संचारकर्म संगीतहुँदै सामाजिक कार्यमा चम्किदै दिब्यज्योति


प्रकाशित मिति : कार्तिक १४, २०७३ आईतबार

उनको रुची थियो सांगितिक क्षेत्रमा तर भइन् संचारकर्मी । उनको रगतमै थियो गीत संगित तर समयले बनायो पत्रकार । पेशाले पत्रकार भएपनि अहिले भने सांगितिक आकाशमा समेत चम्किदै छिन् दिब्यज्योति । ‘संचारकर्मी दिब्यज्योति’लाई अचेल धेरैले ‘गायक दिब्यज्योति’का रुपमा चिन्न थालेका छन् ।

डडेल्धुरा जिल्लाको बगरकोट ९ मा पिता रुपसिंह बिष्ट र माता कल्पना बिष्टकी छोरीका रुपमा जन्मेकी दिब्यज्योतिको बच्चैदेखि गीत संगितमा रुची थियो । १० कक्षासम्म बैजनाथ माध्यामिक विद्यालय कञ्चनपुरमा पढेकी उनले विद्यालयमा पढ्दा पनि विभिन्न सांगितिक प्रतियोगिताहरुमा भाग लिन्थिन् । सानोतिना पुरस्कारहरु पनि हात पार्थिन् ।

बुबाले पनि गीत गाउने भएकाले दिब्यज्योतिमा गीतसंगितप्रति अझ रुची बढेको थियो । उनी जन्मुअगाडि नै बुबाले रेडियो नेपालमा भ्वाइस टेस्ट दिएर पास गर्नुभएको थियो । त्यसैले आफ्नो रुची र क्षमता बंशानुगत भएको ठान्छिन् उनी । बाल्यकालका दिन सम्झिदै दिब्यज्योति भन्छिन् — म्युजिकमा बच्चैदेखि रुची र रहर थियो । त्यसैले विद्यालयका हुने प्राय प्रतियोगिताहरुमा भाग लिन्थें । पुरस्कार जित्दा अत्यन्तै खुशी लाग्थ्यो । गायिका नै हुन्छु जस्तो लागेको थियो तर भइयो पत्रकार ।

बुबा सरकारी जागिरे । जागिरमा व्यस्त हुनुपर्ने बाध्यताले उहाँ गीत संगीतमा लाग्न पाउनुभएन । तर रुची भने तीब्र थियो । त्यसैले त्यो बेलामा पनि डडेल्धुराबाट काठमाडौं आएर रेडियो नेपालमा भ्वाइस टेस्ट दिनुभएको थियो बुबाले । तर उहाँले गीत संगितमा मौका पाउनुभएन । त्यसैले उहाँको कला त्यत्तिकै  मर्यो । तर दिब्यज्योतिले भने आफ्नो त्यो बंशानुगत कला मर्न दिइनन् । उनी भन्छिन् — ‘बाध्यताले बुबाको कला मर्यो । तर मैले मौका पाएकाले मभित्रको कला मार्न उचित ठानिन । बुबाले गाउनुपर्छ भनेर नसिएकाएपनि त्यो कला ममा बुबाबाटै सरेको हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल वान टेलिभिजनमा कार्यरत रहँदा दिब्यज्योति ।
नेपाल वान टेलिभिजनमा कार्यरत रहँदा दिब्यज्योति ।

मामाघर काठमाडौंमा भएकाले दिब्यज्योतिलाई काठमाडौंमा आएर पढाईलाई निरन्तरता दिन सजिलो भयो । काठमाडौं आइसकेपछि उनले पद्मकन्यामा पढ्न थालिन् । पढ्ने क्रममा पनि उनको रुची गीत संगितमा नै थियो । तर त्यही समयमा नेपाल वान टेलिभिजनले समाचारवाचिकाका लागि काठमाडौंमा स्क्रीन टेस्ट लिइरहेको थियो । दिब्यज्योति पनि टेस्ट दिन गइन् । उनको भिडियो खिचियो । त्यो भिडियो हेरेपछि नलिनी सिंहले दिब्यज्योतिलाई समाचारवाचिकाका रुपमा राख्ने निर्णय गरिन् । त्यसपछि गायिका बन्ने सपना बोकिरहेकी दिब्यज्योति पुगिन् समाचारबाचिका बनेर दिल्ली ।

