भारत र नेपालबीच तेलको पाइप लाइन बिछ्याउने प्रक्रिया कार्यान्वयन गर्दैछौं — मुखर्जी


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण झन्डै दुई दशकपछि भएको छ । तर त्यो ओहदामा अहिले जो छन्, उनी भने नेपाली जनमानसले यसअघि पनि काठमाडौंमा देखिआएका अनुहार हुन् । भारतका राष्ट्रप्रमुख प्रणव मुखर्जी विगतमा विदेशमन्त्री र अन्य थुप्रै हैसियतमा नेपाली मामिलामा संलग्न रहँदै आएका पुराना राजनीतिज्ञ हुन् । नेपालमा शान्ति प्रक्रिया सुरू हुनुमा आफ्नो मुलुकको भूमिका रहेको पहिलो आधिकारिक टिप्पणी उनले विदेशमन्त्री छँदै गरेका थिए । अहिले उनी सक्रिय राजनीतिमा नभई आलंकारिक जिम्मेवारीमा छन्, जसको यो भ्रमणबाट गत सालको भारतीय नाकाबन्दीपश्चात जनस्तरमै चिसिएको नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन भूमिका खेल्ने दिल्लीले अपेक्षा राखेको देखिन्छ । सन् २०१२ मा भारतको १३ औं राष्ट्रपति चुनिएका ८२ वर्षीय मुखर्जी आफ्नो यही नेपाल भ्रमणको सेरोफेरोमा सुधीर शर्मा र अखिलेश उपाध्यायका प्रश्नहरुको जवाफ दिन तयार भए । प्रस्तुत छ, सम्पादित अंश :

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण करिब दुई दशकपछि भइरहेको छ, यति लामो अन्तर कसरी रहन गयो रु तपाईंको यो भ्रमणबाट हामीले के अपेक्षा गर्न सक्छौं ?

भारतीय राष्ट्रपतिको पछिल्लो भ्रमण सन् १९९८ मा भएको थियो, जुन बेला स्वर्गीय केआर नारायणनले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । १८ वर्षपछि अहिले भारतबाट नेपालमा राष्ट्रपतीय भ्रमण भएको छ । निकै लामो अन्तर भयो भन्ने तपाईंहरूको कुरासँग म सहमत छु । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा २ देखि ४ नोभेम्बरसम्म नेपालको भ्रमण गर्ने अवसर पाएकोमा मलाई खुसी लागेको छ । यो भ्रमणका क्रममा नेपालका राजनीतिक नेताहरू र मित्रहरूसँग भेटघाट गर्न म उत्सुक छु । उहाँहरूसँग साझा सरोकारका थुप्रै मामिलाहरूमा विचार आदान—प्रदान हुनेछ भन्ने मलाई विश्वास छ । मेरो भ्रमण मित्रताको मिसन हो र नेपालसँगको हाम्रो निकट एवं बहुआयामिक सहकार्यलाई अझै मजबुत बनाउनु हो । नेपालका राष्ट्रपतिले पनि उपयुक्त समयमा छिट्टै भारत भ्रमण गर्नुहुनेछ भन्ने मलाई आशा छ ।

नेपाल–भारत सम्बन्धको हालको अवस्थालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उस्तै सांस्कृतिक परम्परा, भूगोल र सभ्यतागत सम्पर्कहरूले हाम्रो पृथक द्विपक्षीय सम्बन्धलाई परिभाषित गर्छन् । यो क्षेत्र र यहाँका जनताको आर्थिक समृद्धि र दिगो विकासका सवालमा हाम्रो उस्तै किसिमका दृष्टिकोण रहँदै आएका छन् । हाम्रो सहकार्यमा जनतालाई केन्द्रमा राखिएको छ र यो बहुआयामिक पनि छ । दुई देशका जनता बीचको सम्बन्ध कसैले इन्कार गर्न नसक्नेगरी जोडिएको छ, निकट छ । हामीमाझ यस्तो समय पनि आएको छ, जुन बेला केही निश्चित कुरामा हाम्रा दृष्टिकोणहरू भिन्न भएका हुनसक्छन्, जो यस किसिमको गहिरो र खँदिलो सम्बन्धमा अक्सर हुने गर्छ । तर हामीले यस्ता कुनै पनि असहमतिलाई संवेदनशीलता, सद्भाव र एकअर्काका महत्त्वपूर्ण सरोकारहरू राम्रोसँग बुझेर व्यवस्थापन गर्ने गरेका छौं । भारत–नेपाल सम्बन्धको इतिहासमा नै यस्ता घटना हुँदै आएका छन् । मेरो विचारमा, भारत–नेपाल सम्बन्धको वर्तमान अवस्था असाध्यै राम्रो छ र दुवै देशका सरकारहरू सम्पन्न जीवन जिउने हाम्रा जनताको बढ्दो आकांक्षाहरू पूरा गर्न दत्तचित्त भएर लाग्न प्रतिबद्ध छन् ।

