लक्ष्मीको आँगन !

अस्मिता खड्का

निःस्वर्थ पन निडरदेखिने नानीबाबुहरुको न्यायो स्वागतले लक्ष्मीको आगन टेक्ने मनकारी मानवको मन सजिलै लोभिन्छ तोते बोलीमा गीताका श्लोकहरु निकै कर्णप्रिय लाग्दछन् मन्त्र मुग्द बनाउँछन् ! जति सुन्यो उति सुनौँसुनौँ

राम्रो मलजल पाएर होला ! असारमा रोपेका धानका गाँजहरु खेतको आलीमा बसेर ! जति हे¥यो उति हेरौँ—हेरौँ लाग्ने भएका छन् । धानका बोटहरु तछाड मछाड गर्दै हुर्किरहेको अनुभूति हुन्छ । खेतमा पानी डबक्क भरिएको छ । त्यही खेतको बिचमा लक्ष्मीको ‘पवित्र घर’ छ ! खेतको आली सुहाउँदो गेट पनि छ । सानो गेटभित्रको संसार निकै सुन्दर र पवित्र छ । लक्ष्मीका अहिले १८ जना सन्तान छन् । उनको घर पुग्दा, कोही काखमा खेल्दै थिए । कोही आगनमा उछलकुद् गरेर रमाईरहेका थिए, त ! कोही स्कुलबाट घर फर्कदै थिए । काखमा लडिबुढी गर्ने कलिला नानीहरुको आजको संसार जति रमाइलो छ, हिजो त्यत्तिकै दर्दनाक र भयाभ थियो । हरेक नानीबाबुहरुको आफ्नै कथा र भोगाई छ । यी चिचिला नानीको कथा सुन्दा जो कोही आमाबाको आँशु अनायसै बग्न थाल्छ ! पीडाले मुटु दुख्छ । मनमा कुरा खेल्न थाल्छन् । हरे ! मानवता के हो ? सेवा र धर्म के हो ? ढुंगा पुज्नु वा यी अबोधहरुको भविश्यका लागि लक्ष्मीले जस्तै काम गर्नु ? यस्तै यस्तै……. । लक्ष्मीका नानीहरु, हरेक कुरामा अब्बल छन् ।

तोते बोली ! निःस्वर्थ पन र निडरदेखिने नानीबाबुहरुको न्यायो स्वागतले लक्ष्मीको आगन टेक्ने मनकारी मानवको मन सजिलै लोभिन्छ । नानीहरु गीताको श्लोकसँगै पाहुनालाई स्वागत र आफ्नो परिचय दिन्छन् । तोते बोलीमा गीताका श्लोकहरु निकै कर्णप्रिय लाग्दछन् । मन्त्र मुग्द बनाउँछन् ! जति सुन्यो उति सुनौँ–सुनौँ लाग्छ । छोराछोरीले पाहुनालाई गर्ने व्यावहारबाट आमा लक्ष्मी आगनको गोलघरबाट मुस्कुराई रहेकी थिईन । माया,ममता र स्नेहमा हुर्कंदै गरेका मुनाहरुको अनुहारमा लक्ष्मीले दिएको शिक्षा र संस्कार सजिलो गरी पढ्न सकिन्थ्यो । जसको आफ्नो भन्ने कोही हुँदैन,संसार उसैको हुँदो रहेछ । संसारले पुज्ने गरेकी देबी लक्ष्मी जस्तै लक्ष्मीको न्यानो काख पाएका महिला तथा बालबालिका सेवा केन्द्रका नानीबाबुहरुलाई मनकारी नेपालीहरुले बेलाबेला खाना र नाना लिएर आउँछन् । लक्ष्मीले बुबाआमा गुमाएका र असाय बालबालिकाको सेवा गर्न थालेको नौँ वर्ष हुनथाल्यो ।

बच्चाहरुलाई कुनै बन्देज छैन । उनीहरुसँगै खेल्ने, नाच्ने, गाउने र रमाउने गर्दछिन लक्ष्मी । तर, त्यसको लागि समय तालिका बनेको छ । लक्ष्मीले बच्चाहरुलाई राम्रो बनाउन शिक्षा, स्वास्थ्य र राम्रो संस्कारको जरुरी भएको सुनाईन । नानीबाबुहरु बिहान ५ बजे उठ्छ्न । सक्नेले आफु सुतेको बेड मिलाउँछन् । हातमुख धोएर‘प्रे’ गर्न बस्दछन् । भजन र योग सकेपछि खाजा खान्छन् । हरेक बिहान एक घण्टा आवासमै प्रोफेसर नारायण प्रसाद सुबेदीले संस्कृत पढाउनुहुन्छ । त्यसपछि खाना खाएर स्कुल जान्छन् । यो बालबालिकाहरुको बिहानी समय तालिका हो ।

