सुनको मूल्य ६ वर्ष यताकै उच्च !


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ। यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो ।

‘शुक्रबारको मूल्य ६ वर्षयताकै महँगो हो,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘२०६९ भदौमा प्रतितोला ६३ हजार ५ सयसम्म पुगेको थियो।’ उनका अनुसार प्रतितोला ६० हजार भनेको २०६९ भदौ महिनापछिको सबैभन्दा महँगो हो । दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४७ हजार ७ सयसम्म झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस २७ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको थियो । बिहीबार प्रतिऔंस १ हजार १ सय ९४ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतिऔंस १ हजार २ सय २१ डलर पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकस्मात वृद्धि भएको र त्यसको असर स्थानीय बजारमा परेको शाक्यले बताए ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य गिरावट हुदा सुनको मूल्य बढेको हो । अमेरिकी डलर उच्चतम विन्दुमा पुगिरहेका बेलामा अकस्मात ओरालो लागेर कमजोर बनेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर हुँदै गएको छ । सेयर बजार कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय स्तरका केही कम्पनीको सेयरको मूल्य एक्कासि घटेपछि त्यसले सुनको भाउलाई असर गरेको शाक्यले बताए ।

स्थानीय बजारमा सुनको मूल्य बढ्नुमा छिमेकी मुलुक भारतको बजारले पनि सहयोग गरेको छ । हिन्दुहरुको चाड दसैं, तिहार र छठ आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको बज्राचार्यले बताए । त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको छ । भातीय रुपैयाँ डलरसँग कमजोर हुँदा पनि सुनको मूल्य वृद्धि भएको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै केही दिन बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी डलर र सेयर बजार कमजोर बन्दै जाने संकेतसँगै सुनको मूल्यमा वृद्धि हुन सक्ने विश्लेषकले अनुमान गरेका छन्।

मूल्य बढाउने प्रमुख कारक माग पनि हो । तर स्थानीय बजारमा सुनको मूल्यवृद्धिमा मागको भूमिका छैन । विगतमा दसैं, तिहार, छठलगायतका चाडपर्वले स्थानीय बजारमा सुनको खपत बढाउने भए पनि यसपालि माग खासै बढ्न नसकेको बज्राचार्यले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com