बेगनास तालमा एकै परिवारका ४ सहित ९ जना सवार डुंगा पल्टियो
प्रकाशित मिति : भाद्र २३, २०७५ शनिबार
कास्कीको बेगनास तालमा ९ जना सवार डुंगा दुर्घटना भएको छ । ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवराज भट्टका अनुसार एक जनाको मृत्यु भएको छ भने ४ जनाको जिवितै उद्दार गरिएको छ । यस्तै अरु ४ जना हराईरहेको पनि उनले रातोपाटीलाई जानकारी दिए ।
भट्टका अनुसार पोखरा महानगरपालिका २८ की कृष्ण कुमारी बजगाइको तालमा डुबेर मृत्यु भएको छ ।
यस्तै जिवितै उद्दार भएका हरुमा कमल कँडेल, निशा पौडेल, सपना खनाल र सपना पौडेल रहेका छन् । यस्तै सपनाका श्रीमान रबि खनाल, छोरा शंकर तथा शिव र निशा पौडेलका छोरा प्राचिन वेपत्ता रहेको भट्टले जानकारी दिए ।
शनिबार दिउँसो १ बजेतिर घुम्न पुगेका उनीहरु डुंगा दुर्घटनामा परेको बताइएको छ ।
प्रहरीका अनुसार स्थानीय गणेश कँडेलको घरमा दर खान आएका उनीहरु बेगनास तालमा घुम्नका लागि पुगेका थिए ।
डुंगामा सवार रहेकै क्रममा एक बालक तालमा खसेपछि बचाउन प्रयास गर्दा डुंगा कोल्टिएर डुब्न पुगेको प्रहरीले जनाएको छ ।
उद्दार गरिएकाहरुको लेखनाथ सामूदायिक अस्तालमा उपचारका लागि पठाइएको पनि प्रवक्ता भट्टले जानकारी दिए ।









