फोहोरमा खेल्ने एक उद्यमशिल युवा संयुक्त राष्ट् संघमा नेपाली प्रतिनिधि


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

फोहोर व्यवस्थापन आजको विश्वव्यापी समस्या हो । हरेक ठाँउबाट निस्कने फोहोरको सहि व्यवस्थापन हुन सकेन भने यसले अर्को बिकराल रुप लिने खतरा रहन्छ । यदी फोहोरको व्यवस्थान हुन सक्यो भने फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ । यही उदाहरण पेश गरेका, बिगत आठ बर्षदेखी फोहोर व्यवस्थापनको काम गर्दै आईरहेका एक पोखरेली तन्नेरी यती बेला फोहोरको बिषयमा विश्वव्यापी छलफलका लागि अमेरिकामा छन् ।

संयुक्त राष्ट् संघको विश्व सम्मेलनका लागि नेपालबाट प्रतिनित्वि गर्दै छलफलमा सहभागि भएका सन्तोष पौडेल देशमै केही गर्न सकिन्छ भन्ने एक उदाहरण पेश गर्न सफल भएका छन् । पढेलेखेका युवाहरु दिनहुँ बिदेशिने क्रम बढी रहेका बेला देशकै प्रमुख समस्या समाधान गरी रोजगारी समेत सृजनागरी काम गर्दै आएका पौडेल वेष्ट म्यानेजमेन्ट सर्भिसका सस्थापक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।

पोखरालाई आधार बनाएर फोहार व्यवस्थापन गर्दै फोहोरलाई मोहोरमा परिणत गरि उद्यमशिलता मार्फत आफुलाई सक्षम युवाका रुपमा परिभाषित गर्न उद्धत यिनै युवासंग हामीले नेपालमा फोहोरको समस्या र यसको सही व्यवस्थापनका बारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ सन्तोष पौडेलसंग खसोखासका प्रवन्ध सम्पादक अनिल अधिकारीले गरेको कुराकानी ।

पढेलेखेको तन्नेरी फोहोरको काम गर्छ भन्दैनन् ?

मेरो मनको कुरा गरिदिनु भयो । म जब यो क्षेत्रमा काम गर्न सकिन्छ । यहाँबाट केही पैसा कमाउने भन्दा बढी यसको व्यवस्थापन गर्नु हो । जसलाई मैले आफ्नो दायित्वबोधका रुपमा लिएर यो क्षेत्रमा काम गर्न तम्सिएँ । जब शुरुवात गरेँ, घरबाटै मलाई यो गलत बाटोमा जाने भयो, समकक्षी साथीहरु बिदेश जान थालीसके या अन्य व्यापार व्यवसाय गर्न थालिसके छोरो बिग्रने भयो भन्ने आरोप समेत मैले खेपेको छु । मैले म देशको एक सचेत नागिरक हुनुको कतव्र्य र दायित्व संगै केही रकम पनि कमाउन सक्छु भनेर यो क्षेत्रमा हात हालेको हुँ । विश्वविद्यालयबाट शिक्षित युवा फोहोर टिप्ने जस्ता सामान्य काम गर्नै हुन्न भन्ने मान्यतालाई पनि चिर्नका लागि शुरुवाती दिनमा मलाई कठिन भएको भएपनि आज मैले काम गर्दै आएँ अनि रिजल्ट पनि सकारात्मक आएका कारण खुसी छु ।

फोहोरको काम कहाँबाट कसरी गरिरहनु भएको छ ?

मैले फोहोर व्यवस्थापनको काम आफु जन्मेको क्षेत्र पर्यटकिय नगरी पोखराबाट गरेको हुँ । पोखरामा केही वडाहरुबाट गर्न शुरुवात गरेँ । अहिले मैले पोखरा लगायत छिमेकी जिल्लाहरुमा पनि काम गर्दै आएको छु । मेरो उदेश्य देशका प्रमुख शहर र देशभरी नै यसको काम गर्ने उदेश्य बनाएर अगाडि बढेको छु । मलाई आशा र पूर्ण विश्वास छ म यो कार्यमा सफल हुनेछु । यसका लागि मलाई सबै क्षेत्रबाट प्रयाप्त सहयोग हुनेछ भन्नेमा आशावादी रहेको छु । मलाई हाल देशका प्रमुख शहरबाट सरकारी तवरबाटै काम गर्नका लागि प्रस्ताव गर्नु भएको छ । म अब पहिले देशका प्रमुख शहरको फोहोर व्यवस्थापन गर्ने गरी काम गर्ने सोचमा छु ।

नेपालको प्रतिनित्वि गर्दै संयुक्त राष्ट्संघमा अमेरिका आउँदाको अनुभव ?

