अगस्त ९ पछि अमेरिकामा २० घण्टाभन्दा बढी काम गर्ने विद्यार्थी देशनिकालामा पर्नसक्ने : केशव सेडाईं, कानुन व्यवसायी


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

अबदेखि विद्यार्थी भिसाको उल्लंघन गरेको भेटिएको मिति नभई उल्लंघन गरेको मितिलाई नै गैरकानुनी उपस्थीति गणना गरिने भनिएको छ । यसबारे थप प्रष्ट पारिदिनुहुन्छ कि ?

गैरकानुनी उपस्थीति र भिसाको उल्लंघनलाई अहिलेसम्म फरकफरक परिभाषा दिएर राखिएको थियो । अगस्त ९ सम्मका लागि दुईवटा इस्यु अलग अलग थिए । विद्यार्थी, तालिमकर्ता र भोकेसनल भिसावाहक अर्थात् एफ, जे र एम भिसा वाहक र उनीहरुका परिवारले भिसाको उल्लंघन गर्दा जहिलेसम्म उनीहरुलाई अध्यागमनले पक्राउ गर्दैन, त्यतीबेलासम्म उनीहरुले गैरकानुनी रुपमा काम गरेको पाइएतापनि उनीहरुको उपस्थीतिलाई गैरकानुनी उपस्थीति मानिदैनथ्यो । उनीहरुले भिसाको स्टाटस उल्लंघन गरेको मात्र अभियोग लाग्ने हुन्थ्यो । जुन दिन स्टाटसको उल्लंघन गरेको पत्ता लाग्थ्यो, त्यो दिन देखिमात्र गैरकानुनी उपस्थीतिको दिनको गणना हुन थाल्थ्यो । तर अबदेखि भने जुनदिनदेखि स्टाटसको उल्लंघन गरेको हो, त्यो दिनदेखि नै गैरकानुनी उपस्थीतिको दिनको गणना गरिनेछ ।

यसलाई थप उदाहरणसहित प्रष्ट पार्न सकिएला ?

उदाहरणका लागि यदि कुनैै विद्यार्थी नेपालबाट अमेरिकामा अध्ययनका लागि आयो । उसलाई अन क्याम्पस हप्तामा २० घण्टासम्म काम गर्नका लागि अनुमति प्राप्त हुन्छ । यदि गल्तीबस उसले २५ घण्टा काम गरेको पाइयो । जागिर दिने क्याफेटेरिया वा अन्य रोजगार दाताले पनि ध्यान नदिंदा वा विद्यार्थीले ध्यान नदिंदा हप्तामा २५ घण्टासम्म काम हुन गयो । यो अवस्थामा पुरानो नियम अनुशार २५ घण्टासम्म काम गरको कसैले थाहा पाएन, सोधीखोजी पनि भएन, पछिमात्र आएर अध्यागमनले पत्तो लगायो भने खास समस्या हुने थिएन ।

तर नयाँ नियम अनुशार भने उसले हप्तामा २५ घण्टासम्म काम गरेको थाहा हुन आएमा जुनदिनदेखि २५ घण्टासम्म काम गर्न थालेको हो, त्यसैदिनदेखि व्यक्तिको गैरकानुनी उपस्थीति घोषणा गरिनेछ । यदि कुनै व्यक्तिले मार्च महिनादेखि हप्ताको २५ घण्टासम्म काम गर्दै आएको थियो तर त्यो कुरा सेप्टेम्बरमा पत्ता लाग्यो भने नयाँ नियम अनुशार व्यक्ति मार्च महिनादेखि नै गैरकानुनी मानिन्छ । र उसको गैरकानुनी उपस्थीति मार्च महिनादेखि नै गणना गर्न थालिनेछ । पूरानो नियम अनुशार सेप्टेम्बरमा जुन दिन पत्ता लागेको हो, त्यो दिनदेखिमात्र गणना गरिन्थ्यो । पत्ता लागेको दिनमा व्यक्तिले काम छाडेमा पुरानो नियम अनुशार कुनै समस्या हुँदैनथ्यो ।

कामबाहेक कोर्सको पालना कसरी गर्नुपर्छ ?

