टीपीएसको अवधि थपिएको औपचारिक घोषणा, झण्डै ८९५० नेपाली लाभान्वित


प्रकाशित मिति : कार्तिक १०, २०७३ बुधबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रबिहिन नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि थप गरेको औपचारिक घोषणा गरेको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएसको अवधि १८ महिना थप्ने घोषणा गरेको छ । सन् २०१६ को डिसेम्बर २५ बाट लागु हुनेगरी टीपीएसको अबधि अब सन् २०१८ को जुन २४ सम्मका लागि थपिएको छ ।

थपिएको टीपीएसको अवधिबाट पनि लाभान्वित हुन चाहने योग्यहरुले सन् २०१६ को अक्टोबर २६ को ६० दिनभित्र अर्थात् सन् २०१६ को डिसेम्बर २७ भित्र पुन आवेदन दिइसक्नुपर्ने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । थपिएको अवधिबाट फाइदा लिनेगरी पुन दर्ता गर्न र वर्क परमिट रिन्यु गर्न पहिले नै टीपीएसका लागि दर्ता भइसकेको वा टीपीएस प्राप्त गरिसकेको व्यक्ति हुनुपर्ने जनाइएको छ ।
टीपीएसको अवधि थपिएको औपचारिक सुचना र टीपीएसबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला । 

समयमै पुन दर्ता गर्ने र वर्क परमिटका लागि आवेदन दिनेहरुका लागि सन् २०१८ को जुन २४ सम्म अवधि रहेको वर्क परमिट प्रदान गरिने सरकारी सुचनामा जनाइएको छ । सन् २०१७ को जुन २४ सम्मका लागि भने पहिले टीपीएसका लागि आवेदन दिएर वर्क परमिट प्राप्त गरेका सबैको वर्क परमिट स्वत रिन्यु गरिने भएको छ । वर्क परमिटको अवधी समाप्त हुँदासम्म नकुरेर ६० दिनको अवधि भित्रै पुन दर्ता गराउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनुरोध समेत गरेको छ ।

सबै मापदण्ड पूरा गरेका तर पहिले टीपीएसका लागि आवेदन नदिएकाहरुले भने बिलम्ब दर्ताको मापदण्ड पूरा गरेरमात्र टीपीएसका लागि आवेदन दिनसक्ने जनाइएको छ । बिलम्ब दर्ताका लागि टीपीएसका सबै नियमित मापदण्ड पूरा गर्नुका साथै आवेदन दिन ढिलाई हुनुको विशेष कारणको मापदण्ड समेत पूरा गर्नुपर्ने जनाइएको छ । स्वेच्छिक डिपोर्टका लागि अनुमति दिइएको वा डिपोर्टहुनबाट उन्मुक्ति दिइएको अवस्था वा स्टेटस परिवर्तन, एड्जस्टमेन्ट, शरणार्थीका लागि आवेदन दिएको वा पेरोलीका रुपमा रहेको वा रिपरोलको अनुरोध पेन्डिङ अवस्थामा रहेको वा दम्पत्ति टीपीएका लागि योग्य रहेको लगायतका विशेष मापदण्ड पूरा गरेको खण्डमा मात्र पहिले आवेदन नदिएकाहरुले यसपटक नयाँ आवेदन दिनसक्ने जनाइएको छ ।

अमेरिकामा टीपीएसबाट लाभान्वित हुने नेपाली झण्डै ८ हजार ९ सय ५० जना रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । यसअगाडि अमेरिकामा रहेका नेपालीहरुलाई टीपीएस प्रदान गर्ने प्रारम्भिक घोषणा गरिदा झण्डै २५ हजार नेपालीहरु लाभान्वित हुने अपेक्षा गरिएको थियो । नेपाल टीपीएसका लागि कुल १३ हजार ६ सय ७६ जनाले आवेदन दिएका थिए ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि नेपालले भोग्नुपरेको नाकाबन्दी लगायतका समस्या, यही अगस्तसम्म १८ हजार २ सय जना नेपालीहरु अझै क्याम्पमा नै अस्थायी रुपमा बस्नुपरेको अवस्था, नेपालका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोग भूकम्पप्रभावितका लागि लगाउनेमा भएको ढिलाई, गत मे महिनामा नेपालका प्रधानमन्त्रीले पुननिर्माणका लागि अझै दुईबर्ष लाग्ने भन्दै गरेको घोषणा लगायतका कारण देखाउँदै अमेरिकामा बस्ने नेपालीहरुका लागि टीपीएसको अवधि लम्बाउने अमेरिकी सरकारले निर्णय गरेको हो ।

