११०० कर्मचारीले तलब पाएनन्


प्रकाशित मिति : आश्विन २८, २०७५ आईतबार

संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् ।

संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैँभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैँ खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।

न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैँभत्ताको रकम भुक्तानी भइसकेको छ । तर, अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए ।

विभिन्न ११ कार्यालयका कर्मचारीले तलब नपाएका हुन् । सिँचाइ विकास डिभिजन, सहरी विकास तथा भवन निर्माण, प्रदेश संग्रहालय, भू तथा जलाधार व्यवस्थापन, महिला तथा बालबालिका, शिक्षा विकास निर्देशनालय, डिभिजन वन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिज्ञान केन्द्र र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले तलब नपाएका हुन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com