रोगमा पनि विभेदः महिलालाई अंग पाउनै मुस्किल


प्रकाशित मिति : जेष्ठ १५, २०७५ मंगलबार

 

भक्तपुरको कमल बिनायक नगरपालिकाकी २७ वर्षीया तनिसा मानन्धरका दुवै मृगौला फेल भएका छन् । ५ वर्ष पहिले नै मृगौला फेल भएको थाहा भए पनि उनले अहिलेसम्म मृगौला दिने मान्छे फेला पार्न सकेकी छैनन् ।

मृगौला दिन तयार भएकी आमा थाइराइड र बुबा उच्च रक्तचापको बिरामी हुन् । त्यसका कारण आमाबुबा दुवैले चाहेर पनि मृगौला दिन सक्दैनन् ।  तनिसाका दुई दिदीहरू छन् । उनीहरूको विहे भइसकेको छ । ‘विहे भइसकेका दिदीहरू आफैले म मृगौला दिन्छु भन्दैनन् । मैले माग्न सक्दिन’ तनिसाले भनिन् ।

तनिसाका भाइ विनोद मानन्धर भने दिदीलाई मृगौला दिन तयार छन् । तर भाइबाट मृगौला लिन तनिसा मानिरहेकी छैनन् । कारण बारे प्रष्ट्याउँदै तनिसाले भनिन्, ‘हामी तीन दिदीबहिनीको एक्लो भाइ । उसको ज्यानमा तलमाथि भएको खण्डमा म हेर्न सक्दिन । बरु मर्न तयार छु, उसको मृगौला लिन्न ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू दिदीको ज्यान जोगाउनका लागि मृगौला दिन तयार भए पनि आफ्नो मृगौला प्रत्यारोपणका लागि परिवारमा कोही राजी नभएको विनोदले बताए ।

तनिसा अहिले हप्ताको २ पटक मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलासिस गरिरहेकी छन् । मृगौला दिने दाता फेला पार्न नसकेका कारण जीवन आज हो कि भोली सोच्नुको विकल्प नरहेको तनिसा बताउँछिन् ।

सुनसरीको इनरुवा गाउँपालिका ९ कि २७ वर्षीया सुनिता चौधरीका दुवै मृगौला फेल भएको कुरा गएको पुस महिनामा पत्ता लाग्यो ।
हप्तामा ३ पटक मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा डाइलासिस गराउदै आएकी उनलाई अहिले बल्ल तल्ल आमा मृगौला दिन तयार भएकी छिन् ।

सुनिताका दाइ रमेश चौधरी बहिनीलाई मृगौला दिन तयार भए । तर उनकी आमा छेदनी चौधरी यो कुरामा सहमत भइनन् । एक्लै छोरा भएका कारण उनीबाट मृगौला लिन नसकिने कुरामा उनले अड्डी कसिन् ।

आफू पनि छोरीलाई मृगौला नदिने अनि छोरालाई पनि दिन मिल्दैन भन्ने छेदनी बरु छोरीलाई उल्टै गाली गर्न थालिन् । ‘तँलाई हाम्ले मृगौला दिएर किन बचाउनु पर्यो र ? विष खाएर मर्न सक्दिनस् भन्दै दिनरात गाली गर्नु भो’ सुनिताले भनिन्, आफ्नै जन्म दिने आमाको कचकचले आत्महत्या गर्ने सोच पनि आयो ।

सुनिताले भनिन्, ‘म छोरा भएको भए आमाले सजिलै आफ्नो मृगौला दिन्थिन् । छोरी भएका कारण बिरामी हुँदा पनि झुण्डिएर मर । बिष खाएर मर भन्छिन् । मर्न सकेको भए त हुन्थ्यो । आत्महत्या पनि गर्न सक्दिन ।’

मृगौला दिन तयार भएका दाइलाई आमा र दिदीले गाली गरेको सुनिताले बताइन् । आफैले जन्माएका छोराछोरी बीच आमाले गरेको विभेदप्रति सुनिताले निकै मन दुखाइन् ।

बहिनीलाई मृगौला दिन्छु, मर्न दिन्न भन्दै आफूले जिद्दी गरेपछि आमा छेदनी अहिले ‘तैले दिनु भन्दा त बरु म आफै दिन्छु’ भनेर मन नभई नभई बहिनीलाई मृगौला दिन तयार भएको रमेशले बताए ।