दिल्ली पुगेर उनले नेपाल वान टेलिभिजनमा समाचारबाचिकाका रुपमा काम गर्न थालिन् । समाचार पढ्दा पनि उनलाई गाउन नपाएकोमा जीवनको महत्वपूर्ण रुची र पाटो छुटिरहेको अनुभव भइरहेको थियो । उनी भन्छिन् — ‘म्युजिकमा रुची भएपनि नेपाल वान टेलिभिजनमा समाचार वाचिकाको काम पाउँदा त्यसलाई मैले गुमाउन चाहिन । अचानक संचारकर्मीका रुपमा करिअर सुरु भयो ।’

भर्खरै बजारमा आएको एल्बम सान्निध्यको कभर ।
भर्खरै बजारमा आएको एल्बम सान्निध्यको कभर ।

२००४ मा नेपाल वान टेलिभिजनमा समाचारवाचिका र कार्यक्रम संचालिकाका रुपमा प्रवेश गरेकी दिब्यज्योतिले सन् २००७ सम्म त्यहाँ काम गरिन् । त्यसपछि नेपाल फर्केनी उनले झण्डै एकबर्ष हिमालय टाइम्स दैनिकमा काम गरिन् । युकेको नेपाली टिभीमा डेढबर्ष समाचार वाचिकाका रुपमा काम गरेकी दिब्यज्योतिले सन् २००८ बाट एबीसी टेलिभिजनमा काम गर्न थालिन् । हाल पनि उनी एबीसीमा नै आबद्ध छिन् ।

नेपाल आइसकेपछि दिब्यज्योतिले गीतसंगितमा लाग्ने रहर तत्काल पूरा गर्न चाहेकी थिइन् । गीतसंगितका साथी संगितकार सुदाम थापासमक्ष उनले आफ्नो योजना सुनाइन् । तर सुदामले हचुवाका भरमा त्यतिकै गीत नगाउन सुझाव दिए । सुदामले आफ्नी पत्नी तथा गायिका सिन्धुमल्लका गुरु चन्दनकुमार श्रेष्ठसँग संगित सिक्न सुझाव दिए । त्यसपछि दिब्यज्योतिले संचारकर्मीको आफ्नो पेशालाई निरन्तरता दिंदै चन्दनकुमार श्रेष्ठसँग संगित सिक्न थालिन् । अहिले उनको संगीतमा आठौंबर्ष चलिरहेको छ ।

लोकजननीमार्फत सामाजिक कार्यमा दिब्यज्योति ।
लोकजननीमार्फत सामाजिक कार्यमा दिब्यज्योति ।

दिब्यज्योति भन्छिन् — ‘मैले हचुवाका आधारमा गीत संगितप्रतिको आफ्नो रुची पूरा गर्ने योजना बनाएकी थिएँ । तर संगीत सिक्न थालेपछि संगीतको लागि साधना चाहिने रहेछ भन्ने कुराको अनुभव भयो । मैले त्यतीबेला हतारमा गीत ननिकालेर ठीक गरेछु भन्ने अनुभव संगित सिकेपछि भयो ।’

संगित सिक्न थालेको झण्डै चारबर्षपछि दिब्यज्योतिले सन् २०११ म पागल बनायौं प्रिय बोलको गीत गाइन्, शिव परियारको संगितमा । केशव आचार्यको शब्द रहेको उनको त्यो गीतले उनलाई गायिकाको परिचय दियो । पछि उनले त्यो गीतको म्युजिक भिडियो समेत निकालिन् । त्यसपछि उनलाई दुईवटा फिल्म ‘देशभक्त सिपाही’ र विधवामा गीत गाउने अफर आयो । चलचित्र विधवामा उनले टाइटल गीत नै गाइन् ।

