विद्युतीय रेलमार्गका लागी बुटवलमा आकाशे पुल बनाइने
प्रकाशित मिति : श्रावण २३, २०७५ बुधबार
– अमृता अनमोल, बुटवल
मेची महाकाली विद्युतीय रेलमार्ग विस्तार गर्दा बजार क्षेत्र धेरै परेपछि बुटवलमा ‘लाइओभर’ अर्थात आकाशे पुल बनाइने भएको छ । स्थानीयले घना वस्ती उठाउन नदिने अडान लिएपछि चिनियाँ कम्पनी सिवानले आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार गरेको हो ।
रेलमार्गका लागि सर्वे गरिएको बुटवल–लमही खण्डअन्तर्गत बुटवलको कालिका नगर क्षेत्रमा करिब १ सय ठूला घर छन् । स्थानीयले यति ठूलो बस्ती उठाएर रेल लैजान नदिने भन्दै बिरोध गरेपछि रेल विभागले आकाशेपुलको अवधारणा ल्याएको हो । रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार सिवानले डिपिआरको डाफ्ट मन्त्रालयमा बुझाइसकेको छ ।
त्यसमा कालिकानगर पूर्वबाट तिनाउ पारिसम्म करिब साढे २ किलोमिटर क्षेत्रफलमा आकाशे पुल बनाउने उल्लेख छ । यसका लागि कालिकानगरको पूर्वतर्फ जंगलमा रेल स्टेसन बनाउने र स्टेसनबाट कालिकानगर हुँदै तिनाउ पारिसम्म ८ देखि ९ मिटर अग्लो पिल्लर राखेर आकाशेपुल बनाइने उपाध्यायले जानकारी दिनुभयो ।





