नेपाल टेलिकम ध्वस्त बनाउने षड्यन्त्रको गम्भीर खुलासा ! को को हुन खलनायक ?


प्रकाशित मिति : असार २, २०७५ शनिबार

राष्ट्रको संचार । नेपालको दूरसंचार क्षेत्रमा सक्रिय सरकारी कम्पनी । देशको सबैभन्दा बढी नाफा गर्ने र कर तिर्ने सरकारी कम्पनी । नेपाल टेलिकममा ९१ दशमलव ५ प्रतिशत सरकारी स्वामित्व रहेको छ भने करिब ८ दशमलव ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको सेयर रहेको छ । सार्वजनिक संस्थानहरुमध्ये निरन्तर नाफामा गैरहेको संस्था हो नेपाल टेलिकम । सुन्दा पनि हरेक नेपालीको गर्वले छाती फुल्छ, सरकारी संस्था नाफामा देख्दा । राज्यलाई सबैभन्दा धेरै कर तिर्ने टेलिकमसँग खर्बौको चलअचल सम्पति रहेको छ ।

वार्षिक अर्बौ खुद मुनाफा गर्ने यो कम्पनी पछिल्ला वर्षमा भने निरन्तर अधोगतिको यात्रामा छ । सवै सार्वजनिक संस्थानहरुलाई डुवाएर ध्वस्त बनाएको एैंजेरु टेलिकममा पनि पलाइसकेको छ । टेलिकमको वर्तमान नेतृत्व गतिहिन र दिशाहिन बन्दा विगत दुईवर्षदेखि संस्थाको व्यालेन्स सिटले निरन्तर रातो बत्ति बालिरहेको छ । टेलिकमको नाफा त सेवा बेचेर बढ्नु पर्ने हो । तर, मुद्दती खातामा रहेको रकमको वृद्धिका आधारमा मात्रै खुद नाफा बढेको भनेर बजारमा प्रचार गरिंदैछ । टेलिकमको सेवा प्रभावशाली बन्न नसक्दा उपभोक्ताहरु प्रतिस्पर्धी निजी कम्पनीको सेवा लिन बाध्य बनाइएका छन् । टेलिकम किन यसरी कमजोर बन्यो ? कसले बिगार्न थाल्यो टेलिकमको शाख ? यी गम्भीर प्रश्नको उत्तर खोज्न आवश्यक छ ।

किन विस्तार भएन ४जी सेवा ?
नेपाल सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरुको अवस्था निरन्तर दयनीय बन्दै गएका उदाहरण प्रसस्तै छन् । जसको मुख्य कारण राजनीतिक अखडा र संस्थानमा रहेको नेतृत्वले नै संस्थानलाई दोहन गर्ने परम्पराको कारण संस्थानमा नाफा हुँदा हुँदै पनि घाटामा देखाउने गरिएको छ । संस्थानहरुलाई घाटाको बाहना बनाएर डुवाउने खेल विगतदेखि नै जारी छ । यसरी पछिल्लो समयमा आम उपभोक्ताले प्रयोग गर्दै आएको सञ्चार क्षेत्रको ठुलो संस्था नेपाल टेलिकममा समेत घाटा देखाउने रोग पसिसकेको छ ।

संयोग हो या के हो ? नेपाल टेलिकममा प्रबन्ध निर्देशकको रुपमा आएकी कमिनी राजभण्डारी संस्थानको मुखिया जिम्मेवारीमा प्रवेश गरेसँगै टेलिकमको आम्दानी बढ्नु भन्दा घट्ने क्रम छ । आम्दानी कम हुनुको कारण फोनबाट कल गर्नेको सख्या घट्दै जानु र इन्टरनेटमा टेलिकमले फड्को मार्न नसक्नु रहेको छ । टेलिकमको सेवा गुणस्तरहीन हुँदा ग्राहकहरु नीजि क्षेत्रका अन्य कम्पनीको सेवा लिन बाध्य भएका छन् । एडीएसएल, थ्री जी, फोर जी, फाइबर टु होम सर्भिस, वाईम्याक्स जस्ता महत्वाकांक्षी परियोजनामा टेलिकमको गतिहीनता देखिएको छ ।

