वर्षाको कारण तुलसीपुरतर्फ आउँदै गरेको बस खोलाले बगायो
प्रकाशित मिति : असार १८, २०७५ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/badhi.jpg?fit=800%2C412&ssl=1)
पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।
स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।
![](https://i0.wp.com/www.etajakhabar.com/wp-content/uploads/2018/07/badhi.jpg?resize=750%2C386)
दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उता दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।
दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन ।