पक्राउ गरिएका डा. केसीलाई प्रहरीले कभर्ड हलमा सार्‍यो


प्रकाशित मिति : असार १६, २०७५ शनिबार

अनसन सुरु गर्नुअघि निषेधित क्षेत्र तोडेको भन्दै पक्राउ गरिएका डा. गोविन्द केसीलाई प्रहरीले नजिकैको कभर्ड हलमा पुर्‍याएको हाम्रो जुम्लास्थित संवाददाता कृष्णमाया उपाध्यायले बताएकी छन्।

आफ्नो १५ औं पटकको अनशन सुरु गर्न लागेका डाक्टर गोविन्द केसीलाई जुम्लाको निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीले निषेधित क्षेत्रमा अनशन बसेकाले डा. केसीलाई कभर्ड हलमा छोडिएको तर आफ्नो नियन्त्रणमा नराखिएको प्रहरीले दाबी गरेको छ।

तर डा. केसीले चाहिँ प्रहरीले उसले चाहेको ठाउँमा भएकोले आफू प्रहरी नियन्त्रणमै भएको सञ्चारकर्मीहरूलाई बताएका छन्।

‘प्रहरी नियन्त्रणमा’

उनले भने, “मेरै ईच्छा अनुसार बस्न पाएको भए त म स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बसिहाल्थेँ नि। मलाई प्रहरीले यहाँ ल्याएर राखेको हो।”

आज दिउँसो २ बजे उनलाई नियन्त्रणमा लिइएको जुम्लाका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले बताए।

दाहालले भने, “उहाँले पहिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निषेधित क्षेत्र तोड्नु भयो हामीले हटायौं, त्यसपछि फेरि जिल्ला प्रशासन कार्यालयको निषेधित क्षेत्र तोड्नुभयो। त्यसैले उहाँलाई हामीले त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएका थियौं।”

त्यसरी पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका डाक्टर केसीलाई त्यहाँस्थित प्रतिक्षालयमा राखिएको थियो।

डा. केसीले प्रतिक्षालयबाटै आफ्नो १५ औं अनशन थालेका थिए।

अनन सुरु

प्रहरीले पक्राउ गरे पनि गोविन्द केसीले आफ्नो अनशन कायमै राख्ने पत्रकारहरूलाई बताएका छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले, “उहाँले निषेधित क्षेत्र तोडेका कारणमात्रै जिल्ला प्रहरी कार्यालय ल्याएका हौं। अन्यत्र अनशन गर्न हामीले रोकेका हौइनौं”।

जुम्लामा अनशन गर्नका लागि राजासिम चौर तोकिएको पनि पौडेलले बताए।

डा. गोविन्द केसी

 

जुम्लामा जिल्ला प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुईसय मिटर क्षेत्रलाई निषेधित क्षेत्र भनी गत बैशाख १८ गतेदेखि घोषणा गरिएको पौडेलले जानकारी दिए।

BBC Nepali

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com