स्कुलको अप्ठ्यारो

धेरै सम्पत्ति पनि छैन । तर,खाना बस्न आरामले पुग्छ, लक्ष्मीलाई । आफू शिक्षिका, श्रीमान प्रोफेसर, जेठो छोरा जापान, छोरी अस्टे«लिया र कान्छो छोरा पढ्दै छन् । उनीहरुको आम्दानी राम्रो छ । बजारमा पाँच तल्ले पनि घर ! लक्ष्मी भन्छन् ‘टिनको छानो मुनि, मिठो निद्रा लाग्छ । आगनमा नानीबाबुहरु रमाई–रमाई खेल्दा स्वर्ग जस्तो लाग्छ ।’ ‘हेर्दा जस्तो, सजिलो छैन । तर, खुशी छु । खुशीले अगाडि बढ्ने हौसला मिल्छ । हरेक पल नानीहरुको सुनौलो भविश्य सोचिरहेको हुन्छु ।’ छोराछोरी थपिदै जाँदा सुरुका दिनमा स्कुल पढाउन निकै अप्ठाराहरु झेल्नु प¥यो ।

‘आफूले केही गरेर देखाउनु पर्दोरहेछ । सहयोग गर्ने मनकारीहरु आफै अगाडि आउनुहुन्छ । मेरा बच्चाहरु सबै कुरामा अब्बल छन् । बच्चाको बारेमा थाहा पाउने स्कुलहरु, म कहाँ आएर भन्नुहुन्छ “तपाईको बच्चा हामी पढाउँछौ ।”उनले सुनाईन । कुनै कार्यक्रम हुन थाल्यो भने उनका बच्चाहरुलाई निमन्त्रणा आउँछ । निकै खुशीहुँदै भनिन्‘अहिले त स्कुलहरुको खोसाखोसनै हुन्छ । पहिला भर्ना गर्नै, गाह्रो थियो । गर्भ लाग्छ मेरा छोराछोरी पढाईमा पनि राम्रो छन् ।’ हुन पनि हो ! एउटी आमाको लागि यो भन्दा खुशी संसारमा केही हुँदैन । ‘संस्कृत पढ्ने बच्चाहरु उच्चारण र पढाईमा राम्रो हुन्छन् । मेरा बच्चाहरु जुनसुकै स्कुलमा गएपनि अब्बलनै हुन्छन् । यसमा मलाई गर्भ लाग्छ ।’ साँच्चै लक्ष्मीले आफ्ना नानीहरुको शिक्षा, स्वाथ्य र संस्कार सिकाउन कुनै कसर बाँकी राखेकी छैनन् ।

उनलाई अभाव नभएको पनि होइन,तर त्यो अभाव टार्न व्यक्तिगत धेरै चाहाना कुर्वान गरिसकेकी छन् । उनका बच्चाहरु कसरी बसेका छन् ? के गर्दैछन् ? कसरी गर्दछन् ? यो हेर्न विभिन्न स्कुलले आफ्ना विद्यार्थिहरु भ्रमणको लागि ल्याउने गर्दछन् । लक्ष्मीले सुनाई ‘हाम्रो आवासमा ब्रिटिस गोर्खा स्कुलका बच्चाहरु भम्रणको लागि ल्याउनु भएको थियो । मेरा बच्चाहरुले उनीहरुलाई हेरेको हेरै बनाई दिए ।’

डरलाग्दो ‘हिजो’ !

रौतहट गौरका राज र देबी बि.क लक्ष्मी सुबेदीका पहिलो सन्तान हुन । उनीहरुलाई जन्मदिने आमाले घरमा थुनेर छोडेको बेला गाउँलेले उद्धार गरेका रहेछन् ।

बैदेशिक रोजगारीमा गएका बुबा घर फर्किएनन् । आमाले घरमा थुनि छाडेर, दोस्रो विवाह गरिन । सुवेदी सुनाईन ‘निस्कनु अघि राज र देबीकी आमाले अलिकति चिउरा थालमा राखिदिएर घरभित्र बच्चाहरुलाई ताल्चा लगाएर छोडेको थिइन । भोकै बच्चाहरु, दिसा पिसावले लतपतिएको अवस्थामा प्रताप राना सरले म कहाँ ल्याईदिनु भयो ।’ राज बि.क निकै प्रतिभाशाली बालक छन् । वर्ष आठका राजलाई गीत,कविता लेख्न र गाउन पनि आउँछ । उनी गिताको पाठ गर्न राम्रोसँग सक्ने भएका छन् । राम्रो पाठ गर्ने सक्ने भएका उनलाई लक्ष्मी आमाले राज बि.क शर्मा ब्राह्मण नाम दिएकी छन् । ‘मान्छे जन्मदै ब्राह्मण हुँदैन, कर्मले हुने हो । जस्ले राम्रो काम गर्दछ, ऊ नै ब्राह्मण हो ।’ उनले भनिन् ।

