के नारीवादले रोमान्सलाई मारिरहेको छ?

प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

वीरेन स्वामी 

परम्परागत रुपमा भन्ने हो भने, रोमान्टिक सम्बन्ध मूलतः पुरुषले प्रणय निवेदन गर्ने र महिलालाई ‘आफ्नो बनाउने’मा केन्द्रित रहेको मानिन्छ। यो शक्तिशाली परम्परा हो। ‘डेट’ जानका लागि आग्रह गर्ने कुरा होस् वा बिल तिर्ने कुरा होस्, अथवा परिवारका लागि आर्जन गर्ने हकमा नै किन नहोस् अझै पनि पुरुष पहलकर्ता र महिला प्रापक वा ‘केयर टेकर’ बन्ने कुरामा आधारित छ। तथापि समाज परिवर्तन हुँदै गइरहेको छ। महिलाहरु बढ्दो रुपमा ठूला जागिरे र यौन स्वतन्त्रताजस्ता ‘पुरुष डोमेन’ मा प्रवेश गरिरहेका छन्।

यी सारा कुराले रोमान्सलाई कसरी असर पार्छ त? नारीवादका बारेमा रहेका ‘पपुलर’ अवधारणाहरु नारीवादीहरुलाई पुरुष निन्दक वा लेस्बियन भनेर बद्नाम गर्न प्रयोग भएको देखिन्छ। यस सन्दर्भमा मानिसहरु किन लैंगिक समानता र रोमान्स एकअर्कामा असंगत वा रोमान्टिक सम्बन्धका लागि नारीवाद एक बाधा रहेको मान्छन् भन्ने कुरा बुझ्न सकिन्छ। तर वास्तविक कुरा यही नै हो त? अध्ययनहरुका निष्कर्ष खोजौं।

परम्परागत रुपले महिलाले प्रतिष्ठा र हैसियत आर्जन गर्ने तरिका भनेको उच्च हैसियत भएका रोमान्टिक पार्टनरलाई आकर्षित गर्नु हो। तर जब लैंगिक समानताको आन्दोलनले परिस्थितिलाई बदलिदिएको छ। यो मान्नै पर्ने हुन्छ, यसले रोमान्सबारे साँस्कृतिक मान्यतामा महिलाको सामाजिक भूमिकालाई कटौती पनि गरेको छ। र, अझै पनि त्यो क्रम जारी छ।

उदाहरणका लागि जब किशोरीहरु आफ्नो पहिलो यौन अनुभवलाई व्याख्या गर्छन्, बारम्बार तिनीहरु ‘आफूमाथि घटित घटना’का रुपमा यसको चर्चा गर्छन्। जबकि किशोरहरुको वर्णनमा यसप्रकारको लगावको कमी देखिँदैन। यही शक्तिको असन्तुलन प्रौढहरुमा पनि देखिन्छ किनभने यौन सम्बन्धमा पुरुषहरुले महिलाले भन्दा बढी पहल र नेतृत्व गर्ने सम्भावना रहन्छ। यद्यपि अनुसन्धानकर्ताहरुले रोमान्सको अवधारणा क्रमशः समानअधिकारवादी हुँदै गएको पत्ता लगाएका छन्। समानताको आन्दोलनले प्रेरित भएर महिलाहरु बढ्दो रुपमा रोमान्सको पहलमा सक्रिय भूमिका ग्रहण गरिरहेका छन्। साथै महिलाहरु प्रबल यौन व्यवहार प्रदर्शन गरिरहेका छन्।

नियन्त्रण र लगावलाई महिलाले त्याग्नुपर्ने हुँदा रोमान्सको परम्परागत सांस्कृतिक दृष्टिकोणले महिलाले आफूलाई अभिव्यक्त गर्ने क्षमतालाई नास गरिदिन्छ। हामीलाई थाहा छ यसले यौन र सम्बन्धमा असन्तुष्टि निम्त्याउँछ। यसको विपरीत यौन एजेन्सीको पर्याप्तता र सम्बन्धमा समानता चाहिँ राम्रो सञ्चार, सम्बन्धमा उच्च सन्तुष्टि र गुणस्तरीय यौन जीवनसँग जोडिएको छ। एक अध्ययनमा नारीवादी पुरुषहरुसँगको सम्बन्धमा रहेका महिलाहरुले गैह्रनारीवादी पुरुषसँग सम्बन्धमा रहेका महिलाहरुले भन्दा बढी स्वस्थ सम्बन्धको अनुभव गरेको बताएका छन्। यो सम्बन्धको गुणस्तर तथा स्थायित्व दुवैको हकमा लागु हुने गर्दछ।

सामान्यतयाः रोमान्सको परम्परागत अवधारणालाई पूर्ण रुपमा स्वीकार गर्दा महिलाको समानता खोज्ने इच्छा र क्षमतामा पनि ह्रास आउने देखिएको छ। एउटा अध्ययनमा जो महिलाले आफ्नो रोमान्टिक पार्टनरलाई वीरतासँग जोडेर हेर्छन् र आफ्नो ‘रक्षक’ ठान्छन्, तिनीहरु उच्च शिक्षा र उच्च स्तरको पेशा खोज्न अनिच्छुक रहेको देखिएको छ।

के पुरुषहरु पीडित छन्?