निकै तामझामका साथ टेलिकमले सुरु गरेको फोर जी सेवा दुई स्थानमा मात्रै सीमित बनाइएको छ । टेलिकमले प्रयोग गर्ने ९०० मेगाहर्ज (जीएसएम) टूजीका लागि र १८०० मेगाहर्ज (डीसीएस) टूजीका लागि तथा २१०० मेगाहर्ज (यूएमटीएस) थ्रीजीका लागि प्रयोगमा आइरहेको छ । सबै पुरानै टावर तथा उपकरण प्रयोग गरेर सेवा दिइदै आएकोमा नया“ टावर तथा उपकरण जडान नै नगरी १८०० मेगाहर्जकै ब्यान्डमा कार्ड मात्रै परिवर्तन गरेर फोर जी सञ्चालनमा ल्याएको प्रचार प्रसार गरिएता पनि फोरजीको गुणस्तर उपत्यकाभित्र समेत राम्रो छैन ।

यसको मुख्य कारण हो, टेलिकमका वर्तमान प्रबन्ध निर्देशक कामिनीराज भण्डारीको असक्षमता । महिला भएकै नाममा शिर्ष नेता र मन्त्रीकहाँ रोइकराई प्रबन्ध निर्देशक बनेकी राजभण्डारी प्रबन्ध निर्देशक बने यता टेलिकमको नाफाको ग्राफ निराशाजनक छ ।

राजभण्डारी नेतृत्वले टेलिकमलाई ध्वस्त पारेर आफु मालामाल हुने दाउमा रहेको । टेलिकमले ल्याएको फोर जी भन्दा एनसेलको थ्री जी सेवा उपभाक्ताको रोजाई पर्नुमा पनि उनैको योगदान गरेको छ ।

टेलिकमको ल्यान्डलाइन, मोवँइल, एडिएसएल लगायतका सेवा सुबिधाबाट पछिल्लो समय सेवाग्राही निराश बन्दै गएका छन् । टेलिकमको नेटवर्कमा बारम्बार समस्या देखिने गरेकै कारण धैरै मानिसले अर्को कम्पनीको सेवा प्रयोग गर्ने गरेका छन् ।

जुनबेलादेखि टेलिकममा नेतृत्व परिवर्तन भयो, त्यही बेलादेखि टेलिकमको सेवा समेत खस्किंदा प्रश्न उठेको छ, कतै टेलिकम कै संचालकहरु प्रतिस्पर्धी कम्पनीहरुको प्रभावमा त परेका छैनन् । राष्ट्रको संचारलाई डुबाउने र एनसेल, स्मार्ट सेल, लगायतका कम्पनीहरुलाई फाइदा गराउने काममा उनीहरु लागेका त छैनन् ? प्रश्न त उठ्छ नै । किनकी, नेपाल टेलिकमको सेवा बिस्तार कछुवाको गतिमा छ । त्यसको मुख्य प्रतिस्पर्धी एनसेल चितुवाको गतिमा अगाडि बढिरहेको छ ।

टेलिकमले २ स्थानमा नाम मात्रको फोर जी सेवा दिइरहदा एनसेले २१ स्थानबाट फोर जी सेवा उपलब्ध गराएको छ । टेलिकमका अनुसार तीस एमबीपीएस स्पीड फोरजी चलाउन सकिने बताए पनि स्पीड दस एमबीपीएस भन्दा बढी नहुने ग्राहकका गुनासो छ ।

टेलिकमको फोरजी त वास्तवमा थ्रीजी जस्तै देखिन्छ । काठमाडौं र पोखराका उपभोक्तालाई फोर जीको नाममा झुक्काइ रहेको छ टेलिकमले । जसको कारण निजी क्षेत्रका कम्पनीहरु हावी भैहरको छन् । सुरुमा तामझामको साथ फोरजी ल्याएको टेलिकम २ स्थानमै सीमित हुँदा नेतृत्वप्रति प्रश्न तेर्सिएको छ, किन भएन फोर जी सेवाको बिस्तार ?