नेपालमा तपार्इंलाई सन् २००६ मा सुरु भएको शान्ति प्रक्रिया लगायत नेपाल–भारत सम्बन्धका धेरै पाटाहरूसँग जानकार नेताका रूपमा लिइन्छ । नेपालको जारी राजनीतिक प्रक्रियालाई कसरी हेर्नुभएको छ ?

सन् २००६ मा शान्ति प्रक्रिया सुरु भएयता नेपालमा भएका घटनाक्रमहरूले मलाई उत्साही बनाएका छन् । सुदृढ बहुदलीय लोकतन्त्र, दिगो शान्ति र आर्थिक उन्नति तथा विकासका लागि नेपाली जनताले गरेका प्रयत्न र पाएका उपलब्धिहरूको म सराहना गर्छु । लोकतन्त्र, शान्ति र आर्थिक उन्नतिका क्षेत्रमा एउटा निकट मित्रका नाताले भारत नेपाली जनता र नेपाल सरकारको सफलताको कामना गर्छ ।

अब अझै सामयिक विषयहरूतर्फ जाऔं । जब नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बन्नुभयो, छरछिमेकमा पनि ठूलो उत्साह देखापरेको थियो । उहाँले आफ्नो शपथ ग्रहण समारोहमा सार्क देशका सरकार प्रमुखहरूलाई बोलाएर आफूले छिमेकीलाई प्राथमिकता दिने नीति लिएको संकेत पनि दिनुभयो । त्यसपछि उहाँले एक वर्षमा दुईपटक गरेको नेपालको भ्रमण र नेपालको संसद्मा गरेको सम्बोधनबाट समेत यहाँ ठूलो सद्भाव आर्जन गर्नुभयो । तर दुई वर्षपश्चात अहिले त्यो सुरुवाती उत्साह घटेको मात्र छैन, दुई देश बीचको सम्बन्धमा एक हदसम्मको अविश्वाससमेत बढेको छ । हामी यस्तो अवस्थामा कसरी आयौं ?

यदि मैले यी दुई वर्षमा भएका घटनाक्रमहरूलाई हेरेँ भने भारत र नेपाल बीचको सम्बन्ध अभिवृद्धिमा आशावादी हुनुपर्ने थुप्रै कारणहरू देख्छु । हाम्रा बीचमा सघन उच्चस्तरीय राजनीतिक भेटघाटहरू भएका छन् । यही अवधिमा विभिन्न क्षेत्रमा सहकार्य अगाडि बढाउनेगरी हाम्रा द्विपक्षीय संयन्त्रहरूले भेटघाट गरिरहेका छन् । यस बीचमा हामीले ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्‍यौं र भारतले नयाँ ट्रान्समिसन लाइनमार्फत नेपालतर्फ विद्युत आपूर्ति गर्न थालिसकेको छ । हाम्रो विकास सहकार्यका रूपमा दुईपक्षीय व्यापारको एउटा स्थिर मार्ग कायम भएको छ । हामीले भारत र नेपालबीच तेलको पाइप लाइन बिछ्याउने प्रक्रिया कार्यान्वयन गर्दैछौं, जुन दक्षिण एसियामै पहिलो सीमापार पाइप लाइनको निर्माण हुनेछ । दुईवटा जलविद्युत आयोजनाको परियोजना विकास सम्झौताहरूमा हस्ताक्षर भएको छ । हामीले पञ्चेश्वर विकास प्राधिकरण पनि स्थापना गरेका छौं, जसको नियमित रूपमा भइरहेका बैठकमा आयोजनाबारे छलफल भइरहेको छ । यद्यपि यो नै पूर्णरूपमा सन्तुष्ट हुने स्थिति भने होइन । किनभने मलाई लाग्छ, सहकार्यका विविध क्षेत्रमा यस्ता असीमित सम्भावनाहरू छन्, जसको हामीले उत्खनन गर्न बाँकी नै छ । ‘छिमेक प्राथमिकता’ नीतिको एउटा महत्त्वपूर्ण आयाम के हो भने यसले आपसमा जोडिने कुरालाई महत्त्व दिन्छ, चाहे त्यो भौतिक रूपमा जोडिने, डिजिटल्ली जोडिने, व्यापार र पारवहन सहजीकरण र विचारहरूको आदान—प्रदान नै किन नहोस् । यो दुई वर्षको अवधिमा हामीले यी सबै क्षेत्रमा प्रगति गरेका छौं । र हामी यसलाई अझ मजबुत बनाउन दृढ छौं । मलाई लाग्छ, यी अग्रगामी गतिविधिले हामीलाई एकअर्काप्रतिको धारणा बनाउन पनि सघाउनेछन् ।

