छैन ।साथै पक्राउबारेका कपोलकल्पित र भ्रमित समाचारहरु सम्प्रेषण गर्ने र फैलाउने काम समेत तुरुन्त बन्द गर्न आग्रह गर्दछौं । ‘