रेडिमेट जवाफ आउँछ सार्वजनिक खरिद ऐनका कारण नेपाल टेलिकमले समयमा सेवा विस्तारको काम अघि बढाउन सक्दैन । तर, नेपाल टेलिकम लगायत आठवटा सार्वजनिक संस्थानहरुको काम अघि बढाउन खरिद ऐन बाधक बन्छ भने कार्यविधि बनाएर काम अघि बढाउनलाई सरकारले नै बाटो खोलिदिएको छ । टेलिकम नेतृत्वले त्यो बाटो कहिल्यै प्रयोग गर्न चाहँदैन । किनकी, आफ्नो सेवामा जति ढिलाई गरिन्छ, त्यति नै फाइदा अन्य सेवाप्रदायकहरुबाट आइनै रहन्छ ।

राष्ट्रलाई सबैभन्दा बढी राजस्व बुझाउने र अन्य सार्वजनिक संस्थनहरु भन्दा कैयौं गुणा नाफामा रहेको भन्दै आत्मसन्तुष्टिको इगो व्यवस्थापन गर्दा सिंगो संस्थाको सेवालाई गुणस्तरीय बनाउने काम ओझेलमा पारिएको छ जानि जानि नै ।

नेपाल टेलिकमका यसअघिका प्रबन्ध निर्देशकको नेतृत्व कार्यकालभन्दा पनि वर्तमान प्रवन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यकालमा टेलिकमको सेवा तर्फको आम्दानी निरन्तर खकिएको तथ्यांक स्वयं टेलिकमसँगै छ । व्यालेन्स सिटमा टेलिकम कम्पनीको नाफा देखिए पनि सेवा तर्फको नाफा विगत दुई वर्षदेखि निरन्तर घट्दो छ ।

फोर जी सञ्चालनकै लागि समेत अर्ब खर्चको हिसाब देखाएको टेलिकमले सेवा सुविधा विस्तार गर्न नसक्नु त्यसै शंकाको बिषय बनेको हैन । कमिसनको खेलमा टेलिकमलाई धराशायी बनाउन थालिएको यो यौटा बलियो प्रमाण हो ।

टेलिकमलाई आयस्रोतको उचाइमा लाने फोरजी सेवा विस्तार नगरी नीजि क्षेत्रको एनसेल र स्मार्ट फोनलाई अगाडि बढ्न दिने काममा टेलिकम नेतृत्व देखिएको छ । त्यस्तै, आम्दानीको मेरुदण्डको रुपमा रहेको इन्टरनेट सेवा विस्तारमा समेत टेलिकम हात झिक्ने काम गरिहेको छ । टेलिकमले सुरु गरेको एफटीटीएचमा अहिले ग्राहक संख्या ५००० मात्र रहेको छ भने वर्डलिंक लगायतका निजी आईएसपी प्रोभाइडरहरुको ग्राहक संख्या भने १ लाख ५० हजार भन्दा बढी नाघिसकेको छ । हेर्दा देखिन्छ, टेलिकमले सेवा सुरु गर्छ, काम अघि बढाउंदैन । निजी क्षेत्रका लागि त्यो सुनौलो अवसर बनिरहेको छ ।

नीतिगत भ्रष्टाचारको भद्दा प्रहसन
संस्थामा सुशासन भएन भने अपारदर्शी धमिरा लाग्छ । स्वतः प्राप्त हुने कमिशनले नीतिगत भ्रष्टाचार जन्माउँछ । नीतिगत भ्रष्टाचारले सुशासन समाप्त पार्छ । नेपाल टेलिकमभित्र अहिले यस्तै अवस्था छ । यसैको प्रभाव देखिएको छ विगत दुई वर्षदेखि । कम्पनीको नाफा निरन्तर घट्दो क्रममा छ । तर, टेलिकम व्यवस्थापनले भने विभिन्न बैंकमा राखेको मुद्दती खाताबाट प्राप्त गर्ने व्याजलाई देखाएर नाफाको पारो बढेको बढाइचढाई गरिरहेको छ । टेलिकमको व्यालेन्स सिटले यही तथ्य प्रस्तुत गर्दछ ।

