अगस्त ९ पछि नयाँ नियम : विद्यार्थी भिसामा अमेरिका आउनेलाई सानो गल्तीले देशनिकाला !


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

अमेरिकी सरकारले ल्याउँदै गरेको नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ । आगामी अगस्त ९ देखि विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिको नयाँ मापदण्ड लागु गर्न लागिएकाले अब अमेरिकामा एफ, एम र जे भिसामा आउनेहरुले भिसाको उल्लंघन गरेको पत्ता लागेमा उनीहरुमाथि ३ वा १० बर्षको प्रतिबन्ध सजिलै लाग्ने भएको छ ।

अमेरिकामा सार्वजनिक सुरक्षा समृद्ध गराउने सन्दर्भको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ । यो नयाँ नियम एफ, जे र एम भिसामा अमेरिका आउनेहरु तथा उनीहरुका डिपेन्डेन्टहरुका सन्दर्भमा लागु हुने जनाइएको छ ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिसेनाले भनेका छन् –‘एफ, जे र एम लगायतका भिसामा अमेरिकामा आउनेहरु निश्चित उदेश्यका लागि आएका हुन्छन् । उनीहरु त्यो उद्देश्य पूरा भइसकेपछि अमेरिकाबाट उनीहरुका देशमा फिर्ता जार्नुपर्छ । वा उनीहरु अरु आप्रवासी स्टेटसका लागि प्रकृयामा जानुपर्छ । नयाँ नियमको सन्देश स्पष्ट छ कि कुनै पनि व्यक्तिले जुन प्रयोजनको भिसामा अमेरिका आएको हो, उसले त्यो भिसाका मापदण्डहरु पूरा गर्नुपर्छ । उनीहरुले भिसाका मापदण्ड उल्लंघन गर्न, ओभरस्टे बस्न वा गैरकानुनी रुपमा अमेरिकामा बस्न पाउनेछैनन् ।’

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिले के थियो ? अब के हुन्छ ?

आगामी अगस्त ९ भन्दा अगाडि एफ, जे र एम भिसा पालना नगरेको व्यक्तिको गैरकानुनी उपस्थीति त्यो दिनपछिमात्र गणना हुन्छ जुनदिनदेखि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उसले ग्रिनकार्ड वा अन्य अध्यागमन सुविधाका लागि दिएको आवेदन अस्वीकार गर्छ वा जुनदिनदेखि व्यक्तिको आई ९४ को अवधि सकिन्छ वा जुनदिनदेखि अध्यागमन न्यायाधिस तथा बीआईएले देशनिकालाको आदेश दिन्छ । यी तीनमध्ये जुन पहिले हुन्छ, त्यो दिनदेखि व्यक्तिको गैरकानुनी उपस्थीतिको गणना हुन्छ । यसो हुँदा व्यक्तिको आई ९४ को अवधि सकिएको दिन वा ग्रिनकार्डको आवेदन अस्वीकृत भएको दिन वा देशनिकालाको आदेश पाएको दिनले १८० दिनभित्र अमेरिका छाडेमा उसलाई अमेरिकामा पुन प्रवेशका लागि प्रतिबन्ध लाग्दैनथ्यो ।

तर अब अगस्त ९ भन्दा पछाडि भने स्थीति फरक हुनेछ । यदि कुनै विद्यार्थीले पढ्न छाडेको खण्डमा, कोर्सको नियम उल्लंघन गरेको खण्डमा र भिसाको उल्लंघन हुने गरी गतिविधि वा काम गरेको खण्डमा जुनदिनदेखि उसले उल्लंघन गरेको हो, त्यो दिन लगत्तै उसको गैरकानुनी उपस्थीति गणना हुनथाल्छ । अर्थात् कुनै व्यक्तिले पढ्न छाडेको, कोर्सको नियम उल्लंघन गरेको र भिसाको उल्लंघन हुने गरी गतिविधि वा काम गरेको १ बर्षपछि पत्ता लाग्यो भने पनि ऊ ३ बर्ष वा १० बर्षसम्मको प्रतिबन्धको भागिदार भइसकेको हुन्छ । एफ, जे वा एम भिसामा आएको व्यक्तिले आफ्नो पढाई वा तालिम पूरा गरे लगत्तै अमेरिकामा बसेको खण्डमा पनि जुनदिनदेखि पढाई सकिएको हो, त्यो दिनदेखि नै उसको गैरकानुनी उपस्थीति गणना हुन थाल्छ । त्यस्तै देशनिकालाको आदेश पाएको दिनदेखि वा आई ९४ को अवधि सकिएको दिनदेखि गैरकानुनी उपस्थीतिको गणना हुने प्रावधान पनि अगस्त ९ देखि जारी नै रहनेछ । तर उल्लेखित प्रावधानमा जुन पहिले उल्लंघन भएको छ, त्यो दिनदेखिको गैरकानुनी उपस्थीति गणना हुनेछ ।

पहिलेको अवस्थामा कुनै व्यक्तिले गैरकानुनी रुपमा हप्तामा २० घण्टाभन्दा बढी काम गरेको छ वा कोर्सको उल्लंघन गरेको छ भने पनि उसको आई ९४ को अवधि नसकिदासम्म वा देशनिकालाको आदेश नपाउँदासम्म वा ग्रिनकार्ड तथा अन्य इमिग्रेशन सुविधाका लागि दिएको आवेदन अस्वीकृत नहुँदासम्म उसको गैरकानुनी उपस्थीति गणना हुने थिएन तर अब अगस्त ९ पछि भने आई ९४ को अवधि नसकिएपनि, देशनिकालाको आदेश नपाएको भएपनि वा इमिग्रेशन सुविधाको आवेदन अस्वीकृत नभएपनि यदि व्यक्तिले बढी समय काम गर्ने वा कोर्सको उल्लंघन गर्ने वा कोर्स पूरा नगर्ने गरेको पाइएमा जुनदिनदेखि त्यसो गर्न थालेको हो, त्यो दिनदेखि कै गैरकानुनी उपस्थीति गणना गरेर उसलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइनेछ ।

