म्यानमारमा हुने मिस्टर मोडल अफ द वल्र्डमा नेपालबाट दिक्पाल कार्की


प्रकाशित मिति : भाद्र २, २०७५ शनिबार

विश्वका झण्डै २ दर्जन बढी देशका मोडलहरुले भागलिने मिस्टर मोडल अफ द वल्र्ड २०१८ मा नेपालबाट दिक्पाल कार्कीले भाग लिने भएका छन् । म्यानमारमा हुने उक्त प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, जापान, फिलिपिन्स लगायतका कैयन देशबाट मोडलहरु सहभागी हुनेछन् ।

थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका तथा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् । दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इन संगसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए । मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वल्र्ड नेपाल २०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको हो, जसका सीईओ कमल निकोन क्षेत्री हुन् । दिक्पालले
मिस्टर मोडल अफ द वल्र्डमा दिपा मल्ल ठकुरी, मिनल अग्रवाल, विनिता भट्ट, मञ्जु बञ्जारा ढकाल, मनिष राई र हिसी टेलर्सका डिजाइनहरु लगाउने भएका छन् । मिस्टर मोडल अफ द वल्र्ड २०१८ यही अगस्त २९ देखि सेप्टेम्बर ५ सम्म म्यानमारको यांगुनमा हुने भएको छ ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टर समेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com