पत्रकार राजबंशीको मृत्यु रहश्यमय


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

नेपालगन्ज स्थित सिंग्नेट कृष्णा होटलमा सोमबार मध्यराती पत्रकार अनुपासिंह राजवंशीको रहश्यमय मृत्यु भएको छ ।
होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशीलाई बेहोस भएको केहि समयमा मृत घोषणा गरिएको थियो । बेहोस भएकी राजबंशीलाई उपचारका लागि अस्पताल लैजानुपर्नेमा केहि समय होटलकै एक कोठामा राखिएको प्रत्यक्षदर्शीले बताएकाछन् । समयमा उपचार नपाएका कारण अनुपाको मृत्यु भएको अनुमान गरिएको छ । अचेत अवस्थामा रहेको करीव १ घण्टा पछि मात्र उपचारकालागि स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा लगिएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षणका लागि भेरी अञ्चल अस्पताल पठाई घटनाबारे अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायब प्रहरी उपरिक्षक राजेन्द्र अर्यालले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि नै मृत्युका बिषयमा बताउन सकिने प्रतिक्रीया दिएकाछन् । प्रहरीका अनुसार शव परिक्षण पश्चात पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइनेछ ।

होटल सिग्नेट संचालन भएदेखि नै पटक पटक बिबादीत हुने गरेको छ । केहि महिना पहिले सामुहिक बलात्कार भएको घटना सार्वजानीक भएको थियो भने होटल माथि सरकारी जग्गा अतिक्रमण गरेको समेत आरोप लाग्ने गरेको छ ।  स्थानीय प्रशासनले राती ९ : ३० बजे सम्म कार्यक्रम गर्ने स्विकृति दिएपनि सिग्नेटमा मध्य रातीसम्म डान्स पार्टी चलिरहेको थियो ।

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफ एममा समाचार वाचिकाको रूपमा काम गर्थिन । ४ महिनाअघि मात्र उनले स्थानीय सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिबाह गर्दा अर्कै होटलमा कार्यरत रहेपनि केहि महिना देखि राजबंशीका श्रीमान श्रेष्ठले समेत होटल सिग्नेटमा काम गर्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com