नेपालको दूरसंचार व्यवसायमा नेपाल टेलिकमसहित ६ वटा दूरसंचार सेवा प्रदायक टेलिकम कम्पनी र दर्जनौंको संख्यामा इन्टरनेट सेवा प्रदायकहरु आइएसपी बजारमा छन् । अहिलेको अवस्थामा नेपाल टेलिकममा पुरानो योजना सम्पन्न गर्न नसकेको र नया“ योजना ल्याउन नसक्दा कम्पनीको बजार हिस्सा र आम्दानी दुवै गुमिरहेको छ । जसका कारण टेलिकमको नाफा दिनदिनै घटिरहेको छ ।

आम्दानी दिनदिनै घट्दै
नेपाल टेलिकम देशको सबैभन्दा बढी नाफा गर्ने र कर तिर्ने सरकारी कम्पनी हो । यसमा ९१ दशमलब ५ प्रतिशत सरकारी स्वामित्व रहेको छ भने करिब ८ दशमलब ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको रहेको छ । तर राष्ट्रको सञ्चार नेपाल टेलिकम यति बेला वित्तीय सूचकांकको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आय घटिरहेको छ । खुद मुनाफामा, सम्पत्तिको प्रतिफल, शेयर, ग्राहक संख्या समेत पछिल्लो समय घटिरहेको छ । टेलिकम भित्रका ठुलो भ्रष्टाचारकै कारण वित्तीय अवस्था धरासायी बन्दै गएको देखिन्छ । राजधानीमा मुख्य स्थानमा भद्रकाली, पुल्चोक, जाउलाखेल, बबरमहल, सुन्धारा लगायतको स्थानमा विशाल भवन बनाइएका छन् । आवश्यक कामका लागि नै बनाइएको होला ती विशालकाय भवनहरु । तर, ती भवनभित्र संस्थागत शुसाशनको दृश्य कमै देख्न पाइन्छ ।

काम भन्दा गफ गर्नेको संख्या धेरै छ । कर्मचारीहरुका लागि आकर्षक तलव भत्ता र सेयर पाकिरहेको छ । अनावश्यक दुःख किन गर्ने प्रवृत्ति मूल नेतृत्वदेखि तल्लोस्तरसम्मका कर्मचारीमा पलाएको छ । मूल संग्लो भए मात्र पानी संल्लो हुने हो । मूल नेतृत्व नै कमिशनको चक्करमा लाग्दा सिंगो संस्थाको सुशासन भुत्ते भएको छ । अनुत्पादक खर्चमा रमाउने प्रवृत्तिकै कारण टेलिकम सेवाको क्षेत्रमा खस्किंदै गएको छ ।

त्यसो त, दूरसंचार व्यवसायमा नेपाल टेलिकमसहित ६ वटा दूरसंचार सेवा प्रदायक टेलिकम कम्पनी र दर्जनौंको संख्यामा इन्टरनेट सेवा प्रदायकहरु आइएसपी बजारमा छन् । अहिलेको अवस्थामा नेपाल टेलिकममा पुरानो योजना सम्पन्न गर्न नसकेको र नया“ योजना ल्याउन नसक्दा कम्पनीको बजार हिस्सा र आम्दानी दुवै गुमिरहेको छ ।

विगत २ वर्षदेखि संचालन आय आय घट्ने काम सुरु भएको हो । आर्थिक वर्ष २०६९/७० मा ३४ अर्व १४ करोड रुपैयाँ, २०७०/७१ मा ३५ अर्व ५९ करोड रुपैयाँ, २०७१/७२ मा ३९ अर्व २९ करोड रुपैयाँ, २०७२/७३ मा ४० अर्व ७२ करोड रुपैयाँ आम्दानी भएकोमा आर्थिक वर्ष २०७४/७५ मा ३९ अर्व ४५ करोड रुपैयाँ हुने देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा ८९ करोड घटी हो ।

यस्तै, कम्पनीको अर्वौ आम्दानी हुने क्षेत्र हो, अन्तराष्ट्रिय आगमन कल । टेलिकमको (कुल आम्दानीको करिव २५ प्रतिशत हिस्सा यही अन्तराष्ट्रिय कलले ओगट्छ । तर, अन्तराष्ट्रिय आगमन कल तर्फको राजस्वमा पनि विगत दुई बर्षदेखि अर्बौको दरले घटिरहेको छ ।

