परिचय पत्र बोक्दा सिकार परेन भन्ने राउटेहरुले सामाजिक सुरक्षा भत्ता बुझे


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोउन्मुख राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका –९, साटाखानी गंगटेमा भर्खर मात्र बसाई सरेर बस्दै आइरहेका उनीहरुलाई दैलेखको गुराँस गाउँपालिकाले असोज महिनाको सामाजिक सुरक्षा भत्ता शुक्रबार साटाखानी पुगेर वितरण गरेको छ ।

गाउँपालिकाले ४२ घरका एक सय ४८ जनालाई दुई हजारका दरले भत्ता वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो । दसैँ खर्च हुने भएकाले यो महिनाको सामाजिक सुरक्षा भत्ता छिट्टै वितरण गरिएको अध्यक्ष ओलीले बताउनुभयो । राउटेलाई सरकारले परिचय पत्र दिएपछि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ ।

गाउँपालिकाकाले दिएको पैसाले दसैँखर्चको व्यवस्थापन गर्ने राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । ‘दसैँ आएको छ । दसैँका लागि चामल किन्छौँ’, उहाँले भन्नुभयो, ‘यो पैसा दसैँ खर्च हुन्छ । दसैँ मनाउन अब सजिलो हुने भयो । ’

गाउँपालिकाले राउटेहरुलाई असारमा परिचय पत्र दिएको थियो । तर राउटेहरुले परिचय पत्र त्यागिसकेका छन् । उनीहरुले परिचय पत्र बिना नै सामाजिक सुरक्षा भत्ता बुझेका छन् । यसभन्दा अघि राउटे समुदाय गुराँस गाउँपालिकाका बस्दै आएका थिए ।उनीहरु भर्खरै मात्र सुर्खेतको लेकवेशीमा आएका हुन् । आफूहरुसँग परिचय पत्र हुँदा सिकार नपरेको भन्दै परिचय पत्र फालेको मुखिया शाहीले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com