अमेरिकामा अहिले फोहोर व्यवस्थापनका बारेमा छलफल गर्न संयुक्त राष्ट् संघले कार्यक्रको आयोजना गरेको थियो । विश्वभरबाट करिव चार सय ५० प्रतिस्पर्धिमा म छनौट भएर अहिले नेपालको प्रतिनिधिका रुपमा युएनमा सहभागि भएँ । बिगत आठ बर्षदेखी म हरेक क्षेत्रबाट निस्कने फोहोरको व्यवस्थापन र अस्पतालहरुबाट निस्कने फोहोर व्यवस्थापन गर्ने काम गर्दै आएको छु । यूएनमा मैले नेपालको फोहोर व्यवस्थापन कसरी भईरहेको छ, सरकारी र नीजि क्षेत्रले कसरी काम गरिरहेका छन् । हामीलाई चुनौतीहरु के के छन्, ? यसैगरी विश्वव्यापी रुपमा फोहोरले के कस्ता समस्याहरु सृजना गरिरहेको छ भन्ने बारेमा आफ्नो धारणा राख्ने मौका पाउँदा अत्यन्तै खुसी छु । आगामी दिनमा म अझै यस क्षेत्रलाई व्यवस्थित गर्नेगरी काम गर्ने प्रेरणा लिएर नेपाल फर्कदैछु ।

फोहोरको सहि व्यवस्थापन हुन सकेन भने यसले बिकराल रुप लिन्छ, यस बारेमा के निचोड निस्क्यो यूएनको सम्मेलनमा ?

मैले माथी उल्लेख गरे जस्तै फोहोरको व्यवस्थानका लागि सरकारी र नीजि क्षेत्रले काम गरिरहेका छन् । बिशेषगरी फोहोरको काम गर्न नीजि क्षेत्र त्यति उत्सुक भएको पाइँदैन् । यसर्थ यूएनको सम्मेलनमा हामीले गरिरहेका काममा भएका चुनौती र आगामी दिनमा बनाउनु पर्ने कार्य योजनाका बारेमा बढी छलफल केन्द्रीत रह्यो । अबको कार्य योजना बनाउने बिषयमा हामीले हाल काम गरिरहेका नीजि क्षेत्रलाई कसरी उत्साहि बनाउन सकिन्छ, अर्थात उनिहरुको कामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा निस्कर्ष निकाल्ने प्रयत्न भयो । मैले समग्रमा भन्नुपर्दा फोहोरका क्षेत्रमा काम गर्ने नीजि क्षेत्रलाई सरकारी सहयोग कसरी जुटाउन सकिन्छ । सरकार र नीजि क्षेत्र मिलेर कसरी फोहोको व्यस्थापन गर्न सक्छन भन्नेमा हामीले छलफल गर्ने मौका पायौं ।

तपाईले कहाँ कहाँबाट फोहोर उठाउँनु हुन्छ ?

हामीले सबै क्षेत्रबाट निस्केका फोहोरको व्यवस्थापन गछौं । हरेक घरबाट निस्कने फोहोर, कार्यलय, कलकारखाना सबै क्षेत्रको फोहोर संकलन गरी त्यसलाई पुन प्रयोग हुनेलाई पुनः प्रयोग गछौं भने प्रयोगमा नआउने बस्तुलाई बिज्ञानले भने अनुसार ठेगान लगाउछौं । बिशेषगरी अस्पतालबाट निस्केको फोहोरको व्यवस्थापन गछौं । अस्तालबाट निस्कने फोहोर अलि बढी जटिल हुन्छ । यसको सहि व्यवस्थापन हुन सकने भने अर्को रोग फैलने डर हुन्छ । यसर्थ हामीले मल बनाउन मिल्नेलाई मल मल बनाउन नमिल्नेलाई त्यसको उचित व्यस्थापन गरी काम गर्दै आएका छौं ।

अस्पताल क्षेत्रको फोहोर संकलन अलिक जटिल प्रकृया पनि हो, यसको कसरी व्यवस्थापन गर्नु हुन्छ ?

तपाईले भनेको एकदमै सहि हो । यदी अस्पतालबाट निस्केको फोहोरलाई सहि ढंगबाट उठाइएन भने अस्पताल क्षेत्र थप दुर्गन्धित हुन्छ भने उठाउने कामदार समेत बिरामी हुने खतरा रहन्छ । यसर्थ हामीले थप सचेत भएर बिभिन्न भागमा छुटएर यसको व्यवस्थापन गर्दै आएका छौं । मैले माथी पनि भनेको छु, हामीलाई प्राप्त फोहोर यदी पुन प्रयोग नहुने छ भने त्यसलाई ल्याण्डफिड साइडमा पनि सहि ढंगबाट जलाउनुपर्छ । सोही अनुसार काम गर्दै आएका छौं ।

नीजि क्षेत्रले यो काम गर्दा सरकारी तबरबाट तपाईहरुलाई सहयोग भईरहेको छ कि थप बाधा पुराउने काम हुन्छ ?