विद्यार्थीले काम गरे देशनिकाला र पुन प्रवेशमा प्रतिबन्ध

केही समय अगाडि न्युयोर्कको एउटा सेभेन इलाभेन स्टोरमा एकजना नेपाली विद्यार्थी पक्राउ परेका थिए । ७ महिनादेखि काम गरिरहेका ती विद्यार्थी अध्यागमनको छापामा पक्राउ परेपनि उनलाई अबदेखि काम नगर्ने शर्तमा छाडिएको थियो । उनले पक्राउ परेको दिनपछि काम छाडेकाले उनी कानुनी झन्झटमा परेनन् । उनको गैरकानुनी उपस्थीति गणना भएन । तर अगस्त ९ पछि ती विद्यार्थी पक्राउ परेको भए उनी स्वत देशनिकालाको प्रकृयामा जाने थिए भने उनलाई तीनबर्षको प्रतिबन्ध पनि लागिसकेको हुने थियो । अर्थात् अगस्त ९ पछि त्यसरी इमिग्रेशनको छापामा कुनै विद्यार्थी पक्राउ परेमा त्यस्तो व्यक्तिले जुनदिनदेखि काम गर्न थालेको हो, त्यो दिनदेखि नै उसलाई गैरकानुनी मानिनेछ ।

धेरै विद्यार्थीहरु अमेरिकामा आएर आफैले काम गरेर कलेजको शुल्क बुझाउने योजनामा हुन्छन् । तर अब अगस्त ९ पछि त्यस्तो गर्नु प्राय असम्भव हुनेछ । अन क्याम्पस हप्तामा २० घण्टाभन्दा बढी काम गरेको पाइएमा त्यस्ता विद्यार्थीहरु स्वतः देशनिकालाका लागि योग्य हुनेछन् । यदि ६ महिनाभन्दा धेरै त्यसरी काम गरेका रहेछन् भने उनीहरुमाथि अमेरिका पुन प्रवेशमा ३ बर्षसम्मको र १ बर्षभन्दा बढी काम गरेका रहेछन् भने १० बर्षसम्मको प्रतिबन्ध लाग्नेछ । खासगरी समर लगायतका विदामा नगदमा काम गर्ने विद्यार्थीहरुसमेत अब यो नियमको भागिदार हुनेछन् ।

के हो गैरकानुनी उपस्थीति ?

कतिपय सन्दर्भमा वैध स्टेटस नभएपनि व्यक्तिको गैरकानुनी उपस्थीति गणना गरिदैन । तर अब एफ, जे र एम भिसा वाहकको सन्दर्भमा त्यो लागु हुनेछैन । एफ, जे र एम भिसा वाहकबाहेक अन्य भिसा वाहकको हकमा सामान्यतया यदि कुनै व्यक्ति आई ९४ मा उल्लेख भएको अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको गैरकानुनी उपस्थीति गणना हुनथाल्छ । तर एफ, जे र एम भिसा वाहकको सन्दर्भमा भने अगस्त ९ पछि आई ९४ को अवधि नसकिएपनि अन्य तरिकाबाट भिसाको उल्लंघन भएको खण्डमा गैरकानुनी उपस्थीति गणना हुनेछ ।

त्यस्तै १८ बर्षभन्दा कम उमेरको व्यक्ति अमेरिका आएपछि भिसाको अवधि सकिएमा पनि उसको गैरकानुनी उपस्थीतिको गणना भने १८ बर्ष पूरा भएको मितिदेखिमात्र सुरु हुन्छ । यो बाहेक भिसा सकिएपनि गैरकानुनी उपस्थीति गणना नहुने अन्य कैयन प्रावधानहरु रहेका छन् । कस्तो अवस्थामा गैरकानुनी उपस्थीतिको गणना हुन्छ र कस्तो अवस्थामा हुँदैन भन्ने जान्नका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सुझाव लिन सकिन्छ ।

सानो गल्तीले पनि देशनिकाला वा प्रतिबन्ध

पहिलेको नियम अनुशार विद्यार्थी भिसामा हुनेले हप्तामा गल्तीवश २० घण्टाभन्दा बढी काम गरेको खण्डमा वा अन्य सामान्य नियम मिचेको सन्दर्भमा तुरुन्तै देशनिकाला वा अमेरिका पुन प्रवेशमा प्रतिबन्ध लाग्दैनथ्यो । तर अब अगस्त ९ पछि भने सानो गल्तीको कारण पनि विद्यार्थी भिसामा अमेरिका आउनेले देशनिकाला वा अमेरिका प्रवेशमा प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ ।

विद्यार्थी भिसाको सामान्य नियम पनि उल्लंघन गरेको खण्डमा अब संकटको सामना गर्नुपर्ने भएकाले विद्यार्थी भिसामा अमेरिका आउनु अगाडि वा आइसकेपछि त्यसका मापदण्डबारे विशेष ध्यान दिन जरुरी भएको छ । विद्यार्थी भिसावाहकले गरेको सानो गल्ती एचवान फाइल गर्ने वा अरु कुनै तरिकाबाट ग्रिनकार्ड फाइल गर्ने बेलामा पत्ता लागेपनि उनीहरु त्यो सुविधाबाट बञ्चित हुनुका साथै देशनिकालाको सामना गर्नुपर्ने अवस्था आउनसक्छ ।

खसोखास, बर्ष ७, पूर्णांक ३०१ बाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com