नेपाल-अमेरिकाबीच भिषा शुल्क समान बनाउन गृहकार्य


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

नेपाल र अमेरिकी सरकारबीच पर्यटन भिषा पारस्परिकता गर्ने विषयमा छलफल सुरु भएको छ।

नेपाल आउने आफ्ना नागरिकहरुलाई प्रदान गरिने पर्यटक भिषा शुल्क महँगो भएको गुनासो अमेरिकाले गरेपछि नेपाल सरकारले त्यसमा समीक्षा गर्न लागेकाे हाे।

अमेरिका जाने नेपालीले भिषा बापत तिर्नुपर्ने रकमको तुलनामा नेपाल आउने अमेरिकीले पर्यटक भिषा शुल्क बापत बढी रकम तिर्नुपरेको गुनासो अमेरिकी पक्षले गर्दै आएको छ। अध्यागमन विभागमा महानिर्देशक दीपक काफ्लेले पर्यटक भिषा समान बनाउने विषयमा नेपाल-अमेरिकाबीच के के मुद्दा हुनसक्छन् र तिनलाइ कसरी सम्बाेधन गर्ने भनेर गृहकार्य भइरहेकाे जानकारी दिए।

‘भिषा पारस्परिकता भनेको दुवै देशबीचको समझदारी हो,’ काफ्लेले नेपालखबरसँग भने, ‘न्युनतम विन्दुमा गएर कसरी व्यवस्थापन गर्न सकिन्छ हामी त्यसका लागि काम गरिरहेका छाैं।’

भिषा पारस्परिकता गर्दा नेपालको आर्थिक अवस्था, पर्यटक आगमन, विदेशीले नेपालीलाई कसरी व्यवस्थित गर्ने भन्नेमा विषयमा छलफल भएको उनले बताए। नेपालमा पर्यटकको रुपमा आउने विदेशी नागरिकले भिषा शुल्कबापत १५ दिनका लागि २५ डलर, ३० दिनका लागि ४० डलर, ९० दिनका लागि १०० डलर शुल्क तिर्नु पर्ने हुन्छ।

९० दिन भन्दा बढी बस्न चाहेमा दिनको २ डलर रुपैयाँ थप बुझाउनुपर्ने हुन्छ। याे रकम महँगाे भयो भन्दै अमेरिकी सरकारले भिषा बापतको शुल्कमा परस्परिकता गर्न आग्रह गर्दै आएको हाे। अमेरिकाले भने १ सय ६० डलरमा ५ वर्षका लागि बहुप्रवेसी भिषा प्रदान गर्ने गर्छ। अमेरिकामा विदेशी नागरिकले १ वर्षमा ६ महिनासम्म बस्न पाउने व्यवस्थासमेत छ।

सम्बन्धित खबर: नेपालकाे भिषा शुल्क समीक्षा गर्न अमेरिकी राजदूतकाे अाग्रह

महानिर्देशक काफ्लेले यस विषयमा दुइ पक्षीय छलफल जारी रहेको र कुनै निष्कर्षमा पुगिनसकेको बताए। २३ पुष २०७४ को मन्त्रिपरिषद बैठकले अमेरिकासँग विद्यार्थी, पत्रकार र कामदारका लागि भिषा पारस्परिकता लागू गर्ने निर्णय गरेकाे थियाे।

यो निर्णयअनुसार नेपालकाे अध्यागमनले यी तीन किसिमका भिषामा नियम परिवर्तन गरेकाे छ। अहिले अमेरिकी विद्यार्थीले ३ सय ६०, कामदारले १ सय ९० र पत्रकारले १ सय ६० डलरमा नेपाली भिषा प्राप्त गर्न सक्छन्।

साे निर्णय काठमाडाैंस्थित अमेरिकी दूतावासले पारस्परिक हैसियतमा लागू नगरेकाे अध्यागमन अधिकारीकाे भनाइ छ। ‘हामीले तीन महिने भाेकेशनल तालिममा अाउने अमेरिकी नागरिकलाइ पनि भिषा दिइरहेका छाैं।

तर अमेरिकी दूतावासले विश्वविद्यालयमा पढ्न जाने जेन्युन नेपाली विद्यार्थीका पनि भिषा रिजेक्ट गरेकाे गुनासाे अाएकाे छ’, अध्यागमन स्राेतले भन्याे, ‘व्यवहारमा पारस्परिक भइरहेकाे छैन। यस विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्नेछाैं।’ भिषा नदिए पनि दूतावासले अावदेन शुल्क बापत अग्रिम भुक्तान गरेकाे रकम फिर्ता गर्दैन।

विदेशी नागरिकले नेपाल प्रवेश गर्दा पर्यटक भीषा लिनु पर्ने हुन्छ। भिषा पारस्परिकता हुँदा समेत याे नियम कायम रहन्छ।

अमेरिकासँग भिषामा पारस्परिकता गर्ने निर्णयसँगै गृहमन्त्रालयले १ जेठ २०७५ मा विदेशी नागरिक नियमन निर्देशिका समेत जारी गरेको थियाे। विदेशी नागरिकलाई भिषामा केही सहजता प्रदान गर्न निर्देशिका जारी गरिएको दावी काफ्लेले गरे।

अघिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने ९ लाख ४० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये अमेरिकी नागरिकको संख्या ७९ हजार १ सय ४६ छ। यो नेपाल भित्रिने विदेशी विदेशीहरुको तेस्रो ठूलो संख्या हो।

‘अमेरिकामा भने नेपाली नागरिक बार्षिक ७० हजारको हाराहारीमा भन्दा धेरै जाने गरेका छैनन्’ महानिर्देशक काफ्लेले भने, ‘धेरैजसो नेपाली पढ्न अमेरिका जाने गरेका छन्। कतिपय आफन्तसँग भेटघाटका लागि पनि जान्छन्।’ अमेरिकाले भिषा पारस्परिकताको माग गरे पनि नेपालीका भिषा अावेदन अधिकांश अस्वीकृत हुने गरेकाे अवस्थामा के गर्ने भनेर विभागले अान्तरिक गृहकार्य गरिरहेकाे छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com