ताप्लेजुङ्की मनमाया राई मृगौला दिने मान्छे नपाउँदा अस्पतालमा छट्पटाइ रहेकी छन् । ६१ वर्षीया राईको २०७४ साल कार्तिकमा मृगौला फेल भएको थाहा भयो ।

४ छोरा र २ छोरीकी आमा राईलाई मृगौला दिन छोरा पनि तयार छैनन् । विहे भइसकेका छोरीहरूलाई भने मृगौला माग्न नसकेको मनमायका श्रीमान डम्बर राईले बताए ।

   मनमाया राई

श्रीमानको उमेर ७१ वर्ष भएकाले उनले मृगौला दिन मिल्दैन । उनका एक छोरा इन्डियन आर्मीमा छन् भने अर्का छोरा नेपाल आर्मीमा कार्यरत छन् ।

आफ्ना लागि मृगौला दिन दुवै छोरा तयार नहुँदा आफन्त, नातागोता सबैसँग मृर्गौलाका लागि धाउँदा पनि अहिलेसम्म कोही तयार नभएको मनमायाका श्रीमान डम्बर राईले बताए ।

सिन्धुपाल्चोककी ३१ वर्षीया रीता भण्डारीले जेठ २ गते श्रीमानलाई आफ्नो मृगौला झिकेर दिइन् । श्रीमान ३६ वर्षीय भिमसेन खड्काका दुवै मृगौला फेल भएपछि रीताले आफ्नो मृगौला दिएको बताइन । १ छोरा १ छोरीकी आमा रीताले श्रीमानलाई आफू सँगसँगै बचाउने आसाले मृगौला दिएको सुनाइन् ।

रीताले भनिन्, ‘यो त एउटा मृगौलाको कुरा हो । आवश्यक परे मुटु नै झिकेर दिन्छु उहाँलाई ।’ रीताले श्रीमानको जीवनप्रतिको प्रेम प्रकट गरिन् ।  ‘मृगौला बाँडेर राखे जस्तै भएको छ । जतिसम्म म बाँच्छु, त्यति नै उहाँ पनि बाँचेको देख्न पाए हुन्थ्यो’ उनले सुनाइन् ।

                                                         रीता भण्डारी

नुवाकोटको बिदुर नगरपालिका १ का राजेन्द्र महर्जनले पनि गएको हप्ता मृगौला प्रत्यारोपण गराए ।  ५१ वर्षका महर्जनलाई पनि उनकी श्रीमती ४१ वर्षीया कृष्णमाया महर्जनले नै मृगौला दिइन् । आफ्नो मृगौला फेल भएको थाहा पाउनेवित्तिकै श्रीमती नै मृगौला दिन तम्तयार भएपछि अरुसँग भन्नै नपरेको उनले बताए ।

श्रीमान र छोरालाई जस्तोसुकै रोग लागेमा अथवा अंग नै किन्नुपर्ने भएमा परिवारले खुसीराजी भइ उपचार गर्छन् । तर, छोरी, श्रीमती, बुहारी बिरामी हुँदा बाध्यताले मात्रै उपचार गराउने गरेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका प्रत्यारोपण संयोजक सोजता कार्की बताउँछिन् ।

उनी भन्छिन, ‘पुरुषलाइ मृगौला पाउन गाह्रो हुँदैन । घरपरिवारका आमा, बहिनी, श्रीमती सबै तयार हुन्छन् । आफ्नै परिवारबाट नभए नातागोताको तर्फबाट पनि पुरुषले सजिलै मृगौला पाउने गर्छन । तर महिलालाई श्रीमान नै तयार हुँदैनन् ।’

श्रीमतीलाई अंग दान गर्नुभन्दा अर्को बिहे गरेर बस्न तयार हुने श्रीमानलाई भेट्दा भने निकै दुःख लाग्ने गरेको कार्कीले बताइन् । अस्पतालमा आउने प्राय मृगौला पिडीत महिलाका श्रीमानले यस्तै व्यवहार गर्ने गरेको उनले अनुभव सुनाइन् ।

‘श्रीमती आफ्नो श्रीमान, छोराका लागि आफ्नो शरीरको महत्वपुर्ण अंग दिन पनि तयार हुन्छन् भने पुरुष आफ्नो अंग सजिलैसँग दिन मान्दैनन्’ उनले भनिन् ।

कसले कसले गर्न पाउँछन्, अंग लिन र दिन ?