दानव बुबाबाट बँचेका ओखलढुंङ्गका अंशु र स्मृति खड्का अहिले कक्षा तीनमा अध्यायन गर्दैछन् ।
रक्सीले मात्तिएका अंशु र स्मृतिका बुबाले आमाको पिटिपिटि हत्या गरेँ ।
जन्मदिने आमाको काख खोसिएका नानीहरु, लक्ष्मीको काखमा आउँदा सानी ५ र ठूलो ७ वर्षका थिए ।
नानीहरु भन्छन् ‘आन्टी हामी त पढेर, इन्जिनिर बन्ने ।’ यी मासुमका ठूला सपना पुरा गर्ने अभिभार लक्ष्मीले बोकेकी छन् । ‘भगवनाले साथ अवश्य दिनुहुन्छ, लक्ष्मी भावुक हुँदै भनिन् ।’
अर्घाखाँची पकलेका पुरण दर्लामी अहिले १४ वर्षका भए । उनी सेवा घरमा आउँदा पाँच वर्षका थिए । उनका आमा र बाबलाई क्यान्सर खायो ।
आमाबाबुको मृत्युपछि एक्लै भएका पुरण यो आश्रामको योग गुरु पनि हुन । उनी ठूलो भएपछि योग प्रशिक्षक बन्ने उदेश्य राखेका छन् । महिला तथा बालबालिका सेवा केन्द्रमा २ देखि १७ वर्षसम्मका नानीबाबुहरु छन् ।
लक्ष्मीको घरमा दलित र जनजाति समुदायका नानीबाबुहरु धेरै छन् ।

घरको डन

युटन चारु कहिले, लक्ष्मीको पछि–पछि भाग्छ । कहिले लक्ष्मी यूटनको पछि । आमा छोराको भागम–भाग चलिरहन्छ । ऊ घरको कान्छो छोरा हो । सबै दाई दिदीहरुको मायाले पुलपुलिएको छ । लक्ष्मीले भनिन् ‘यो हाम्रो घरको डन हो ।’
चारु अहिले दुई वर्षको भयो ।

चारुलाई जन्म दिएपछि उनको आमा छोडेर हिडिन् । बाबु नभएकाले बच्चा लिन मानिन् । बैदेशिक रोजगारीमा गएको बेला चारुको आमा गर्ववती भएकी रहेछन् । घटना र बाध्यता के थियो उनैलाई थाहा होला, यसमा धेरै केही लेख्नु मिल्दैन । चारुकी जन्मदिने आमा कहाँछिन थाहा छैन ।
लक्ष्मीले घटनाको बारेमा बताउँदै भनिन् ‘सरकार र संस्थाहरुको सहयोगमा उनी नेपाल आउन सफल भईन । उनी एक महिना हाम्रो आश्राममा बसिन । बच्चा यही जन्मियो । छोडेर गइन् । म आफैले हुर्काएकी हुँ ।’ यो भन्दा धेरै सुनाउन चाहिनन् ।

समाजिक बहिस्कर !

राज र देबी बि.क ले आमाको न्यायो काख पाए ।
यता दलित समुदायको बच्चा घरमा ल्याएको हल्ला आफन्त र समाजमा छिनभरमै फैलियो । आफन्तहरु लक्ष्मीको घर प्रवेस गर्न छोडे । लक्ष्मीले छोएको पानी चल्न छोड्यो । उनले पकाएको खाना समेत खाएनन् ।
करिब तीन बर्ष आफन्त र समाजबाट बहिस्करणमा परेकी लक्ष्मीले बच्चाहरुको लालन पालनमा कुनै कमि गरिनन् । समाज र आफ्न्तको व्यावहारले उनलाई रत्तिभर झुकाएन । बरु जातिय अहंकार र विभेद विरुद्ध लड्न अझ बजबुद बनायो ।

