परम्परा तोड्दै, श्रीमती र ३ छोरीहरुले सम्पन्न गरे डा उपेन्द्र देवकोटाको काजक्रिया (भिडियो हेर्नुहोस)


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

परम्परा तोड्दै, श्रीमती र ३ छोरीहरुले सम्पन्न गरे डा उपेन्द्र देवकोटाको काजक्रिया (भिडियो हेर्नुहोस)

दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा.डा. उपेन्द्र देवकोटाको गत मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्यष्टि गरिएको हो। देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ।

अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो। देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन्। काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ।

यस अघि उनलाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाई गरेका थिए। काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल प्रांगणमा राखिएको डा. देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्। सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन भएका डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति

नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए।

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको थियो। डा. देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो।

पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्किएका थिए। डा. देवकोटाकै इच्छा अनुसार गत हप्ता उनलाई गोर्खास्थित आफ्नो जन्मघरमा लगिएको थियो।

स्वास्थ्य मन्त्री समेत भईसकेका स्वर्गीय डा. देवकोटा प्रख्यात नशारोग विशेषज्ञ थिए।वि.सं. २०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग पराजित भएका हुन्।

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो। उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उनी त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो।

वैशाख १५ गते नेपाल ल्याइएका डा देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो। उनको अवस्था थप जटिल बन्दै गएपछि आयुर्वेदिक उपचार पनि गराइएको थियो।

गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए। वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका थिए। ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुप्रै राम्रा कामको सुरुवात गरेका थिए।

यसरी गरे श्रीमती र ३ छोरीहरुले डा देवकोटाको कर्मकाण्ड, भिडियो हेर्नुहोस :

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com