आर्थिक वर्ष २०६९/७० मा दश अर्व ९३ करोड आम्दानी भएको थियो । २०७०/७१ मा १० अर्व ६१ करोड रुपैयाँ, २०७१/७२ मा ११ अर्व ६७ करोड, २०७२/७३ मा ११ अर्व ४४ करोड आम्दानी भएकोमा आ. व. २०७३/७४ मा रु ९ अर्व ३ करोड (अघिल्लो बर्षको तुलनामा २ अर्व ४१ करोड घटि ), आर्थिक वर्ष २०७४/७५ मा ८ अर्व २४ करोड अघिल्लो बर्षको तुलनामा ७९ करोड रुपैयाँ घटी हुने देखिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८ सय ६ जना कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउ“दा कम्पनीले ४ अर्व ३६ करोड रकम खर्च घटाएर पनि १३ अर्व ६८ करोड रुपैयाँ मुनाफा गरेको थियो । स्वेच्छिक अवकाशका कारणले कर्मचारी खर्चमा आर्थिक वर्ष ०७३/७४ मा करिव ६७ दशमलव ५० करोड र ०७४/७५ मा करिव ५४ करोड कमी आउ“दा समेत कम्पनीको नाफा बढ्न सकेको छैन ।

राज्यको अर्थव्यवस्थालाई दीर्घकालीन रुपमै बलियो टेवा दिन सक्षम नेपाल टेलिकमलाई धराशायी बनाउनका लागि धेरैले लागि परेका छन । नेपाल टेलिकमको प्रथम महिला प्रबन्ध निर्देशक बनेकी कामनीराज भण्डारी म्याडमको भने संस्थालाई अघि बढाउनुको साटो यथास्थितिमा राख्ने र पछि फर्काउने देखिएको छ । म्याडम राजभण्डारीको टेलिकमलाई अगाडी बढाउनका लागि स्पष्ट भिजन नभएकै कारण टेलिकम ओरोलो लागेको तथ्यहरुले पुष्टि गरेका छन् । टेलिकमको अहिलेको आम्दानीको मुख्य स्रोत भनेको बैंक मौज्दातमा बढेको ब्याज दरबाट आउने रकम मात्र रहेकोछ । नेपाल टेलिकममा रहेको रकमलाई बैकमा Fixed Diposit, Call Deposit  गरि प्राप्त भएको ब्याज हरेक बर्ष बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा ४ अर्व ८४ करोड आम्दानी भएको थियो भने यस आर्थिक वर्ष २०७४/७५ मा ५ अर्व ५० करोड ब्याज आम्दानी (गैर कार्य संचालन आय) पुग्ने अनुमान छ । त्यस्तै बिदेशी मुद्रा विनिमय दरमा भएको बृद्धिबाट Exchange Gain (बिदेशी मुद्रा विनिमय लाभ) हुन आएको आधारमा कम्पनीको यथार्थ नाफा बढेको कुरा कत्ति पनि तर्कसंगत हुनै सक्दैन ।

प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बैंक मौज्दातलाई देखाएर टेलिकमको वार्षिक आम्दानी बढेको भन्दै सरकारलाई भ्रममा पार्न खोजिन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबन्ध निर्देशक राजभण्डारीलाई गाडीको टायर हैन, इन्जिनै फेर्ने चेतावनी दिन बाध्य हुनुपर्यो । मन्त्रिपरिषद्ले स्पष्टिकरण सोध्न बाध्य भयो ।

नेपाल टेलिकमको सेवा सुबिधाबाट आउने आम्दानी भने दिनदिनै घटिरहेको छ । आम्दानी घट्नुको मुख्य कारणको रुपमा पहाडी र हिमाली भेगमा टेलिकम नेटवर्कको समस्या, धेरै जनसंख्या भएको स्थान तराइका जिल्लामा समेत भरपर्दाे सेवा नदिन नसक्नु हो ।

टेलिकम क्षेत्रमा काम गर्ने सीमित भेन्डरहरु छन् । ती भेन्डरबाट बर्षेनी अर्बौको काम गराउने गर्छ टेलिकमले । यौटा फाइलमा हस्ताक्षर गरेवापत स्वतः प्राप्त हुने वैधानिक कमिशनको चक्करमा टेलिकम नेतृत्व परेको छ । यही चक्करमा पर्दा समयमा गर्नुपर्ने कामको सेटिङ नमिल्दा निर्माणको काममा कहिलेकाहीं ढिलाई पनि हुने गरेको छ । यो सरासर नीतिगत भ्रष्टाचार हो ।

