उपराष्ट्रपति र ब्राजिलका राजदूतबीच भेटवार्ता


प्रकाशित मिति : कार्तिक २२, २०७३ सोमबार

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले शिष्टाचार भेट गर्नु भएको छ । सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग राजदूत पेसोअले शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।

भेटमा उपराष्ट्रपति पासाङले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध स्थापना भएको चार दशक पुगेको स्मरण गर्नुहुँदै दुई देशबीचको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो । उहाँले नेपाल र ब्राजिलबीच औपचारिक सम्बन्ध सुरु हुनु अगावैदेखि कुटनीतिक सम्बन्ध रहेको बताउनुभयो ।
नेपाल र ब्राजिलको भौगोलिक हिसाबले उस्ता उस्तै भएको बताउनुहुँदै उपराष्ट्रपतिले दुई देशबीच सांस्कृतिक र व्यापारिक सम्बन्ध रहेको स्मरण गराउनुभयो । नेपाल र ब्राजिल दुवै देश जलस्रोतको धनी भएको बताउनुहुँदै उहाँले ब्राजिलले जलस्रोतको सदुपयोग गरिरहेको भए पनि नेपालले सदुपयोग गर्न नसकेको बताउनुहुँदै ब्राजिलबाट सिक्न चाहेको बताउनुभयो । उहाँले संविधान जारी पछि नेपाल समृद्धिको दिशामा अगाडि बढेको जानकारी गराउनुहुँदै समृद्धिको पहिलो आधार जलस्रोत भएको बताउनुभयो ।

भेटमा नेपालका लागि ब्राजिलका राजदूत मारिया मेस्क्वेटा पेसोअले ब्राजिल र नेपालको कुटनीतिक सम्बन्ध धेरै पुरानो भएको बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको बताउनुहुँदै ब्राजिल नेपालसँगको सम्बन्धलाई थप सुधार्न चाहिरहेको बताउनुभयो ।

उहाँले गतवर्ष नेपाल ब्राजिल चेम्बर अफ कमर्श स्थापना भएको स्मरण गराउनुहुँदै आफूले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनका लागि सबै प्रयास गर्ने बताउनुभयो ।  यसैगरी उपराष्ट्रपति पासाङसँग नेपालका लागि ईण्डोनेशियाका अवैतनिक दूत चन्द्र ढकालले पनि सोमबार भेटवार्ता गर्नु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com