निर्मला हत्या प्रकरण : पक्राउ परेकी रोशनीले दिइन् यस्तो बयान


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अभियुक्त रोशनी बमसँग लिइएको बयानको प्रारम्भीक सूचना बाहिर आएको छ ।

पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानका लागि रोशनी बम प्रहरी थुनामा छिन् । निर्मला पन्तकी साथी समेत रहेकी रोशनी बमले बलात्कार र हत्या आरोप अस्वीकार गरेकी छन् ।

रोशनीलाई थुनामा राखेर थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्न लैजानुअघि जिल्ला सरकारी कार्यालयमा बयान लिइएको थियो । बयानका क्रममा रोशनीले आरोप अस्वीकार गरेकी हुन् ।

बयान लिने क्रममा सरकारी वकिल कार्यालयमा जिल्ला न्यायाधिवक्ताको उपस्थिति रहेको थियो । बयानमा लैजाँदा रोशनी बमले आफू र दिदीमाथि लगाइएको सबै आरोप अस्वीकार गरेको स्रोतले जनाएको छ ।

तपाईंहरूमाथि त बलात्कारपछि हत्याको आरोप लागेको छ नि रु भनेर प्रश्न सोधिएको थियो । जवाफमा रोशनीले आफूहरूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै घटनामा दिदीबहिनीको कुनै संलग्नता नरहेको दाबी गरेकी थिइन् ।

‘निर्मला बिहान ११ बजेतिर हाम्रो घरमा आएको र दिउँसो सवा २ बजे घर गएँ भन्दै निस्केको हो’, रोशनीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

निर्मला र आफू घरको तल्लो तलाको कोठामा बसेर गृहकार्य गरेको र जाँदा अहिले घर निस्केँ, बेलुका भाँसी घर जान्छु भन्दै गएको रोशनीले बयानमा उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै कुरा गलत रहेको रोशनीको भनाइ छ ।

‘घरमा पुग्दा निर्मलाको हातमा कालो लागेको थियो, के भयो भनेर सोध्दा साइकलको चेन फुत्केपछि लगाउँदा यस्तो भएको भनी’ रोशनीले बयानमा उल्लेख गरेकी छन् ।

अनुसन्धान गर्न प्रहरी हिरासतमा लिइएकी रोशनी बमलाई बालमैत्री हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई आदेश दिएको छ ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न घरदेखि हिँडेकी १३ वर्षीया निर्मलाको अर्कोदिन निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

त्यसैगरी, बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि हिरासतमा रहेका रोशनी बम र अनिता बमलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले ७ दिन म्याद थपिदिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com