राजधानीकै मन्दिरमा महिलालाई प्रवेश निषेध


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

राजधानी भित्रै रहेको मन्दिरमा महिलालाई प्रवेशमा रोक छ भन्दा पत्याउनुहुन्छ ? सायद तपाईं पत्याउनुहुन्न । यस्तो सभ्य मानिसहरु बस्ने ठाउँमा महिलाको प्रवेशमा निषेध भन्दा अचम्म पनि लाग्ला ।

आश्चर्य नमान्नुस् । यो सत्य हो । तपाईं यो देख्न धेरै टाढा जानु पर्दैन । दैनिक हजारौं मानिस आवत जावत हुने ललितपुरको लगनखेलमा रहेको हनुमानथान मन्दिर पुग्नुभए यो तथ्य देखिन्छ ।

मूल गेटबाट छिरेपछि मन्दिरको मूल द्वारमा तपाईं पुग्नुहुन्छ । गेटको दाँया भित्तामा हनुमानको मूर्ति छ । त्यसैको ठिक माथि लेखिएको छ ‘महिला भक्तजनहरु भित्र नगई बाहिरबाट नै पुजा गरिदिनुहोला ।’

२०४१ सालमा स्थापना भएको मन्दिरमा स्थापना कालदेखि नै महिला प्रवेशमा निधेष गरिएको मन्दिरका पुजारी हनुमान बाजे (सुदिप पाठक) बताउँछन् ।

उनका अनुसार उक्त मन्दिर हनुमानको हो । हनुमान बम्हाचार्य थिए । महिला मन्दिरभित्र पसे हनुमानको बम्हाचार्य तोडिन्छ भन्ने मान्यताका कारण महिलालाई मन्दिर प्रवेशमा रोक लगाईएको हो ।

‘महिला मन्दिर मन्दिरभित्र पसे भने हनुमान ब्रम्हाचार्य तोडिन्छ भनेर महिला प्रवेशमा निधेष गरिएको छ । महिलाहरु भक्तजनहरु बाहिरबाटै पुजापाठ गर्छन् ।’ उनी भन्छन्, ‘तर पनि म व्यवस्थापन समितिले थाहा नपाउने गरि महिलालाई पनि भित्रै गएर पुजा गर्न दिन्छु । उनीहरुको मन दुःखी हुन्छ जस्तो लाग्छ ।’

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष माधव बस्नेत व्यवस्थापन समितिकै निर्णय अनुसार मन्दिरमा महिलालाई प्रवेश रोक लगाएको बताउँछन् । यद्यपी, उनले लिखित रुपमा निर्णय भने नगरेको बताए ।

‘हनुमानलाई महिलाले छुन नहुने मान्यता अनुसार हामीले महिला भक्तजनलाई बाहिरबाटै पूजा गरिदिनुहोला भन्ने बोर्ड राखेका हौं ।’ उनले भने, ‘तर भित्र जान चाहनेलाई हामी रोकतोक गर्दैनौं ।’

मन्दिरमा विगत ३/४ वर्षदेखि पुजाआराधान गर्न आउन थालेकी गोदावरी टौखेलकी सुसीला पौडेल भन्छिन्, यहाँ मात्र होइन् पशुपति लगायतका मन्दिरमा समेत महिलाहरुले हनुमानलाई नछोएको देखेको छु । म पनि शुरुमा पस्दैनथ्ये तर पछि पुजारीले पस्न दिनुभयो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com