जनसंख्याभित्रको प्राथमिकतामा महिलाः प्रधानमन्त्री ओली
प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याभित्रको प्राथमिकतामा महिला, बालबालिका, अपांगता भएका र अशक्त मानिस रहेको बताएका छन् ।
११ औ गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गास, बास, कपास स्वास्थ्य र सुरक्षा विकासको बिन्दु रहेको बताए ।
गणतन्त्रमा महिलाहरु पनि सक्षम भइसकेका बताउँदै उनले दलित, गरीब अपांग, अल्पसख्यक समुदायको लागि सरकारले विशेष कदम चालिरहेको बताए ।
गणतन्त्र प्राप्तीका लागि सबै नेपालीको भूमिका उत्तिकै रहेको बताउँदै ओलीले यसमा महिलाको पनि ठूलो भूमिका रहेको बताए ।
उनले भने, ‘गणतन्त्र नेपाली जनताको विजयको प्रतीक हो । त्यसैले आज हामीले मनाइरहेको विजयोत्सव हामी सम्पूर्ण नेपालीको उत्सव हो ।’
‘गणतन्त्र केवल राजनीतिक विषय मात्र नभइ, समग्र सामाजिक रूपान्तरणको विषय पनि हो । त्यसैले हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो’ ओलीले भने ।
आजको दिन नेपाली जनताको दशकौंदेखिको सपना पूरा भएको दिन भएकाले विकास, समृद्धि, सुशासन एवम् स्थिरता अबको गन्तव्य रहेको ओलीले बताए ।