कानूनले भने परिवारका जो सुकैले पनि अंग लिन र दिन सक्ने व्यवस्था सुरक्षित गरेको छ ।

मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०७२ अनुसार अंग ग्रहण गर्ने व्यक्तीको पति, पत्नी, छोरा, छोरी, धमपुत्र वा धमपुत्री,बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातीनी, दाजु, भाई, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फुपु, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान सम्झनुपर्छ । तर धर्मपुत्र, धमपुत्री, राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुइ बर्षदेखि अटुट रुपमा नाता सम्बन्ध कायम रहि आएको हुनुपर्ने छ ।

यस्तै आपसी साटासाट, दुई वा दुई भन्दा बढी परिवारबिच मस्तिष्क मृत्यु भएका व्यक्तीको अंगदानबाट हुने प्रत्यारोपण गर्न सक्ने कानूनी प्रावधान रहेको छ ।

पहिलेको कानूनलाई संसोधन गरि फराकिलो भए पनि महिलालाई भने उस्तै समस्या रहेको पाइएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा २०५९ साल असारबाट अंग प्रत्यारोपण कार्य सुरु भएको हो । अहिलेसम्म ४ सय ४४ जनाको अंग प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ ।

अंगदाता महिला बढी

मृगौला दान गर्नेमा १ सय ३५ पुरुष र ३ सय ७ जना महिला रहेका छन् भने । प्रत्यारोपण गर्नेमा ३ सय ४५ पुरुष र ९७ महिला रहेका छन् । यस्तै मृत्युवरण गरिसकेका २ जनाबाट झिकिएको मृगौला पनि २ जना पुरुषलाई नै प्रत्यारोपण गरिएको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले जनाएको छ ।

अंग दान गर्नेमा पुरुष भन्दा महिलाको सख्या किन बढी भयो होला ? भन्ने प्रश्नमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ भन्छन्, ‘महिला त्यागी र दयालु हुन्छन् ।

डाक्टर पुकार चन्द्र श्रेष्ठ

उनलाई सबैभन्दा ठूलो आफ्नो श्रीमान, छोरा र परिवार हो भन्ने लाग्छ र उनी आफ्नो परिवारमा आएको समस्यालाई समाधान गर्न आफ्नो ज्यानै दिन तयार हुन्छन् । यसैकारण महिलाको संख्या धेरै भएको हो ।’

पुरुष आफैमा जिम्मेवार व्यक्ती ठान्छ । घरको जिम्मेवार व्यक्ती बन्नु पर्र्दा कमजोर भइन्छ भन्ने मानसिक सोच पुरुषमा हुन्छ । त्यसैले पनि पुरुष आफ्नो अंग दिन तयार नहुने डाक्टर श्रेष्ठको भनाइ छ । परिवार भित्रैबाट छोराछोरीबिच भेदभाव हुने गरेको उनले बताए ।

छोरीलाई समस्या हुँदा खर्चिलो भन्दै उपचार समेत नगर्नेे र छोरालाइ समस्या हुँदा आमा, दिदी, श्रीमती सबै खर्च गर्न तयार हुने गरेको डाक्टर श्रेष्ठको भनाइ छ ।

अंग दान गर्नेमा महिलामात्रै बढी हुँदा पुरुष दाता बढाउन मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । नेपालका विभिन्न जिल्लामा गएर अंग दान गर्ने सम्बन्धी सचेतना दिइरहेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले पुरुषले आफ्नो अंग दान गरेमा प्रोत्साहन स्वरुप ५० हजार दिने कार्यक्रम २ वर्षसम्म सञ्चालन गरेको थियो ।

डाक्टर श्रेष्ठका अनुसार यस्ता कार्यक्रम सञ्चालन भइसकेपछि पहिलेको भन्दा अहिले केहि मात्रामा भए पनि पुरुष दाताको सख्या पनि बिस्तारै बढेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com