नगरपालिकाले थाल्यो त्रियुगा सभ्यताको काम


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

उज्यालो शहर समृद्ध नगर अभियानअन्तर्गत त्रियुगा उपत्यकाका लागि अहिलेसम्म ‘अभिशाप’ बन्दै आएको त्रियुगा नदीबाट समृद्धिको काम थाल्ने भएको छ । उक्त नदीलाई बहुउपयोगी बनाउन त्रियुगा नगरपालिकाले गुरुयोजना तयार गरीे काम शुरु गर्न लागेको हो ।

नदीको दिगो व्यवस्थापन गर्दै अभिशापलाई ‘बरदान’ साबित गर्ने उद्देश्यले त्रियुगा सभ्यताको विकास तथा बरुवा बेलदोभान एकीकृत विकास परियोजना थालिएको नगरपालिकाले जनाएको छ । सो परियोजनामा उक्त नगरपालिका–७ स्थित कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका–२ स्थित सप्तकोशी दोभानसम्म करीब ४२ किलोमिटर लामो क्षेत्रलाई समेटिएको छ ।

बरुवा र त्रियुगा नदीमा वर्षेनी आउने बाढीले खेतीयोग्य जमिन कटान गर्नाका साथै व्यापक जनधनको क्षति गर्दै आएको सो नदीको दिगो र भरपर्दो व्यवस्थापन गर्न नगरपालिकाले त्रियुगा सभ्यताको विकास तथा बरुवा बेलदोभान एकीकृत विकास परियोजना नाम दिएर नदी व्यवस्थित गर्ने काम अघि बढाएको होे ।स्थानीयवासीको हित अनुकूल नदी व्यवस्थित गरेर बहुउपयोगी गराउन सरोकारवाला र स्थानीयवासीको प्रत्यक्ष सहभागितामा परियोजना सञ्चालन गर्न लागेको नगरपालिकाका प्रमुख बलदेव चौधरीले जानकारी दिनुभयो ।

स्थानीयवासीको प्रत्यक्ष संलग्नतामा नदीको संरक्षण, कटान रोकथाम, उपयोगिता र यसको सभ्यताबारे लामो बहसपछि परियोजना सञ्चालन गर्न लागिएको हो । नदीको ऐतिहासिक पृष्ठभूमि र यसबाट हुने फाइदा र हानिबारे स्वयं नगरवासीबाट सुझाव र धारणा संकलन गरेर गुरुयोजनो कार्यान्वयन गराउन नगरपालिकाले वडा–वडामा बहस पनि गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रियुगाको शिरदेखि तिर दोभानसम्मको ४२ किलोमिटर दूरीमा दुवैतर्फ जैविक प्रविधिको बाँध बाँध्दै सिँचाइ, विद्युत् र खानेपानी सुविधाजस्ता बहुउपयोगी उपलब्धि हासिल गर्न गुरुयोजना बनाएर काम थालिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । यसो गर्दा नदी व्यवस्थित हुनाका साथै दिगो रुपमा फाइदा लिन सकिने र नियन्त्रण हुनेहुँदा हानि कसैलाई नहुने गुरुयोजनाले निर्दिष्ट गरेको छ ।

उक्त नगरपालिका–७ को कालीखोला तोरीबारीदेखि बेलका नगरपालिका– २ सप्तकोशीसम्म ४२ किलोमिटर दूरीमा दायाँबायाँ बाँध बाँधेर चुरेबाट आउने खहरे नियन्त्रण गरी त्यसको पानी संकलन गरिने, सो दूरीभित्र बाँधसँगै किनारै किनार सडक बनाउने, २७ वटा पुल बनाउने जानकारी नगरप्रमुख चौधरीले बताउनुभयो । नदीले वर्षेनी बालुवा ल्याएर थुपार्ने गरेका कारण उजाड देखिएको बगर व्यवस्थापन गर्न सके कम्तीमा दुई हजार २०० देखि बढीमा १० हजार हेक्टरसम्म नदी उकासबाट खाली जमिन निस्कने उहाँको भनाइ थियो ।

नदी उकासबाट निस्कने जग्गाको भू–उपयोग गर्दै त्रियुगा तटलाई कृषि, पर्यटन, आवास र विमानस्थल बनाउन प्रयोग गर्ने योजना पनि अघि बढाइने तयारी भइरहेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । गुरुयोजनाअनुरुप त्रियुगाको दुवै किनारामा पाँच मिटरको कालोपत्रे सडक निर्माण हुने नदी किरानामा सोलार प्लान्ट निर्माण गरी १०० मेगावाट विद्युत् उत्पादन गरिने भएको छ ।

सो परियोजनाका लागि छिमेकी मित्रराष्ट्र चीनका प्रतिष्ठित कम्पनी जेन्चु ग्रुपका अध्यक्ष कसहियोङले लगानी गर्ने भएको छ । नगरपालिका क्षेत्रमा परियोजनाका लागि एभरेष्ट र इटिटिआर ग्रुप गरी दुवै समूहले बाटो , योजनाबद्ध कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा लगानी गर्ने जनाएको छ ।

अनमोल मल्टी प्रपोज कम्पनी जोइन्ट भेन्चरको सहयोगमा थ्री पिपीको नामुनाबमोजिम विकास गर्न लागिएको हो । सो कम्पनीले पहिलो चरणमा १५ मेगावाटको सोलार हाइड्रो पावर स्थापना गर्ने र पछि १०० मेगावाट सम्म विस्तार गरिने भएको । यसका लागि करीब रु तीन खर्ब लाग्ने अनुमान गरिएको छ ।
सो परियोजनाका लागि छिमेकी राष्ट्र चीनको प्राइभेट कम्पनीका जेन्चु गु्रपको अध्यक्षसेङ्युङको नेतृत्वमो २७ सदस्यीय टोली गाईघाट आइपुगेका छन् ।

उक्त नगरपालिकाले विद्युत्भार कटौती मुक्त शहर बनाएर सो परियोजनामार्फत यहाँका जनतालाई प्रत्यक्ष रोजगारी सिर्जना गरी एक घर एकजनालाई रोजगार दिने उद्देश्य रहेको नगर प्रमुख चौधरीको भनाइ थियो ।
थारुको जातीय र परम्परागत सम्पदासँग त्रियुगाको भावनात्मक सम्बन्ध रहेको भन्दै उपप्रमुख देवीकुमारी चौधरीले नदी व्यवस्थापन गर्दा स्थानीय थारु र दनुवार पहिचानसमेत बचाउन सकिने बताउनुभयो । प्राकृतिक सम्पदा मानव अतिक्रणको चपेटामा परेकै कारण त्रियुगाले वर्षेनी क्षति गरेकाले यसको रोकथाम र संरक्षणमा नगरवासीको सहभागिताको खाँचो औँल्याउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com