बडा दसैं: टीकाको तेस्रो दिन आज पनि टीका जमरा लगाईने, पूर्णिमाका दिन सम्म जारी
प्रकाशित मिति : कार्तिक ४, २०७५ आईतबार
दसैं टीकाको तेस्रो दिनजादशी पर्व, मान्यजनको हातबाट आज पनि टीका, जमरा लगाउने गरिन्छ । विजयादशमीको दिन देखि लगाउन थालिएको टीका, जमरा पूर्णिमाका दिन सम्म चल्ने परम्परा रहेको छ ।
दशमीका दिन टीका लगाउन नभ्याएकाहरुले पूर्णिमासम्म नै टिका लगाउने गर्दछन् । बडादसैंमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक राखिएको जमरा र ९ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, प्रसाद विजयादशमीका दिनदेखि मान्यजनको हातबाट थापेर आशीर्वाद लिने परम्परा छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव, मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।






