बलात्कारपीडितलाई न्याय कहिले ?


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

राजेन्द्र मानन्धर-

दोलाखमा विवाह गर्ने उमेर नै नपुगेकी एक किशोरी गर्भवती भएको चार महिना भयो । पातलो ज्यान र होचो कदकी उनी करिब १५ वर्षकी भएको प्रस्टै देखिन्छिन् । त्यति मात्रै होइन, गरिबीका कारण किशोरी पोषणयुक्त खानाबाट वञ्चित देखिन्छिन् । तिनै किशोरी वर्षदिनदेखि लगातार ३ पुरुषबाट बलात्कृत हुँदै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको जाहेरीमा ३१ वर्षका कर्णबहादुर भुजेलले लगातार उनलाई बलात्कार गर्दै आएका थिए । त्यो थाहा पाएका १९ वर्षीय भिनाजुले घटना सार्वजनिक गरिदिने धम्की दिँदै पुन बलात्कार गर्न थाले । उक्त दुई पुरुषको नाम लिँदै बदनाम गरिदिने भन्दै तेस्रो व्यक्तिले पनि बलात्कार गरेको किशोरीले अभिभावकसँग बताएकी छन् । तर जिल्ला प्रहरी कार्यालयमा दायर अभियोग पत्रमा दुई व्यक्तिविरुद्ध मात्रै किटानी आरोप छ ।

मुलुकी ऐनमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिसँग यौनसम्बन्ध कायम गर्नु बलात्कार हो । लुकाउने प्रयास गर्दागर्दै कानुनी दायरामा आएको उक्त अपराधको प्रकृति आम अभिभावकलाई सचेत गराउने खालको छ । अनुसन्धानमा सक्रिय दोलखा प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्की भन्छन्, ‘उक्त अपराध हुनुमा अभिभावकको कमजोरी देखिन्छ ।’
एक किसिमले किशोरीको जीवन थप बर्बाद पार्न आफ्नै भिनाजुको समेत हात छ । साली बलात्कृत हुँदा कारबाही र न्यायको बाटो देखाउनुपर्नेमा भिनाजुले नै किशोरीलाई थप पीडा दिएको अनुसन्धानबाट प्रस्ट भएको कार्कीको भनाइ छ । ‘पछिल्लो यौन दुराचारका घटनामा पारिवारिक पक्षले किशोरीको गतिविधिलाई ख्याल नगर्नु र नजिकका आफन्तमाथि विश्वास गर्नु पनि हो,’ डीएसपी कार्की बताउँछन् ।

उक्त घटनामा किशोरीको पेट बढेपछि मात्रै परिवारले थाहा पाएका थिए । पीडित किशोरी र ६५ वर्षीय बुबा जिल्ला प्रहरी कार्यालय परिसरमा शुक्रबार भेटिँदा निकै तनावमा थिए । उजुरी गर्दा आफ्नै जेठी छोरीको श्रीमान् कारबाहीमा पर्ने, नगर्दा कान्छी छोरी अन्यायमा पर्ने । घटना ढाकछोपमा लागेका परिवारलाई करिब एक साताको प्रयत्नपछि प्रहरीले उजुरी दर्ता गराउन राजी बनाएको हो ।

दोलखा प्रहरीले यो महिना मात्रै किशोरीमाथि यौन दुराचारका ३ घटना दर्ता गर्‍यो । तीनवटै घटनामा पीडित किशोरीका परिवार अभियोग दर्ता नगराउने पक्षमा उभिएका थिए । महिला तथा बालबालिका पीडित भएको घटनामा कमजोरी नगर्ने नीतिका कारण तीनवटै घटनामा प्रहरीकै सक्रियतामा उजुरी दर्ता गरिएको हो । दोलखा प्रहरीले दर्ता गरी अनुसन्धान थालेको अर्को एक घटनामा बलात्कारपछि गर्भवती किशोरीलाई काँकडभिट्टा सीमाबाट उद्धार गरेको छ । जबरजस्ती करणीबाट गर्भवती १४ वर्षीया किशोरीलाई उपचारबाट गर्भपतन गराउने आश्वासन दिँदै खुर्कोटबाट पूर्वी मार्ग हुँदै भारतीय सीमा कटाउन लाग्दा उद्धार गरिएको हो । प्रहरीले अपराधमा संलग्न पुरुषलाई सीमाक्षेत्रबाट पक्राउ गरेको छ ।

अनुसन्धानले खुर्कोटबाट किशोरीलाई भारतीय नम्बर प्लेटमा यात्रा गराइएको थियो । भारतमै गर्भपतन गराउने र यौनकोठीमा काम लगाउने आशय बोकेको आपराधिक घटनामा संलग्न पुरुषलाई दोलखा प्रहरीले जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत अनुसन्धान गरेको छ । अभिभावकले किशोरीको आवश्यकताप्रति वास्ता नगर्ने, मोबाइल र सामाजिक सञ्जालको प्रयोग गर्दा निगरानी नगर्ने कारणले अपराध भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

यही महिना भएको १४ वर्षीया बालिका बलात्कारको अर्को घटनामा विद्यालयको निगरानी र छात्रावासको लापरबाही देखिएको छ । जाहेरीअनुसार एक १९ वर्षीय युवकले छात्रावास बाहिर बोलाई जबरजस्ती करणी गरेको खुलेको छ । छात्रावासबाटै भगाएर पोखरा पुर्‍याएर पनि करणी गरेपछि किशोरीको उद्धार भयो । सानै उमेरमा बलात्कृत किशोरी मानसिक तथा शारीरिक पीडामा छिन् ।

एकै महिनामा प्रहरीले मुद्दा चलाएको ३ घटनाका आरोपीविरुद्ध जबरजस्ती करणी र मानव बेचबिखन मुद्दा चलाइएको छ । मुलुकी ऐनमा उक्त उमेर समूहमाथि जबरजस्ती करणी गर्नेहरूलाई ८ देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मानिस किन्ने/बेच्नेलाई २० वर्ष कैद र २० लाख जरिवाना गर्ने व्यवस्था छ । घटनामा दोषी ठहरिए दुवै आरोपको फरक–फरक सजाय भोग्नुपर्ने हुन्छ ।

दोलखा प्रहरीले यस आर्थिक वर्षमा जबरजस्ती करणीका ८ मुद्दा दर्ता गरेको छ । बालविवाहका ५ र मानव बेचबिखनका २ मुद्दा दर्ता भएका छन् । अझै बालबालिकासम्बन्धी कतिपय आपराधिक घटनाहरू मिलोमतोमा टुंगने, गुपचुपमा रहने र मोलतोलमा परिणत भइरहेकाले मुद्दा कम देखिएको महिला अधिकारकर्मी सिर्जना कार्की बताउँछिन् । कतिपय घटनाहरू जात र धर्म मिले सामान्य ठानिने र नमिले अपराध हुनेजस्ता प्रवृत्ति पनि हाबी भएको उनले गुनासो गरिन् ।

साभार : कान्तिपुर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com