भारतलाई चीनको कडा चेतावनी


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

दीपावलीको माहोलमा आफ्नो देशमा उत्पादित सामान बहिष्कारको निर्णय गरेपछि चीनले भारतलाई त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ । चीनले सिधा भाषामा यस किसिमको कदमले दुबै देशको सम्बन्ध बिग्रनुका साथै चिनियाँ कम्पनीको भारतमा रहेको अर्बौंको लगानीमा पनि ठूलो नोक्सानी पुग्न सक्ने चेतावनी दिएको हो ।

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासको तर्फबाट लिखित वक्तब्य निकालेरै भारतलाई चेतावनी दिएको हो । भारतले पाकिस्तानसँगको तनावमा चीनले आफूहरुलाई साथ नदिई पाकिस्तानको समर्थन गरेको भन्दै चिनियाँ सामान बहिष्कार अभियान चलाएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाबा रामदेवमार्फत भारतमा चिनियाँ सामान बहिष्कार अभियान छेडेका छन् । यस्तोमा यसको ठूलो असर आफूलाई भन्दा भारतलाई नै पर्ने चीनको दाबी छ ।

चीनले थप जोड दिँदै भनेको छ, ‘यस किसिमको बहिष्कारको कदमबाट हाम्रो निर्यात कारोबारमा त खास धेरै असर पर्ने छैन । तर बिना कुनै खास कारण बहिष्कारको निर्णय गरिँदा सबैभन्दा धेरै घाटा त भारतीय व्यापारी र ग्राहकलाई नै पर्नेछ ।’ चिनियाँ दूतावासले विश्वभरमा चीन आफ्नो सामानको निर्यात गर्ने सबैभन्दा ठूलो देश भएको बताउँदै भारतमा जाने केही प्रतिशत सामान रोकिँदैमा आफूलाई कुनै फरक नपर्ने जनाएको हो ।

चीनले सन् २०१५ मा २२७६.५ अर्ब डलरको सामान निर्यात गरेको थियो । भारतले कुल निर्यातको केबल दुई प्रतिशत मात्रै सामान भारत जाने गरेको छ । यसकै कारण पनि चीनले आफ्ना सामान भारतीय बजारमा रोकेर कुनै असर नपर्ने जनाएको कारोबारमा खबर छ ।

‘चीन यस किसिमको बहिष्कारबाट चिन्तित छ । यसले भारतमा लगानी गर्नेवालाहरुमाथि नकारात्मक असर पर्न सक्छ’, चिनियाँ दूतावासको तर्फबाट निकालिएको विज्ञप्तीमा भनिएको छ, ‘यसका साथै दुबै देशको द्विपक्षीय सहयोगमा पनि असर पर्नेछ । जो चीन र भारत दुबै देशले हेर्न चाहेका छैनन् ।’ विज्ञप्तीमा यो बहिष्कार केबल दीपावालीको सामानमा मात्रै सीमित नरहने जनाउँदै यसको असर आगामी दिनमा चीनका अन्य उत्पादनमा पनि देखिन सक्ने जनाइएको छ । चीनले बहिष्कार अभियान लामो समयसम्म चलिरहेमा यसले केवल चिनियाँ सामानको बिक्रीमा मात्रै प्रभावित हुनेछैन भारतमा सर्वसाधरण उपभोक्तमाथि पनि गम्भीर असर पर्न सक्नेछन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com