रक्सौल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन हुने


प्रकाशित मिति : आश्विन १५, २०७५ सोमबार

प्रस्तावित रक्सौल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन हुने भएको छ । उक्त रेलमार्ग रक्सौल–वीरगञ्ज–जीतपुरबाट प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आउने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने रेल विभागले जनाएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले राष्ट्रिय निकुञ्ज भएर रेलमार्ग निर्माण गर्न नमिल्ने अहिलेसम्मको वाध्यात्मक परिस्थिति तथा रेलमार्गलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्गसँग जोड्नका लागि रक्सौल–काठमाडौँ रेलमार्गको रुट परिवर्तन हुने भएको जानकारी दिनुभयो ।
प्रस्तावित रेलमार्गको रुट परिवर्तनबारे रेलमार्गको डीपीआर तयार पारिरहेको भारतीय रेल्वे कम्पनीलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो । रुट परिवर्तनले प्रस्तावित रेलमार्गको दूरी कति बढ्छ भन्नेबारे अध्ययन भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।

मुलुकको चौतर्फी विकासका लागि विकासको ‘मल्टि मोडेल’ ढाँचा आवश्यक रहेको बताउँदै महानिर्देशक मिश्रले उक्त ‘मल्टि मोडेल’ ढाँचाका लागि रक्सौल–काठमाडौँ रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–निजगढ द्रुतमार्गबीचको ‘कनेक्टिभिटी’ आवश्यक रहेको बताउनुभयो ।

रक्सौलबाट वीरगञ्ज, निजगढ र वाग्मती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने प्रस्तावित उक्त रेलमार्ग करिब ११३ किलोमिटर लामो हुने अनुमान गरिएको थियो । हाल रुट परिवर्तन भए पछि सो लम्बाइ बढ्न सक्ने बताइएको छ । रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान गरिएको छ । रेलमार्ग काठमाडौँको चोभारमा जोडिनेछ ।

बहुप्रतीक्षित उक्त रेलमार्र्ग निर्माणका लागि नेपाल र भारतबीच भदौ १५ गते द्विपक्षीय समझदारी (एमओयु) भएको थियो । प्रधानमन्त्री केपी ओली शर्मा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सझदारी अनुसार कोंकण रेल्वे कर्पोरेसन लिमिटेडलाई नेपाल सरकारको परामर्शमा नयाँ रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण गर्ने कार्यको जिम्मेवारी प्रदान गरिएको छ ।

उक्त रेलमार्गको सम्भाव्यता अध्ययनका लागि रेल विभागले २०७३ सालमा नै ग्लोबल टेन्डर आह्वान गरेको थियो तर पछि भारतसँग आफ्नै आर्थिक र प्राविधिक सहयोगमा नै सम्भाव्यता अध्ययन गर्ने सहमत भएपछि रेल विभागले सो टेन्डर रद्द गरेको थियो ।
यसअघि, २०७४ चैत २४ गते दुबै मुलुकले भारत सरकारको सहयोगमा नेपालमा रेल सञ्जाल विस्तार गर्दै रक्सौल र काठमाडौँलाई विद्युतीय रेलमार्ग मार्फत जोड्ने समझदारीका साथ संयुक्त वक्तव्य जारी गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com