अक्टोबरभित्रै विराटनगर आउँदै रेलको इन्जिन


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा परीक्षणका लागि रेलको इन्जिन कुदाइने भएको छ । भारत बथनाहदेखि विराटनगर महाननगरपालिका १८ बुधनगरसम्म निर्माण गरिएको ट्रयाकमा परीक्षणका रुपमा रेलको इन्जिन कुदाइने भएको हो ।

रेलमार्ग निर्माणको ठेक्का लिएको भारतीय इरकोण इन्टरनेशनल लिमिटेडका जुनियर जनरल म्यानेजर प्रदीप कुमारले अक्टोबर महिनाभित्र नै परीक्षणकालागि ट्रायल गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार भारत र नेपाल तर्फ ७.६ किलोमिटर रेल्वे ट्रयाक बिच्छयाउने काम पुरा भएको छ ।

भारत तर्फ ५ र नेपालतर्फ करिब ३ किलोमिटर क्षेत्रमा रेल्वेको ट्रयाक बिच्छयाइएको छ । नेपालतर्फ अझै १० किलोमिटर क्षेत्रको काम बाँकी छ । रेल्वे ट्रयाक विराटनगर रंगेली सडकखण्ड अन्तरगत कटहरी खनिएको छ ।

ट्रयाक करिब १६ किलोमिटर खनिएपनि ७.६ किलोमिटर क्षेत्रमा मात्र रेलको लिक बिच्छ्याइएको छ ।

निर्माणधिन रेल परियोजनाको रेल विभाग नेपालका महानिर्देशक बलराम मिश्रसहितको टोलीले अनुगमन पनि गरेको छ । शुक्रवार अनुगमनका लागि आएको टोलीले नेपाल तर्फ निर्माणधीन रेल्वे लाइनका बारेमा जानकारी लिएको थियो ।

बथनाहादेखि कटहरीसम्म १८ दशमलव १ किलोमिटर रेलमार्ग निर्माणका लागि ५ सय ६५ जग्गा धनीबाट १ सय १९ विघा जग्गा अधिकरण गरिएको थियो । तर ती मध्ये केही जग्गा धनीले मुआब्जा लिएका छैनन् । अधिग्रहण गरिएको जग्गाको प्रति कठ्ठा न्यूनतम ९० हजारदेखि २५ लाखसम्म मूल्यांकन गरेर ५३ करोड मुआब्जा बितरण गरिएको थियो ।

भारत सरकारले ३ अर्ब ७३ करोड भारतीय रुपैयाँको लागतमा बथनाहादेखि कटहरीसम्म रेलमार्ग निर्माण गरिरहेको छ । हालसम्म २ अर्ब ३५ करोड रुपैया बरावरको काम सम्पन्न भएको प्रदिप कुमारले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com