आजदेखि बजारमा नयाँ नोट कुन– कुन बैंकमा साट्न पाइन्छ नाम सहित


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

आउदैं गरेको दसैं र तिहारका लागि राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘ आइतबारदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com