ममताको उपचार गंगालालले गरिदिने


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

छोरी जन्माएको निहुँमा घरबाट निकालिएकी ममता मरिकको उपचार खर्च काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले व्यहोर्ने भएको छ ।

छोरी जन्माएको निहुमा सुत्केरी भएको महिना दिन नपुग्दै घर निकाला भएकी १३ वर्षीया ममता मरिकको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोर्ने जनाएको छ ।

सुनसरीको गढी गाउँपालिका ७ सत्तरझोडा माइती भएकी ममताको सिराहाको गोलबजारस्थित मुसानियाका ३५ वर्षीय प्रकाश मरिकसँग गत वर्ष १२ वर्षको उमेरमै विहे भएको ममताकी आमा भुटी मरिकले बताइन् ।

ममताले काम गर्न गएका बेला खेतमै छोरी जन्माएको र उनी सुत्केरी भएको महिना चैत्र भए पनि दिन कुन हो भन्ने अहिलेसम्म पत्ता लगाउन नसकिएको बताइएको छ ।

छोरी जन्माएको भन्दै श्रीमान र घर परिवारले खान लाउन नदिई कुटपिट गर्दै बैशाख १ गते घरबाट निकाले पछि ममतालाई नाता पर्ने मान्छेले उपचारका लागि सुनसरीको इनरुवा अस्पतालमा भर्ना गरिदिएका थिए । अस्पतालमा ममता र उनकी छोरीको रेखदेख गर्ने मान्छे समेत कोही नहुँदा अस्पतालले उनको निशुल्क उपचार र रेखदेख गर्दै आएको थियो ।

ममताको मुटुमा समस्या भएको र इनरुवा अस्पतालमा थप उपचार सम्भव नभएको विषयमा समाचारहरु सार्वजनिक भए पछि सुनसरीका समाजसेवी राकेश निरौलाले उनलाई बिहीबार काठमाडौं ल्याई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरेको बताए ।

गढी गाउँपालिकाले ममता, उनकी छोरी र ममताकी आमाको प्लेन खर्च दिए पछि उनी काठमाडौंसम्म आइपुगेकी हुन् ।

ममताको स्वास्थ्य स्थितिको बारेमा बुझ्न गएका पत्रकारहरुसँग कुरा गर्दै अस्पतालका निर्देशक डा.जोतेन्द्र शर्माले मरिकको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने बताए । उनले भने, ‘ममताको स्वास्थ्यमा सुधार आएको छ । बच्चाको अवस्था पनि ठीक छ । उनको सम्पूर्ण उपचार खर्च अस्पतालले बेहोर्नेछ ।’

ममताकी आमा भुटी मरिकका अनुसार ममताकी फुपु र फुपाजुले गत वर्ष प्रकाश मरिकसँग ८० हजार पैसा लिएर ममताको विहे गराइदिएका थिए ।

प्रकाशको घरमा पहिले नै एक श्रीमती र आठ र पाँच वर्षकी दुई छोरी रहेको पनि बताइएको छ । प्रकाशले छोरा जन्माउनकै लागि ममताकी फुपु र फुपाजुलाई ८० हजार दिएर ममतासँग विहे गरेको पनि थाहा भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com