कलेजमा विद्यार्थी भिसामा अध्ययनरत विद्यार्थीहरुले कोर्सको नियम पनि उल्लंघन गर्नु हुँदैन । ब्याचलर डिग्री होल्डरहरुले १२ क्रेडिटको पढाई पढ्नुपर्छ । मास्टर डिग्री होल्डरले ९ क्रेडिटको न्यूनतम कोर्स लिनुपर्छ । त्यो कोर्सलाई डीएसओ वा विदेशी विद्यार्थी सल्लाहकारसँग कुरा गरेर भएपनि घटाउनु भएन । जतिसुकै प्रयास गरेर भएपनि स्टेटस जोगाउन धेरै ध्यान दिनुपर्छ ।

काम गरेको वा भिसाको उल्लंघन गरेको तत्काल थाहा भएन तर बर्षौपछि थाहा भयो भने के हुन्छ ?

क्याम्पस बाहिर सीपीटी, ओपीटी, स्टीम ओपीटी लगायतका काम गर्ने प्रावधानहरु छ । त्यो काम गर्दा पनि धेरै ध्यान दिन जरुरी हुन्छ । स्टेटस उल्लंघन भएको विद्यार्थीले पनि थाहा नपाउने, कसैले पनि थाहा नपाउने तर पछि एचवान फाइल गर्दा वा कुनै बेलामा स्टेटस उल्लंघनको कुरा खुलेमा अमेरिकामा आउनकै लागि १० बर्षको वा सधैका लागि प्रतिबन्ध लाग्छ । स्टेटस उल्लंघन गरेको ६ महिनाबढी तर एकबर्षभन्दा कम भएमा ३ बर्षसम्म र एकबर्ष नाघेमा १० बर्षसम्म अमेरिकामा प्रतिबन्ध लाग्छ । त्यसैले भिसा र स्टेटसको उल्लंघन भए नभएकोबारे अब अझ धेरै सजग हुनुपर्ने भएको छ ।

कुनै कुनै अवस्थामा त सधैका लागि पनि प्रतिबन्ध लाग्न सक्छ । त्यसैले अन क्याम्पस गर्दा एफ, एम र जे भिसा वाहकले हप्तामा २० घण्टाभन्दा बढी काम गर्नु भएन । अफ क्याम्पस काम गर्दा वर्क परमिट लिएरमात्र काम गर्नुपर्छ । सीपीटीमा काम गर्दा जसकोमा सीपीटी दिइएको छ, त्यो रोजगारदाताकोमा मात्र काम गर्नुपर्छ । अन्यथा भिसाको उल्लंघन मानिनेछ । यो अवस्थामा त्यो उल्लंघनलाई गैरकानुनी उपस्थीतिमा गणना गरिएमा समस्या पैदा हुनेछ । त्यसैले भिसाको पूर्णरुपमा पालना गर्नेमा विद्यार्थीहरुले ध्यान दिन जरुरी छ । स्टीम ओपीटीमा काम गर्दा आई ९८३ को परिभाषाभित्र परे नपरेको ध्यान दिन जरुरी छ । यदि यो विषयमा कुनै कन्फ्युज भएमा अनुभव प्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न जरुरी छ ।

धेरै विद्यार्थीहरु समर वा अन्य विदामा नगदमा काम गर्ने प्रचलन पनि छ । त्यस्ता विद्यार्थीहरुले के कुरामा ध्यान दिनुपर्छ ?

पहिलो कुरा यसरी काम गर्नु नै गैरकानुनी हो । यसरी नगदमा काम गरेको पत्ता लागेमा समस्या पैदा हुनसक्छ । वर्क परमिट बिना यसरी काम गर्नु राम्रो होइन । यदि त्यसरी काम गरेको भेटिएमा नयाँ नियम अनुशार जुन दिनदेखि काम गर्न थालेको हो, त्यही दिनदेखि नै उक्त व्यक्तिको गैरकानुनी उपस्थीति हुन्छ अर्थात् उसको अमेरिका बसाई गैरकानुनी मानिन्छ । त्यसपछि उक्त व्यक्ति देशनिकालाको लागि उपयुक्त पात्र हुन्छ । भिसाको उल्लंघन गरेको अभियोगमा उक्त व्यक्ति देशनिकालाको प्रकृयामा जान्छ । पहिले त्यसरी काम गर्नेहरु भेटिएको खण्डमा अबदेखि नगर्ने शर्तमा छाड्ने अवस्था पनि हुनसक्थ्यो तर अबदेखि काम सुरु गरेको मितिदेखि गैरकानुनी उपस्थीति गणना गरिने भएकाले देशनिकालाको प्रकृयामा जान्छ । काम गरिरहेको स्थानमा इमिग्रेशनले छापा मार्दा उनीहरुले काम गरिरहेको पत्ता लागेमा उनीहरु समस्यामा पर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com