एमडीको टेवलमा १४ महिनादेखि अड्कियो बीटीएस टावरको फाइल

ढांट्नुको पनि हद हुन्छ । एक पछि अर्का वेथिती र विसंगति निस्किंदैछन् टेलिकम भित्र । दुईवर्ष अघिसम्म नाफाको पारो माथि रहेको टेलिकमको यतिबेला तल किन परेको छ ? पहिलो गम्भीर प्रश्न यहीबाट सुरु हुन्छ । सेवा दिन बसेको व्यवसाय घाटामा त्यतिबेला जान्छ, जतिबेला व्यवस्थापनबाट कमजोरी सुरु हुन्छ । आफ्नो कमजोरी ढाक्न दुई दुई वर्षसम्म सार्वजनिक खरिद ऐनलाई दोषी देखाउने टेलिकम नेतृत्वले सार्वजनिक खरिद ऐनले समेत दिएको छुट्टै खरिद कार्यविधि बनाउन सक्ने अधिकारलाई प्रयोग गर्न चाहंदैन । खरिद ऐनको प्रावधानका आधारमा आफ्नो खरिद कार्यविधि र विनियमावलीलाई संशोधन गर्ने चासो देखाउंदैन । जसका कारण तराई क्षेत्रमा बीटीएस टावर निर्माणको काम २ वर्षदेखि अलपत्र परेको छ भने पहाडी हिमाली क्षेत्रको अप्टिकल फाइबर जडानको काम कछुवा गतिमा रहेको छ ।

जुन संस्था प्रति धेरै माया हुन्छ त्यसैप्रति गुनासो पनि हुन्छ । सञ्चारबाट मनमा पसेको नेपाल टेलिकम प्रति जनताको गुनासो अहिलेभने दिन प्रतिदिन बढ्दो छ । इन्टरनेट सेवा होस् वा भ्वाइस सेवामा टेलिकम आफनो उपभोक्तालाई अन्तुष्ट बनाउन सकेको छैन । जसको कारण निजी क्षेत्रका इन्टरनेट कम्पनीका साथै अन्य निजी टेलिकम कम्पनीहरु मालामाल भएका छन । नेपाल टेलिकमले गर्ने आम्दानी स्वदेशमै हुने हुन्छ भने अन्य निजी कम्पनीले गर्ने आम्दानी बिदेशमा गइरहको छ । नेपालको ठुलो रकम सञ्चारका निजि क्षेत्रबाट बिदेश गरइरहेको अवस्था टेलिकम भने सेवा बिस्तारमा ध्यान दिन सकेको छैन । देशलाई फाइदा हुने धेरै काम टेलिकमले अगाडि बढाउने प्रत्यक्ष गर्ने खरिद ऐन भन्दै रोकिने गरेकै कारण टेलिकमको अवस्था दयनीय बन्दै गएको छ । टेलिकमको भविष्य र विश्वसनीयता समेत गिर्दाे क्रममा गएको छ । टेलिकमको अवस्था कमजोर बन्दै गएको बिज्ञहरु बताउंछन् ।