दुवै देशहरूले जित्ने ‘विन–विन’ को अवस्थामा चाहिँ कसरी पुग्ने ?

मलाई लाग्छ, विभिन्न क्षेत्रमा दुई देशले गरिरहेका प्रयत्नहरूले दुवै देशका जनताको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएका छन् । यसलाई नै तपाई दुवै देशले जित्ने ‘विन–विन’को अवस्था भन्न सक्नुहुन्छ । भारतमा जारी आर्थिक रूपान्तरणले भारत र नेपालबीच सहकार्यका नयाँ अवसरहरू खोलेको छ । खासगरी हाम्रो खुला सिमाना र दुवै देशका नागरिकलाई समान व्यवहार गरिने भएकाले यसले अरू सम्भावनाहरूलाई खुला गरेको छ । नयाँ अवसरहरूले जनस्तरमा सम्बन्धलाई थप सुदृढ बनाउनेछ । वास्तवमा मानिसहरू अवसरलाई तुरुन्तै प्राप्त गर्न तयार छन् भन्ने कुराको साक्षी त भारतका विभिन्न स्थानमा छरिएर बसेका र काम गरिरहेका लाखौं नेपाली नागरिक नै हुन् । दुवै सरकारहरूले यी सम्भावनालाई सहज बनाइदिनुपर्छ, ताकि हाम्रो दुवैले जित्ने सहकार्य जारी रहोस् ।

नेपालको नयाँ संविधानबारे भारतको धारणा के हो ?

निकट छिमेकीको नाताले नेपालको शान्ति, स्थायित्व र प्रगतिमा हाम्रो चासो छ । हामीले आफ्नै अनुभवहरूबाट के सिकेका छौं भने शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै दिगो सामाजिक–आर्थिक विकास हासिल गर्न सकिन्छ, जहाँ समाजका सबै वर्ग र क्षेत्रलाई राजनीतिक प्रक्रिया र उपलब्धिहरूमा समान रूपमा सहभागी बनाइएको हुन्छ । लोकतन्त्र निर्माणको आफ्नै पथमा लम्किइरहेको नेपालले हामीले सिकेको यो पाठबाट लाभ लिनसक्छ ।

नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न भारतले अलि बढी नै गरेको, खासगरी साढे चार महिना लामो अघोषित सीमा नाकाबन्दी लगाएको विषयलाई लिएर नेपालभित्र र बाहिर पनि भारतको निकै आलोचना भयो नि ?

हाम्रो खुला सिमाना भएका कारण नेपालभित्र भएका घटनाक्रमको असर सीमापारि पनि पर्न सक्छ । तर के नबिर्सौं भने हाम्रो सम्बन्ध र सहकार्य पृथक किसिमको हो, जुन दुवै पक्षका जनताको सघन सम्पर्कद्वारा निर्देशित छ । भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ । यसकारण निकट मित्रका रूपमा हामी दिगो शान्ति र स्थायित्वका लागि गरिने हरेक प्रयासको स्वागत गर्छौं । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग र शुभेच्छा रहन्छ ।

धेरैको बुझाइमा नाकाबन्दीले नेपाली समाजलाई धु्रवीकृत गर्ने र भारतविरोधी भावना बढाउने काममात्रै गर्‍यो । भारतको राष्ट्रप्रमुखका रूपमा तपाईंले यो आलोचनाको कसरी जवाफ दिनुहुन्छ ?

भारतको ‘छिमेक प्राथमिकता’ नीतिको केन्द्रीय भाव वा दर्शन भनेको निकट सम्बन्ध र समृद्धिमा सहभागिता हो भन्ने मलाई लाग्छ । हाम्रो नेपालसँगको सम्बन्ध दुई देशको दीर्घकालीन हितमा आधारित हुनेछ । नेपाल र भारतले विकास, शान्ति, आर्थिक समृद्धि र जनताका भलाइका लागि सँगै मिलेर काम गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।

नेपाल–भारत सम्बन्धको अर्को असहज कुरा भनेको द्विपक्षीय व्यापारमा रहेको असन्तुलन हो । नेपालको मुख्य व्यापारिक साझेदार भारतसँग हाम्रो व्यापार घाटा ठूलो छ र यो बढ्ने क्रममा छ । द्विपक्षीय व्यापारको यो असन्तुलन रोक्न केही ठोस कदम चाल्न सकिएला ?

