डेढ सय मेट्रिक टन चिनी भन्सारमै


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

नेपाली व्यवसायीले दशैँ र तिहारलाई लक्षित गरी भारतबाट आयात गर्न खोजेको करिब डेढ सय मेट्रिक टन चिनी नेपालगञ्ज भन्सारमै रोकिएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि चिनी तीन साता अघिदेखि नेपालगञ्ज भन्सारमा रोकिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

मन्त्रिपरिषद्को बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएको भन्सार कार्यालयले जनाएको छ ।

सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगञ्ज आइपुगेको र सो चिनी नेपाल जान नदिएपछि भन्सारमै राखिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताउनुभयो ।

उहाँले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताउनुभयो । सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन, उहाँले भन्नुभयो ।

व्यापारीले दशैँ र तिहारका लागि दशैँअघि नै चिनी खरिद गरेका थिए । भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपियाँ अर्थात् ६७ लाख नेपाली रुपियाँको चिनी भन्सार हुन नसकेको जनाउनुभएको छ । उहाँले नेपालगञ्ज भन्सारमा मात्र नभई वीरगञ्ज, भैरहवा, धनगढी, विराटनगरलगायतका भन्सारमा पनि चिनी थन्किएको बताउनुभयो । भन्सार महाशाखाले नेपालगञ्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन नआएको प्रमुख श्रेष्ठको भनाइ छ ।

भारतबाट चिनी आयातमा सरकारले रोक लगाए पनि नेपालगञ्जमा चिनीको मूल्य नबढेको स्थानीय व्यापारीले दाबी गरेका छन् । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपियाँमा चिनी बिक्री गर्दैआएको नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताउनुभयो । गुणस्तरका आधारमा व्यापारीले चिनीको मूल्य तोक्ने गरेको जनाउँदै उहाँले चिनी हेरेर कसैले धेरै र कसैले कम मूल्यमा बिक्री गरिरहेको बताउनुभयो । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष समेत रहनुभएका मन्सुरीले भारतबाट चिनीको अवैध आयात पनि धेरै भइरहेको जानकारी आएको जनाउँदै सो नियन्त्रण गर्न प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com