धेरै पुरुषहरु लैंगिक समानताले सम्बन्धमा समस्या नित्याउँछ भन्ने विश्वास गर्छन्। तर यो कुरा साँचो हो त? पुरुषले घरभित्रको जिम्मेवारी सम्हाल्नेजस्ता परम्परागत भूमिकाभन्दा फरक भूमिका अपनाउँदा के हुन्छ, त्यसलाई नियाल्नु यो विषयलाई बुझ्ने एउटा तरिका हो। जोडीहरुमा गरिएको एक अध्ययनले सुझाएअनुसार आम्दानी र घरेलु कामकाजमा समानता भएका जोडीमा सम्बन्ध बढी स्थायी र यौन सम्पर्कमा पनि नियमितता देखिएको छ।

त्यसैगरी पतिले घरेलु कामकाज, किनमेल र बालबच्चाको हेरचाहमा बढी भूमिका निर्वाह गर्दा सम्बन्धविच्छेदको दर पनि कम हुने गरेको पाइएको छ। त्यस्तै बाबु बनेकाहरुले सुत्केरी विदा लिएर घरको रेखदेख गर्दा वैवाहिक सम्बन्धमा पनि स्थायित्व आउने गर्दछ।

अर्को एक अध्ययनमा नारीवादी महिलाहरुसँगको सम्बन्धमा रहेका पुरुषले सम्बन्धमा स्थायित्व र यौन सन्तुष्टि बढी प्राप्त गरेको बताएका छन्। सो अध्ययनका लेखकले लैंगिक समानताले विपरीतलिंगी सम्बन्धलाई नकारात्मक प्रभाव पार्ने होइन बरु महिला र पुरुष दुवैका हकमा फाइदाजनक हुने निष्कर्ष निकालेका छन्। अर्को एक अनुसन्धानअनुसार रोमान्सको परम्परागत मान्यतालाई त्यागेका पुरुषहरु सम्बन्धमा बढी सन्तोषजनक र बढी वचनबद्ध हुने गर्छन्।

परम्परागत सम्बन्धको अर्को अँध्यारो पाटो पनि छ। सामाजिक दृष्टिकोणले पनि सम्बन्धमा पुरुषको प्रमुख भूमिका हुनु आफैँमा समस्याग्रस्त छ। यसले पुरुषमा हिंसाको सँस्कृति विकास गर्न मद्दत गर्छ। विभिन्न अनुसन्धानका नतिजाअनुसार, परम्परागत लैंगिक भूमिकालाई बढी समर्थन गर्ने पुरुषहरु यौनसम्बन्धमा बलप्रयोग, बलात्कार र पार्टनरमाथि हिंसामा सहभागी हुने सम्भावना बढी हुन्छ।

लैंगिक भूमिकाको प्रदर्शन

समानताले हामीलाई किन खुसी दिन्छ? रोमान्सको परम्परागत मान्यताले पुरुषमा बोझ थोपर्छ, जसरी यो महिलाका लागि पनि बोझ हो। परम्पराअनुसार प्रदर्शन गर्नुपर्ने बाध्यताले व्यक्तित्वको अभिव्यक्तिलाई खुम्च्याउँछ। अन्ततः यसले साँचो अर्थमा दुई व्यक्तिबीचको निकटता विकास हुन दिँदैन। पहलकर्ताको भूमिका अपनाउन बाध्य पार्ने साँस्कृतिक मान्यताका कारण पुरुषहरु बढ्दो रुपमा सम्बन्धप्रति निराशा व्यक्त गरिरहेका छन्।

यो कुरा बेडरुममा पनि लागु हुन्छ। यसले यौनमा स्वभाविकता र सन्तुष्टिमा कमी ल्याउँछ। वास्तवमा जब यौनको कुरा आउँछ, तब महिलाले विनम्र बन्नुपर्ने आवश्यकता महसुस नगर्दा (यदि व्यक्तिगत प्राथमिकता होइन भने) महिला र पुरुष दुवैले बढी यौन सन्तुष्टि प्राप्त गर्दछन्।

लैंगिक समानताले स्थायी सम्बन्धतिर डो¥याउने अर्को कारण के हो भने यसले सकारात्मक सञ्चारको ढाँचालाई बढावा दिन्छ। विवाद समाधानका लागि जिम्मेवारी बाँडफाँड गर्न लैंगिक समानताले सहजीकरण गर्दछ (जुन मुख्यगरी महिलाको बोझ बन्ने गरेको थियो) र यसले बढी अर्थपूर्ण सञ्चार शैली अपनाउन सहयोग गर्छ, जसले सम्बन्धलाई फाइदा पुर्याउँछ।

उसोभए यसको अर्थ पुरुषले रोमान्टिक सम्बन्धको पहल गर्न बन्द गर्ने र महिलाले बिल तिर्न थाल्ने हो त? छोटो अवधिका लागि (उदाहरणका लागि पहिलो डेटमा) सांस्कृतिक मान्यता पालन गर्दा अन्तक्र्रिया सहज हुनसक्छ किनभने दुवै पार्टनर सम्बन्धको एउटा पानामा हुन्छन्। तर लामो अवधिका लागि हाम्रो रोमान्टिक सम्बन्धमा लैंगिक असमानतालाई कायम राख्दा यसले फाइदाभन्दा बढी नोक्सानी गर्ने देखिन्छ। हाम्रो सम्बन्धमा लैंगिक समानता हुनुको अर्थ रोमान्सलाई गुमाउनु भन्ने होइन। केही नभए पनि लैंगिक समानताले बढी सन्तोषजनक र बढी स्वस्थ सम्बन्धको जग चाहिँ बसाउँछ।

(स्वामी एञ्जेला रस्किन विश्वविद्यालयमा सामाजिक मनोविज्ञानका प्रोफेसर हुन्। उनको यो लेख १ डिसेम्बर २०१६ मा द कन्भर्सेसन मा प्रकाशित छ) स्रोत :नेपालखवर

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com