मलाई सधैं के लाग्छ भने जसरी नेपाल र भारत भूगोल र सभ्यताले जोडिएका छन्, त्यसरी नै हामीले नीतिहरू पनि त्यस्तो लिनुपर्छ, जसले संयुक्त लगानी, रोजगारी र राष्ट्रिय अर्थतन्त्रको विकासलाई बढावा दिन सकुन् । जसरी हामी द्विपक्षीय व्यापार र लगानी वृद्धि गर्न सक्षम भएका छौं, निश्चित रूपमा व्यापारिक सम्बन्धहरूलाई सहजीकरण गर्न पनि हामी सक्षम हुनेछौं । निजी क्षेत्रलाई उत्पादन र सेवा क्षेत्रमा आफ्ना व्यापारिक सम्बन्धहरू बढाउन, क्षेत्रीय आपूर्ति सञ्जालको विकास गर्न र भारतको आर्थिक वृद्धिबाट फाइदा लिन प्रेरित गरिनुपर्छ । बजारमा प्रवेश गर्दाका अवरोधहरूलाई हटाउने, व्यापार र संयुक्त लगानीलाई सहज बनाउन यसको मापन गरिरहनु पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो । यसका साथै जलविद्युत परियोजनाहरूको निर्माण र नेपाल—भारतबीच लगानीमा आउने बढोत्तरीले खालि व्यापार घाटालाई कम गर्नेमात्रै होइन कि नेपालमा ठूलो मात्रामा रोजगारी बढाउनेछ भन्ने हामीले विश्वास लिएका छौं ।

अहिले पनि नेपाल आफ्नो व्यापारका लागि भिडभाडयुक्त कोलकातारहल्दिया बन्दरगाहमा निर्भर छ । यद्यपि पछिल्लो समय विशाखापटनम बन्दरगाहलाई पनि प्रयोग गर्ने कुराहरू भएका छन् । नेपालको व्यापार र पारवहनका समस्या समाधान गर्न नयाँदिल्लीबाट नेपालले कस्तो भूमिकाको अपेक्षा राख्न सक्छ ?

विशाखापटनम बन्दरगाहमा रहेका सुविधाहरू नेपालमा सामानहरू ओसारपसार गर्न यसअघि नै उपलब्ध गराइसकिएको छ । भारतीय भूमि भएर नेपाल र बंगलादेशबीच मालसामान ओसारपसार गर्न सजिलो होस् भनेर हामीले नयाँ मापदण्डहरू पनि बनाएका छौं । नेपाली व्यापारीहरूले पक्कै पनि विशाखापटनम बन्दरगाहबाट पाइने सुविधाहरूको पुरा उपभोग गर्नेछन् । भारत–नेपाल सीमामा एकीकृत जाँचचौकी निर्माण गर्ने र रेल लाइन जोड्ने योजनाहरू पनि छन् । हामीलाई आशा छ, दुवै देशका जनतालाई फाइदा हुने जलविद्युत परियोजना, एकीकृत जाँचचौकी र रेलवे लाइनका लागि जमिन अधिग्रहण र अन्य आवश्यक कामहरू यथाशीघ्र सम्पन्न हुनेछन् ।

नेपालमा एउटा बलियो धारणा के छ भने भारतले नेपाललाई आफ्नो सुरक्षा चासोसँग जोडेर मात्र हेर्ने गर्छ । भारतको यस्तो सोचले गर्दा नेपालको व्यापार प्रबद्र्धन, कनेक्टिभिटी र अरू थुप्रै कुराहरूमा बाधा पुगेको छ भन्ने धारणा छ । निकट भविष्यमा यसमा कुनै परिवर्तन आउने तपाईं देख्नुहुन्छ ?

