नयाँ धरहराको नक्सासमेत बनेन


प्रकाशित मिति : कार्तिक २०, २०७३ शनिबार

भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएको करिब नौ महिना बितिसकेको छ । तर, निर्माणको काम सुरु नै भएको छैन । अहिलेसम्म नक्सासमेत बनेको छैन ।

नक्सा बन्न एक महिना लाग्ने

पुरातत्व विभागका सिडिई सम्पद घिमिरेले धरहराको नक्सा बन्न अझै एक महिना लाग्ने बताए । ‘नक्सा बनाउन विभागले कन्सल्टेन्टलाई जिम्मा लगाएको छ । नक्साको काम सक्न अझै महिना दिन लाग्ने देखिन्छ’, घिमिरेले भने । विभागले धरहराको सम्भाव्यता अध्ययन चार महिनाअघि नै सकेको थियो ।

अध्ययनपछि सम्भावित नक्सा पनि सार्वजनिक गरेको थियो । ‘सम्भाव्यता अध्ययन हुँदा र अहिले धरहराको नक्सा परिवर्तन हुनेछ,’ घिमिरेले भने, ‘पहिला धरहरा ६ रोपनी जग्गामा मात्रै बन्ने भनिएको थियो । तर, अब २९ रोपनी जग्गामा धरहरा निर्माण गरिनेछ । त्यसैले वास्तविक नक्सा बन्न ढिला भएको हो ।’

२९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा

पुरातत्व विभागका अनुसार नयाँ धरहरा गोश्वारा हुलाकको साढे ११ रोपनी, टक्सारको थप साढे ११ रोपनी र पुरानो धरहराले चर्चेको ६ रोपनी गरि २९ रोपनीमा बन्नेछ । धरहराको डिपिआर कन्सल्टेन्ट केज/एमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख खर्च भइसकेको छ । थप ५० लाख डिपिआरमा लाग्ने कम्पनीले जनाएको छ ।

नयाँ धरहराको उचाइ दुई सय ४५ फिट तथा ११ तलाको बन्नेछ । विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । अत्याधुनिक पार्किङको सुविधा पनि हुनेछ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण गर्ने योजना छ ।

अभियानबाट दुई करोड जम्मा

‘मेरो धरहरा मै बनाउँछु’ अभियान गत वर्ष ५ फागुनमा सुरु गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोकतत्वमा ‘मेरो धरहरा मै बनाउँछु’ कोष खडा गरिएको थियो । अभियानअन्तर्गत अहिलेसम्म दुई करोड जम्मा भएको छ । प्राधिकरणका अनुसार कोषमा एक करोड ९५ लाख ४६ हजार ९१ रुपैयाँ जम्मा भएको छ । कोषमा सबैभन्दा धेरै पुनर्बिमा समितिले एक करोड रुपैयाँ सहयोग गरेको छ । बाँकी ९५ लाख ४६ हजार ९१ रुपैयाँ भने व्यक्ति, सरकारी तथा निजी संघसंस्थाले सहयोग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले कोषमा ६१ हजार आठ सय बीस रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट ३२ हजार पाँच सय नौ, उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ हजार नौ सय ७० रुपैयाँ सहयोग गरेका छन् । धरहरा निर्माण गर्न सरकारले ८० लाख रुपैयाँ निकासा गरेको नयाँ पत्रिकामा खबर छ । त्यसमध्ये ६५ लाख रुपैयाँ नक्सा डिजाइनमा लाग्नेछ । बाँकी रकम अन्य बन्दोबस्तीमा खर्च हुने भनिएको छ । धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com