गाडीमा कालो सिसा दुरुपयोग – यस्तो छ सजाय


प्रकाशित मिति : असार २६, २०७५ मंगलबार

मोरङको विराटनगरबाट उत्तरतर्फ हुइँकिँदै गरेको को.२च ७७७ नम्बरको स्कर्पियोलाई बूढीगंगा गाउँपालिकाको नेमुवामा ट्राफिक प्रहरीले रोक्यो । चालकले ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई सवारी चालक अनुमतिपत्रलगायत कागजपत्र देखाए । तर, ट्राफिक नजर भने गाडीमा प्रयोग गरिएको सिसामा पुग्यो ।

स्टिकर टाँसेर गाडीको सिसा कालो बनाइएको पाइएपछि दाहालले झिकेर फालिदिए । उनले अबदेखि कालो सिसा प्रयोग नगर्न चालकलाई सम्झाए । त्यसपछि चालकलाई ५ सय जरिवाना गरेर छाडियो ।

निजी सवारी साधनमा कालो सिसा प्रयोगको यो एउटा उदाहरण मात्र हो । अति विशिष्ट र विशिष्ट व्यक्ति चढ्ने गाडीमा मात्र लगाउन पाइने कालो सिसा निजी, सरकारी तथा भाडाका सवारी साधनले पनि लगाएर दुरुपयोग गर्ने क्रम बढेको छ । साना चारपांग्रेमा नियम उल्लंघन गरी कालो सिसा लगाउने क्रम बढेको निष्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । नियमविपरीत कालो सिसा लगाउने सवारी साधनमाथि कडाइ गर्न थालिएको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले बताए ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले सवारी साधनमा लगाइएका कालो सिसा हटाउन र त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन निर्देशन दिएका छन् । ‘कतिपयले सिसामा कालो स्टिकर लगाउने गरेका छन्’, एसपी लम्सालले भने, ‘कतिपय उत्पादक कम्पनीले नै आफ्ना गाडीमा कालो सिसा राखेर पठाउने गरेको पनि पाइयो ।’ उनका अनुसार सेतो सिसा भएकामा पनि स्टिकर टाँसेर कालो बनाउने गरिएको छ ।

उनका अनुसार कालो सिसा लगाउने सवारी साधनलाई प्रहरीको सहयोगमा ट्राफिकले ५ सयदेखि १ हजार ५ सयसम्म जरिवाना गर्ने गरेको छ । ट्राफिकले पूर्वमा स्टिकर निकाल्ने र कालो सिसा हटाउने अभियानलाई तीव्र पारेको छ । धेरैजसोले नियम थाहा नभएको र घाम छल्नका लागि कालो सिसा लगाएको बताउने गरेको उनले सुनाए । ‘कालो सिसा लगाइएका सवारी साधनभित्र बाहिरबाट केही पनि देखिँदैन’, उनले भने । कालो सिसा लगाइएका गाडीभित्र आपराधिक गतिविधि र अनेकौं धन्दा पनि हुने गरेको घटनाक्रमले देखाइसकेको प्रहरीले जनाएको छ । डीआईजी रिजालले कालो सिसा लगाउँदा बाहिरबाट केही पनि नदेखिने भएकाले भित्र अवैध सामान ओसारपसार, अपहरण, बलात्कार हुन सक्ने तथा अपराधमा संलग्नलाई भाग्न सहज हुने भएकाले कालो सिसा प्रयोगमा कडाइ गर्ने काम भइरहेको बताए । सर्वोच्च अदालतले २०६४ सालमा गाडीमा कालो सिसा प्रयोगमा रोक लगाउन आदेश दिएको थियो । पूर्वमा कालो सिसा लगाएर कुदाइएका १८ वटा निजी गाडी ट्राफिकको कारबाहीमा परेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com