भूकम्पपछिको नेपालको अवस्थामा क्रमिक सुधार आएपनि नेपालका नागरिकहरु स्वेदश फर्केमा उनीहरुलाई सम्हाल्न सक्ने अवस्थामा नेपाल अझै नरहेको भन्दै अमेरिकी सरकारले टीपीएसको अवधि लम्बाएको हो । विभिन्न अमेरिकी सरकारी एजेन्सीहरुसँगको सरसल्लाहपछि आफू नेपालका लागि टीपीएसको अवधि लम्बाउने निष्कर्षमा पुगेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले सुचनामार्फत जनाएका छन् ।

टीपीएसपछि अमेरिकामा रहेका नेपाली

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका रहेका नेपालीहरु पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गरिरहेका छन् । टीपीएसप्राप्त गरिसकेपछि कैयन नेपालीहरु एड्भान्स परोल अर्थात् यात्राअनुमतिपत्र प्राप्त गरेर नेपाल पुगेर आफ्ना परिवारलाई भेटेर समेत फर्किसकेका छन् ।

विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गरिरहेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गरिरहेका छन् ।

सिधा नागरिकता पाउनसक्ने

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ डिफेन्सको विशेष कार्यक्रमका लागि टीपीएस प्राप्त व्यक्तिलाई समेत योग्य ठहराइएको छ, जुन कार्यक्रममा छानिने टीपीएस प्राप्त व्यक्तिले केही महिनामा नै सिधै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान रहेको छ ।

मिल्ट्री एक्सेसन्स भाइटल टु नेशनल इन्ट्रेस्ट अर्थात (माभ्नी) कार्यक्रम अन्तरगत अमेरिकामा ग्रिनकार्ड प्राप्त नगरेका तर भिसाको स्टाटस नगुमाएकाहरुलाई उनीहरुको क्षमता मुलुकका हितका लागि महत्वपूर्ण रहने भन्दै रक्षामन्त्रालय अन्तरगतको सैन्य सेवामा प्रवेश दिइन्छ । केही निश्चित भाषा जानेकाहरु वा स्वास्थ्य सेवामा काम गरेकाहरुले यस्तो अवशर प्राप्त गर्न सक्छन् ।

तोकिएका केही निश्चित भाषाहरुमा नेपाली भाषा पनि एउटा भएकाले नेपाली भाषा जानेको व्यक्ति यो कार्यक्रमबाट लाभान्वित हुन सक्छ । हालका लागि यो कार्यक्रम सन् २०१६ को सेप्टेम्बरसम्मका लागि रहेको छ । तर कैयन नेपालीहरुको टीपीएस स्वीकृतिमा ढिलाई भएका कारण उनीहरुले यो सुविधा उपभोग गर्न पाएका छैनन् ।

यो कार्यक्रम अन्तरगत पूर्णकालिन वा अल्पकालिन रुपमा अमेरिकाको सैन्य सेवामा प्रवेश गर्नेहरुले ग्रिनकार्ड विना नै अमेरिकाको नागरिकता प्राप्त गर्न सक्छन् । यो कार्यक्रम अन्तरगत स्वास्थ्य सेवामा प्रवेश गर्ने व्यक्तिले अमेरिकी सेना र उनीहरुका परिवारलाई स्वास्थ्यसेवा दिनका लागि खटिनुपर्छ । यो कार्यक्रम अन्तरगत अमेरिकाको सैन्य सेवामा प्रवेश गर्न चाहने व्यक्तिले सबैभन्दा पहिले भर्ती अधिकृतलाई भेट्नुपर्छ ।

त्यसपछि भर्ती हुने व्यक्तिसँग अन्तरवार्ता लिनुका साथै उसको योग्यता जाँचिन्छ । स्वास्थ्य परिक्षण र पृष्ठूभूमी जाँच गरिसकेपछि कुनै व्यक्तिलाई भर्ती गर्ने वा नगर्ने निर्णय लिइन्छ । अमेरिकी सेनाका बटालियन सर्जेन्ट मेजर डानियल मर्फी र अमेरिकी सेनाका क्याप्टेन डेभिड भिलारोलका अनुशार सुरुदेखि भर्तीहुँदासम्म झण्डै ६ महिनाको अवधि लाग्छ । त्यसपछि झण्डै १० हप्ताको आधारभूत तालिमपछि सबैलाई अमेरिकी नागरिकता प्रदान गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । अर्थात् भर्ति भइसकेपछिको झण्डै तीनमहिनामा अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । जतिबेलासम्म आधारभूत तालिम समाप्त भइसकेको छ । केही व्यक्तिको हकमा भने यो अवधि थोरै लम्बिनसमेत सक्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com