निश्चय पनि भारतका केही स्वार्थहरू छन् । तर साथै यी स्वार्थहरू नेपालका स्वार्थसँग पनि मिल्छन् । हामी आपसी रुचि र स्वार्थको तालमेलअनुसार निर्देशित हुने गर्छौं । यो बहुआयामिक अवधारणा हो । नेपालको शान्ति र स्थायित्व भारतका लागि जति महत्त्वपूर्ण छ, सामाजिक–आर्थिक विकास पनि कम महत्त्वपूर्ण छैन । यदि तपाईं सन् १९५० देखि नेपालको पूर्वाधार विकासमा भारतको योगदानलाई हेर्नुहुन्छ भने तपाईं स्वतस् भारत नेपालमा लगानी गर्ने सबभन्दा ठूलो लगानीकर्ता र व्यापारिक साझेदार मात्रै होइन, सबभन्दा ठूलो पूर्वाधार विकास साझेदार पनि हो भन्ने निष्कर्षमा पुग्नु हुनेछ । विकास र आर्थिक परियोजनाहरू जस्ता व्यापार, लगानी र मानिसहरूको आवत—जावतलाई सहज बनाउने कुराहरूमा भारत नेपालसँगै अघि बढ्न प्रतिबद्ध छ ।

आपसी व्यापार, पारवहन र लगानीको क्षेत्रमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य हुनुपर्नेमा नेपालका सरकारहरूले जोड दिँदै आएका छन् । चिनियाँ नेतृत्वले यसप्रति समर्थन जनाएको छ । तर नयाँदिल्लीले भने यसमा असहमति राखेजस्तो देखिन्छ । यसबारे भारतको धारणा के हो रु यदि असहमतिहरू छन् भने ती के हुन् ?

नेपालसँग भारतको धेरै पुरानो, बहुआयामिक तथा समयसँगै बलियो बन्दै गएको सम्बन्ध छ । नेपालसँग हाम्रो निकटताका केही आफ्नै प्राकृतिक तर्कहरू छन्, कारणहरू छन् । खुला सीमा यसको सबभन्दा ठूलो विशेषता हो । नेपाली जनताको भलो गर्ने, आर्थिक विकासलाई बढावा दिने र दुवै देशलाई फाइदा पुग्ने कुनै पनि विचारप्रति हामी खुला छौं ।

सार्क मुख्यालय काठमाडौंमै छ र नेपाल–भारत दुवैले लामो समयदेखि सार्कको पक्षपोषण गर्दै आएका छन् । तर अहिले आएर भारतले सार्कको सट्टा बिमस्टेक र बीबीआईएन जस्ता वैकल्पिक क्षेत्रीय फोरमहरूलाई बढी प्राथमिकता दिन थालेजस्तो देखिन्छ । यसले सार्कलाई कहाँ पुर्‍याउँछ ?

भारतले सार्कको खाकाभित्र रहेर सहकार्यलाई प्राथमिकता दिन्छ । तर आतंकको वातावरणमा कुनै पनि सहकार्य सम्भव हुँदैन । यसका साथै हामी कुनै पनि क्षेत्रीय वा उपक्षेत्रीय सहयोग संगठनहरूका बीच प्रतिस्पर्धाजस्तो कुनै कुरा देख्दैनौं । यसमा प्रतिस्पर्धाको कुनै गुञ्जायस छैन, हाम्रो सामाजिक–आर्थिक विकासका लागि कुन क्षेत्रीय वा उपक्षेत्रीय संगठन सहायक सिद्ध हुन्छ, त्यसै अन्तर्गत काम गर्न सकिन्छ । हाम्रो उद्देश्य भनेको तीव्र आर्थिक वृद्धि र विकास हो । यसमा हामी कुनै पनि सूत्र वा प्रक्रियामा फँसेर अड्किन चाहँदैनौं ।

आफ्नो भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धबारे तपाईं हाम्रा पाठकहरूलाई कुनै सन्देश दिन चाहनुहुन्छ ?

तिहार र छठजस्ता चाडपर्वको समयमा नेपालको भ्रमण गर्न पाउँदा म निकै हर्षित छु । भारतले नेपालसँगको सम्बन्धलाई सदैव उच्च महत्त्व दिँदै आएको छ । एकअर्काको उन्नति र समृद्धिमा दुवै देशको महत्त्वपूर्ण भूमिका रहेको छ । नेपालसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन भारत प्रतिबद्ध छ । साथै हाम्रो द्विपक्षीय सम्बन्धका सबै आयामहरूमा सहयोग गर्न पनि तत्पर छ । दुई सार्वभौम मुलुकका रूपमा हामी यो सम्बन्धलाई आपसी विश्वासका आधारमा अघि बढाउन चाहन्छौं, जसको फाइदा दुवै देशलाई पुगोस् । साथै भारत नेपाली जनतालाई सधैं स्वागत गर्ने थलोका रूपमा रहनेछ ।

इ — कान्तिपुरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com