अहिलेसम्म दिब्यज्योतिले २ दर्जन भन्दा धेरै गीत गाइसकेकी छिन् भने आधा दर्जन गीतका भिडियो पनि आइसकेका छन् । नेपालको सांगितिक क्षेत्रमा फरक पहिचान बन्दै गएको छ दिब्यज्योतिको । यही क्रममा हालै उनको एकल गीति एल्बम सान्निध्य बजारमा आएको छ । आधुनिक गीतहरुको उनको यो एकल एल्बममा संगीत उनकै गुरु चन्दनकुमार श्रेष्ठको रहेको छ ।

एबीसी टेलिभिजनमा कार्यरत रहँदा दिब्यज्योति ।
एबीसी टेलिभिजनमा कार्यरत रहँदा दिब्यज्योति ।

गुरुकै संगीतमा गीति एल्बम निकाल्न पाएकोमा निकै खुशी छिन् दिब्यज्योति । आफ्ना गीतहरुले एल्बमको रुप पाउनुमा गुरुकै देन रहेको उनको भनाई छ । जिनियस डिजिटल म्युजिकले बजारमा ल्याएको यो एल्बममा पाँचवटा गीतहरु रहेका छन् । जसमध्ये तीनवटा गीत दुर्गालाल श्रेष्ठले, एउटा कुमार विवाहितले र एउटा गीता त्रिपाठीले लेखेकी हुन् । दिब्यज्योति भन्छिन् — ‘एउटामात्रै गीत गर्ने कुरा थियो । तर गाउँदा गाउँदै पाँचवटा भए । अनि एल्बम निकालियो ।’

एल्बम निकालेपछि अहिले दिब्यज्योतिलाई विभिन्न संचारमाध्यममा अन्तरवार्ताका लागि भ्याईनभ्याई छ । विभिन्न राष्ट्रिय संचारमाध्यममा छाएकी छिन् उनी र उनको सान्निध्य । सान्निध्यको चर्चाबाट हौसिएकी उनले केहीसमयभित्रै गीतको भिडियो पनि निकाल्ने तयारी गरिरहेकी छिन् । नेपालमा बिभिन्न कार्यक्रमहरुमा समेत पुगेर गाउन थालेकी छिन् उनले । तर पनि पेशागत रुपमा भने अगाडि बढ्ने उनको सोंच छैन । उनी भन्छिन् — ‘बुबाले संगीतलाई साधनाका रुपमा लिन र संगीतलाई पूजा गर्न सुझाव दिनुहुन्छ । मलाई पनि त्यही नै लाग्छ । म संगितलाई साधनाका रुपमा लिन्छु र पूजा गर्छु । तर करिअर भने संचारक्षेत्रमा नै कायम राख्नेछु । गीत संगितलाई पहिले रहरका रुपमा लिएकी थिएँ, अहिले यसबाट आत्मसन्तुष्टी मिलेको छ ।’

फोटोशेसनका क्रममा दिब्यज्योति ।
फोटोशेसनका क्रममा दिब्यज्योति ।

पद्मकन्याबाट म्युजिक स्नातक गरेकी दिब्यज्योति सामाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययनरत छिन् । त्रिभुवन विश्विद्यालयले पद्मकन्यामा पुरानो कलाकारको नाममा राखेको अवार्डहरुमध्ये म्युजिकमा राम्रो दख्खल गरेको र राम्रो नम्बर ल्याएका विद्यार्थीलाई दिने सबै अवार्डहरु यसपटक दिब्यज्योतिले नै हात पारिन् देबचन्द्र रेग्मी, खेमचन्द्र र सतिसचन्द्र, गोपालयोञ्जन लगायतका पुरस्कारहरु दिब्यज्योतिले हात पारेको उनकी म्युजिक पढाउने शिक्षिका सरोजनी तण्डुकारले जानकारी दिइन् । पत्रकारितामा समेत विभिन्न अवार्डहरु हात पारेकी दिब्यज्योतिले अहिले गीत संगितमा अवार्ड पाउन थालेकी छिन् ।