टेलिकम भित्रको आर्थिक र कर्मचारीको म्यानेजमेन्ट गर्न नसक्दा टेलिकम माकुराको जालो जस्तो जेलिन पुगेको छ । यसको यौटै मात्र उदाहरण त अप्टिकल फाइबर तथा बीटीएस टावर निर्माणका लागि गरिएको नौटंकी नै काफी छ । नेपाल टेलिकमको ५ दशमलव २ मिलियन GSM Project हुदाहुंदै पनि जनसंख्याको ठूलो हिस्सा बसिरहेको पूर्वीतराई क्षेत्रमै यसको सेवा सबैभन्दा कमजोर छ । तुलतात्मक हिसाबले हिमाल पहाडमा भन्दा सुगम रहेको तराई क्षेत्रमा कम्पनीको पर्याप्त बीटीएस जडान गरिएको छैन । बीटीएसको लागि आवश्यक टावरको टेन्डर गरेको फाइल प्रबन्ध निर्देशकको लेभलबाट १४ महिनासम्म स्वीकृत नगरी पेन्डिङमा राखियो । १४ महिना अघि नै बीटीएसका लागि काम गर्नुपर्ने भए पनि काम गर्ने निर्माण कम्पनीलाई अनुमति नै दिइएन । तर, कमिशन नमिल्दा, अनेकौं बहाना पारेर रोकिएको बीटीएस निर्माणको काम सबैतिरबाट दबाब परेपछि बल्ल सुरु भएको छ । प्रधानमन्त्री र संचारमन्त्रीले टेलिकमको सेवाबारे गम्भीर प्रश्न उठाउंदै प्रबन्ध निर्देशक नै फेर्ने चेतावनी दिएपछि हतारहतारमा निर्माण कम्पनीलाई काम गर्न पत्राचार गरिएको छ । तर, दुई वर्षसम्म एलसी खोल्ने अनुमति नपाएको निर्माण कम्पनीले पहिलेको मूल्यमा काम गर्न नसक्ने भन्दै मूल्य बढाउन माग गरेको छ ।

टेलिकमको यस्तो गैरजिम्मेवार व्यवहारकै कारण तराईमा कम्पनीको नेटवर्क अत्यन्तै कमजोर रहेको छ । कम्पनीको बजार हिस्सा करिब २५/३० प्रतिशतले झरिसकेको छ । पहाडी क्षेत्रमा अप्टिकल फाइबर जडान सम्पन्न हुन लागेको भनेर टेलिकमले आफ्नो बुलेटिनमा प्रकाशित गरेको छ । तर, फाइबरको काम समेत जडान भैसकेको छैन । उल्टै मुस्ताङ क्षेत्रमा जडान भएका फाइबर टेलिकमकै कर्मचारीबाट काटिएका प्रमाणहरु फेला परका छन् । जोडिएका धेरै ठाउंमा आन्तरिक कनेक्सन भएको छैन ।

पछिल्लो समय टेलिकमले गर्ने खर्चको तुलनामा आम्दानी एकदमै न्यून छ । विभागीय मन्त्रालय तैंचुप मैंचुप भइदिंदा हाकिमहरुलाई कमाउने थलो मात्र बनेको छ टेलिकम । टेलिकमप्रति जनताको अपार माया र सद्भाव हुदा हुदै पनि टेलिकमले आफनो सेवा बिस्तारमा कञ्जुसाई गर्नुले नेतृत्वप्रति प्रश्न चिन्ह खडा भएको छ ।

जानाजान टेलिकमलाई ध्वस्त बनाउने र निजी कम्पनी एनसेललाई समृद्ध बनाउने तर्पm टेलिकमको नेृतृत्व कसिएको छ । टेलिकमको विजनेस खस्कंदै गएको यथार्थ आय व्ययको बिवरणले देखाइरहको छ । टेलिकमको सेवामा पटकपटक समस्या आउने गरेकाले दिक्दार भएर सेवाग्राही अर्कोतर्फ आकर्षित भइरहेका छन् । अझ केही समय टेलिकमको यही दुरावस्था रहेमा टेलिकम पूर्णतया धराशायी हुनबाट जोगाउनका लागि टेलिकमले समयमै सोच्नु आवश्यक छ । अन्यथा मुलुकमा अन्य संस्थाको रोग टेलिकमा सर्ने निश्चित छ ।

एनसेलको तुलनामा टेलिकमको फोरजी सेवालाई मात्र हेर्ने हो भने टेलिकम राष्ट्रको सञ्चार भनेर भन्न समेत लज्जाको बिषय बन्दै गएको छ । टेलिकममा फोरजीका नाममा करोडौंको अनियमितता छ भने सेवाग्राहीले दुःख गरेर कमाएको रकममाथि टेलिकमभित्र ब्रम्हलुट भइरहेको छ । टेलिकम डुबाउने र आफूलाई धनाढ्य बनाउने योजनामा टेलिकमको नेतृत्व अगाडि बढ्दा जनताको करबाट संचालनमा आएको सार्वजनिक कम्पनीको भविष्य धराशायी हुने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com