चीन पठाउने गैँडाका दुई केटाकेटी निकुञ्जको नियन्त्रणमा


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैँडाका दुई केटाकेटी नियन्त्रणमा लिएको छ ।

दुई गैंडामध्ये एउटा पोथी गैँडा मंगलबार नियन्त्रणमा लिईएको हो । यसअघि वैशाख १५ गते निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट एउटा भाले गैँडा नियन्त्रणमा लिइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार निकुञ्जको शुखिभारबाट अन्दाजी दुई वर्षको गैँडा नियन्त्रणमा लिईएको हो । यसअघि नियन्त्रणमा लिइएको गैँडा राखिएको कसरामा रहेको पिट बुमामा नै मंगलबार नियन्त्रणमा लिइएको पोथी गैँडालाई पनि ल्याएर राखिने ढकालले बताउनुभयो ।
वैशाख १५ गते नै केटो गैँडा नियन्त्रणमा लिइसकेको भए पनि केटी गैँडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको उहाँले जानकारी दिनुभयो ।
चार वर्षसम्म आमासँगै रहने, सानो हुने भएकोले घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगेलगत्तै भाग्ने भएकाले केटाकेटीलाई नियन्त्रणमा लिन कठिन भएको ढकालले बताउनुभयो । लिंग पहिचान गर्नसमेत कठिन भएकाले लामो समय लागेको उहाँले बताउनुभयो ।

गैँडाको केटाकेटी नियन्त्रणमा लिन वैशाख ७ गतेबाट निकुञ्जको प्राविधिक टोलीले गैंडाको बासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो । गैँडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनिया प्रतिनिधि संगै रहेका छन् ।

नियन्त्रणमा लिइएको भाले केटालाई बाढीले बगाएको अवस्थामा त्रिवेणीबाट उद्धार गरी ल्याइएको हो । हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षण गरी राखिएको छ । त्यो गैँडा झण्डै १ वर्षको रहेको छ ।

केही दिन खोरभित्रको खाडलमा राखेर गैँडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ । झण्डै तीन महिना बुमामा राखेपछि गैँडा चीन पठाइनेछ ।
वि.सं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com