पत्रकारिता र कलाकारितासँगै हाल उनी सामाजिक क्षेत्रमा समेत व्यस्त छिन् । लोकजननी नामको सामाजिक संस्थामार्फत उनी सामाजिक क्षेत्रमा कृयाशिल भएकी हुन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि पुनम मिश्रसँग मिलेर दिब्यज्योतिले भूकम्पपीडितका लागि पाल सिलाउन थालिन् । पछि यो अभियानमा अरुले पनि साथ दिए । उनीहरुले झण्डै २ हजार पाल सिलाएर भूकम्पपीडितलाई हस्तान्तरण गरे । त्यसपछि सामाजिक क्षेत्रमा लाग्न उनलाई अझ रुची बढ्यो, अनि जन्म्यो लोकजननी ।

आफैले गाएको गीत पागल बनायौ प्रियको म्युजिक भिडियोमा अभिनयका क्रममा दिब्यज्योति ।
आफैले गाएको गीत पागल बनायौ प्रियको म्युजिक भिडियोमा अभिनयका क्रममा दिब्यज्योति ।

दिब्यज्योति र उनका साथीहरु मिलेर लोकजननी स्थापना गरेपछि त्यसयताको छोटो अवधिमा नै उनीहरुले धेरै काम गरिसकेका छन् । भूकम्पलगत्तै लोकजननी मार्फत राहत वितरणका काम गरेका उनीहरुले रामेछापको डाँडागाउँमा भूकम्पपीडितका लागि ४० वटा घर बनाए । नेपाल आयरल्याण्ड सोसाइटी र मारवाडी सेवा समितिको सहयोगमा उनीहरुले ती घरहरु बनाएका हुन् ।


पागल बनायौ प्रिय गीतको म्युजिक भिडियो ।

त्यो बाहेक विभिन्न स्कुलमा ड्रेस वितरण, छात्रबृत्ति, छात्राहरुलाई पढाउने काम समेत लोकजननीमार्फत गरिरहेका छन् । ६ जना नुवाकोटका गरिब, टुहुरा छोरीहरुलाई १० कक्षासम्म पढाउने योजनाका साथ लोकजननीले काम गरिरहेको छ । लोकजननीमार्फत नै उनीहरुले दाम्लोमा बाँधेर राखिएकी मानसिक बिरामी सृजना कार्की खड्कालाई उदयपुरबाट उद्दार गरेर काठमाडौं ल्याए । कार्कीको अहिले काठमाडौंमा उपचार भइरहेको छ । सातजना मिलर सुरु गरिएको लोकजननीकी कोषाध्यक्ष हुन् दिब्यज्योति ।

समाजसेवा, संचारकर्मी र संगीतमा एकसाथ चम्किरहेकी दिब्यज्योतिले भविश्यमा भने संचारकर्मलाई नै पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने योजना बनाइरहेकी छिन् । भन्छिन् — ‘गीत संगित त मेरो नशानशा र रगतमा छ । तर करिअर भने संचारकर्ममै अगाडि बढ्छ । सामाजिक कार्यमा सकृय हुन पनि छाड्नेछैन ।’

kk-14-page-bw-copy

खसोखास साप्ताहिकको वर्ष ५ अंक ४२ पूर्णाब्क १४१, शुक्रवार, कात्तिक १२–१८, २०७३ (Year 5 Vol. 42 Full Vol. 141, (Octoer 28-November 3, 2016 ) मा प्रकाशित । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com