उनले भनिन् ‘पटक—पटक सम्झाए, मानव भनेको एउटै हो । मान्छे जन्मदै ब्राह्मण हुदैँन । मान्छे कर्मले ब्राह्मण हुने हो । मानिस जस्तो कर्म गर्छ, ऊ त्यही हुन्छ । निरन्तर विरोध गरिरहेँ ।’
घटना सुनाईरहँदा ठूलो छोरीले नजिकैबाट ध्यान पूर्वक सुनिरहेकी थिइन् । उनी अहिले कक्षा नौ मा अध्यायन गर्दै रहेछिन् । लक्ष्मीले ठूलो छोरी देखाउँदै भनिन् ‘उनी पनि दलित समुदायकी हुन । मैले खाने उनले पकाएकै हो ।’

समय बित्दै गयो ।

लक्ष्मीलाई बहिस्कार गरेकाहरु अहिले त बच्चाहरुलाई खाजा बोकेर आउँछन् । लक्ष्मीले छोएको पानी चल्न थालेको छ ।
जातिय अहंकारलाई चुनौतिदिँदै समाजसेवामा लागेकी लक्ष्मीले देबी बिकलाई आफ्नो दुध खुवाउँथिईन । ‘आउन त आउँदैनथ्यो,नानी आमा सम्झेर रुदा दुध मुखमा राखिदिन्थे, चुसेर निदाउँथि ।’

भागभद पुरण

क्ष्मी र प्रोफेसर नारायण सुबेदीको देन नै हो, बच्चाहरु मंसिरमा भागभद पुरण लगाउने तयारीमा छन् । राज र देबीले पनि गिता पाठ गर्ने छन् ।
भागभद दलितले लगाएको भन्नुहन्छ त ? भन्ने हाम्रो प्रश्नमा लक्ष्मीले ठूलो स्वरमा जवाफ दिदै भनिन् ‘के फरक पर्छ ? भागभव त म दलितकै नामबाट लगाउने हो ? पाठ गर्ने सबै बच्चाको नाम थर भन्छु । आउने आउँछन्, नआउने आउँदैन । एउटा लडाइ, जितेर आएको छु । यो पनि जित्ने छु ।’
जातिय विभेद अपराध हो भन्ने तर, पानी छोएको नाममा ज्यान लिने ढोगी समाजलाई लक्ष्मीको यो चोटीलो जबाफ हो । यो जातिय अहंकार विरुद्धको लडाई पनि हो ।
‘समाजमा रहेको जातिय बिभेदलाई जरैबाट उखेल्नका निम्ती नानीबाबुहरुमा शैक्षिक चेतना हुन जरुरी छ । त्यसको लागि मैले सकेको गरेको छु । अर्को, समाजमा सकारात्मक सन्देश जाओस् भन्ने उदेश्यले भागभद पुरण लगाउन लागेका हौँ,’ उनले सुनाईन ।

संस्कृत पढ्नबाट दलित बच्चाहरुलाई अहिले पनि बञ्चित गरिएकै छ । राज्यले संस्कृत शिक्षा विना भेदभाव पढाउने ग्यारेन्टी गरेको छ । तर, कार्यन्वयन हुँदैन । समाज अहिले पनि दलितले बेद छुनु हुँदैन, गीता पाठ गर्नु हुँदैन भन्छ । यसको ताजा उदाहरण हो,जुम्लास्थित चन्दननाथ संस्कृत पाठशालामा घटेको घटना । एक दलित समुदायको बच्चाले उक्त पाठशालामा भर्ना हुन पाएनन् । पाठशालामा भर्ना खुलेको रेडियो र पत्रपत्रिकाबाट थाहा पाएर पुगेका उनलाई भर्ना सकिएको भन्दै फिता पठाईएको थियो ।
‘समाज परिवर्तन राज्यले मात्र गरेर हुँदैन, शिक्षित मान्छेले आफैबाट सुरु गर्नु पर्दछ । मैले आज गरे, भोलि अर्कोेले गर्छ र गर्नु पर्दछ । समाज यसैगरी परिवर्तन हुन्छ र हुनुपर्छ, मानव भएर मानवमाथि छुवाछुतको व्यावहार गर्नु हुँदैन,’ लक्ष्मीले भनिन् ।

जातिय विभेद विरुद्ध बर्सौदेखि बोल्ने नेता र अभियान्ता भन्द व्यावहारमा समाजसेवी लक्ष्मी धेरै अगाडि देखिन्छन् । मञ्चमा उभिएर जातिय छुवाछुत विरुद्धको भाषण गर्नेहरुले लक्ष्मीको काम बाट केही सिक्ने कि ? भाषणले समाज परिवर्तन हुँदैन, त्यसको लागि व्यावहारमै गरेर देखाउनुपर्छ ।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री