हाल सम्मको मेरो अनुभवमा मैले सुरुवातमा सरकारी तवरलाई बुझाउन केही कठिन भयो । सरकारी कार्यलयका कर्मचारी बिभाजित भएर मलाई सर्पोट गर्न आनाकानी गर्नुभयो । तर केही बर्ष काम गर्दै गएपछि उहाँहरु आफै फोहोर व्यवस्थापन गरिदिनु पर्यो भनेर आउनु भएको छ । अहिले सरकारी तबरमा बुझाउन कठिन छैन् । तर राजनीतिले केही प्रभाव भने पक्कै पारेको छ । बिभिन्न दलगत ढंगमा फोहोरमा पनि राजनीति गर्ने प्रयास हुन्छ । यो काम गर्दा केही आर्यआर्जन गर्ने भन्दा पनि यसको व्यस्थापन हजारौं गुना जटिल छ । जसलाई हामीले गर्दै आएका छौं । अहिले शुरुवाती बर्षको भन्दा सहज हुँदै आएको छ । संघिय संरचना अनुसार महानगर, नगरपालिका, गाउँ र वडाका प्रमुखहरुले आफैले यसको काम गर्नुुस भनेर अफर गर्ने वातावरण सृजना भएको छ ।

फोहोरको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने शुझाव दिनुहुन्छ ?

हामीले दैनिक जसो हजारौ टनका टन फोहोर निकाल्छौं । चाहे त्यो घरबाट होस या कलकारखानाबाट होस या भनौं अस्पतालबाट होस । यदी त्यसको सहि ढंगबाट व्यवस्थापन हुन सकेन भने हामी हजारौं कारणबाट बिरामी पर्ने खतरा रहन्छ । यसर्थ हामी आफै सचेत भएर कुहिने बस्तुलाई छुट्टै प्लाष्टिकमा पोको पार्ने नकुहिने तर जलाउन मिल्ने लाई छुट्टै प्लाष्टिकमा राख्ने, टिन जस्ता पाता जस्ता फोहारलाई पुन प्रयोगका लागि कम्पनीमा पठाउन सकिन्छ । यसर्थ त्यसलाई पनि सोही अनुसार राख्ने बानी मात्रै हामी बसाल्न सकेमा फोहोरको सहि व्यवस्थापन हुन्छ । आफुले दैनिक प्रयोग गर्ने बस्तुलाई सचेत भएर फाल्ने या भनौं राख्ने बानी गर्नुपर्छ । यसो गर्न सकेमा हामी बिभिन्न रोगबाट पिडित बन्ने खतरा रहँदैन भने फोहोर टिप्नेले पनि मोहोर बनाउन सक्छ ।

उद्यमशिल युवाका रुपमा आफ्नो परिचय बनाउँदै गर्दा यसमा बाधा अडचन ?

हामीले दैनिक हजारौं युवाहरुलाई त्रिभुवन अन्तराष्ट्यि बिमानस्थलबाट बिदाई गरिरहेका छौं । अर्को अर्थमा भन्दा देश बनाउने सक्षम युवाहरुलाई बिदेश पठाएका छौं । हामी केही थोरै मेहेनत गर्न सक्यो भने पक्कै पनि देशमै केही गर्न सकिन्छ । हो देशमा सबै हिसावले वातावरण बनि सकेको छैन् । तर यो भन्दैमा सबैले देश छोडेर हिड्ने हो भने गर्ने कस्ले ? यो आजको जटिल प्रश्न हो । हामी एक्ले सकिँदैन भने समुह बनाएर गरौं । तर देशमै केही गरौं । स्वर्ग जस्तो नेपालको भविश्य हामी जस्तै युवाहरुको हातमा छ । अब परिर्वतनको शुरुवात आफैबाट गर्नुपर्छ । तपाईका पछाडी कुरा काट्ने थुपै हुन सक्छन्, तर त्यसलाई चिर्नका लागि तपाईको लगनशिलता महत्वपूर्ण हो । लगनशिल भएर काम गर्नुभयो भने पक्कै पनि परिवर्तन सम्भव छ । मैले पनि माथी उल्लेख गरे जस्तै धेरै समस्याहरु झेलेको छु तर बिचलित नभईकन काम गर्दै गएँ, आज हिजो त्यो फोहोर टिप्ने सन्तोष पौडेल विश्वभरका युवाहरु भेला भएको यूएनको सम्मेलनमा नेपाली प्रतिनिधिका रुपमा उपस्थित छ । यहाँ भन्न खोजिएको के हो भने हामी लगनशिल भएर काम गरौं । पक्कै पनि तपाई आफ्नो परिचय आफै बनाउन सक्नुहुन्छ ।

अन्तमा ?

मैले काम गर्ने क्षेत्र फोहोरी भएपनि सकारात्मक सोचले काम गर्न सकेमा मानिसको स्वास्थ्यमा प्रतिकुल असर पर्नबाट जोगाउन सकिन्छ भन्ने सन्देश पनि दिईरहेको छु । यसका लागि मलाई हाल सम्म सहयोग गर्र्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु । र यो क्षेत्रमा काम गर्ने म लगायत अन्य नीजि क्षेत्रलाई पनि सरकारी तवरबाट सकारात्मक सहयोग हुन सकेमा मानव स्वास्थ्यमा ठुलो योगदान पुग्न सक्छ । यसका लागि सरकारले पनि नयाँ योजना र कार्यदिशा बनाउनु जरुरी छ । मेरा आफ्ना कुराहरु राख्ने मौका दिनुभएकोमा खसोखास परिवार र यहाँलाई बिशेष धन्यवाद ज्ञापन गर्दछु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com