अमेरिकी दूतावास काठमाडौंबाट नेपाली डाक्टरहरुको ‘जे वान’ भिसा एउटै शैलीमा रिजेक्ट


प्रकाशित मिति : जेष्ठ ४, २०८१ शुक्रबार

अमेरिकी दूतावास काठमाडौंबाट दर्जनबढी नेपाली डाक्टरको ‘जे वान’ भिसा आवेदन  एउटै शैलीमा रिजेक्ट गरिएको पीडितहरुले गुनासो गरेका छन् । गतसाता अमेरिकी दूतावास काठमाडौंमा भिसा अन्तरवार्तामा गएका उनीहरुको भिसा अस्वीकार गरिएको हो । अमेरिकामा  मेडिकल रेसिडेन्सीका लागि म्याच भएका उनीहरुले रेसिडेन्सी कोर्शका लागि  अमेरिका आउनका लागि एक्सचेन्ज भिजिटर भिसा ‘जे वान’का लागि आवेदन दिएका थिए ।

जनवरीमा युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई कार्यक्रमले नेपालका कैयन परीक्षार्थीहरूले प्राप्त गरेको अङ्कलाई रद्द गरेपछि स्कोर रद्द नभएका नेपाली डाक्टरहरुलाई अमेरिकामा रेसिडेन्सीका लागि म्याच पाउन मुस्किल भएको थियो । यद्यपी केही डाक्टरहरु भने अमेरिकामा रेसिडेन्सीका लागि स्वीकृत भएका थिए । तर उनीहरुको भिसा अमेरिकी दूतावास काठमाडौंले अस्वीकार गरेपछि उनीहरु आफ्नो भविश्यबारे चिन्तित बनेका छन् ।

एउटै शैलीमा भिसा अस्वीकार भएपछि आगामी साताहरुमा भिसाका लागि अप्वाइन्टमेन्ट कुरिरहेकाहरु पनि चिन्तित बनेका छन् । जे वान भिसाका लागि आवेदन अस्वीकृत गर्नुका साथै कतिपयको पहिलेको भिजिटर भिसा समेत दूतावासले रद्द गरिदिएको समेत जनाइएको छ । युएसएमएलईले विगतमा केही नेपाली डाक्टरको स्कोर रद्द गरेको सन्दर्भ उल्लेख गर्दै भिसा अधिकारीले आफूहरुलाई दुव्यर्वहारपूर्ण शब्दहरु प्रयोग गरेको समेत कतिपयको गुनासो रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारे खसोखासले अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्समा सम्पर्क गरेको थियो । यसबारे अमेरिकी विदेश मन्त्रालयका एकजना प्रवक्ताले भनेका छन् -‘अमेरिकी विदेश मन्त्रालय ब्रिज युएसए फिजिशियन एक्सचेन्ज जस्ता कार्यक्रमहरू मार्फत सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय मेडिकल विद्यार्थीहरूको गतिशीलतालाई सहज बनाउन प्रतिबद्ध छ। हामी चिकित्सक सहभागीहरूले अमेरिकाका सिटी र टाउनहरुम ल्याएका महत्त्वपूर्ण सांस्कृतिक, आर्थिक, र सामुदायिक योगदानहरूलाई मान्यता दिन्छौं।’

भिसा रेकर्डहरू अमेरिकी कानून अन्तर्गत गोप्य रहने उल्लेख गर्दै व्यक्तिगत भिसा केसहरूको विवरणहरू छलफल गर्न नसक्ने विदेश मन्त्रालयको भनाई छ । सबै भिसा आवेदनहरू अध्यागमन र राष्ट्रियता ऐन तथा अमेरिकी विदेश मन्त्रालयका प्रावधानहरू अनुसार आवेदकहरुको व्यक्तिगत योग्यताहरूमा निर्णय गरिने समेत विदेश मन्त्रालयको जवाफ रहेको छ । नेपालमा रहेका चिकित्सक जे वान भिसा आवेदकहरूले आफ्नो आवेदनबारेका प्रश्नहरू भएमा अमेरिकी दूतावास काठमाडौंमा सम्पर्क गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् -‘एक्सचेन्ज भिजिटर कार्यक्रममा भाग लिन खोज्ने जे वान भिसा आवेदकहरू सहित प्रत्येक गैरआप्रवासी भिसा आवेदकले सान्दर्भिक भिसा अनुरूपका गतिविधिहरूमा संलग्न हुने सन्दर्भमा कन्सुलर अधिकारीहरुलाई आश्वस्त पार्नुपर्छ । अमेरिकामा काम गर्न वा अध्ययन गर्न खोज्ने आवेदकहरुले उनीहरुले आवेदन दिएको भिसाको श्रेणी योजनामा रहेको रोजगारी वा अध्ययनको पाठ्यक्रम अनुरूप भएको स्थापित गर्न आवश्यक छ। प्रत्येक जे वान भिसा आवेदकले पनि भविश्यमा अमेरिकामा आप्रवासी अभिप्राय नराख्ने सन्दर्भमा भिसा अधिकारीलाई विश्वास दिलाउन सक्नुपर्छ ।’

खसोखासले यसबारे इन्टेल्थ अन्तरगतको विभाग विदेशी मेडिकल स्नातकहरूको लागि शैक्षिक आयोग ईसीएफएमजीलाई पनि सम्पर्क गरेको छ । इन्टेल्थकी संचार तथा विदेश मामिला सहायक उपाध्यक्ष एलिजाबेथ इन्ग्राहमले नेपाली डाक्टरको जे वान भिसा अस्वीकृत भएकोबारे इन्टेल्थ जानकार भएको बताएकी छिन् । उनले भनिन् -‘हामीलाई अमेरिकी कार्यक्रम स्नातक चिकित्सा शिक्षा जीएमईमा भाग लिनको लागि जे वान भिसा प्रायोजनको लागि इन्टेल्थद्वारा अनुमोदित तर अमेरिकी दूतावास काठमाडौंबाट जे वान भिसा अस्वीकृत भएका केही नेपाली मेडिकल स्कूल स्नातकहरूले सम्पर्क गरेका छन्। हामीले भिसा अस्वीकारको कारण सम्बन्धमा अमेरिकी विदेश मन्त्रालय वा यसको दूतावासबाट कुनै औपचारिक सञ्चार प्राप्त गरेका छैनौं। हामीलाई सम्पर्क गरेका व्यक्तिहरूले भिसा अस्वीकारका लागि दूतावासबाट आवेदकको स्वदेशसँग अपर्याप्त सम्बन्ध रहेको कारण प्रदान गरिएको संकेत गरेका छन् ।’

यसबारे आफूहरुले अमेरिकी दूतावासका कन्सुलर अधिकारीहरुलाई सम्पर्क गर्ने तयारी गरिरहेको एलिजाबेथ इन्ग्राहमले बताइन् । उनले भनिन् -‘हामीले अमेरिकी कन्सुलर अधिकारीहरूसँग शेयर गर्नको लागि सञ्चारको तयारी गर्दैछौं। यो संचारले इन्टेल्थ जे वान भिसा स्पोन्सरका लागि स्वीकृत भएका चिकित्सकहरू इन्टेल्थद्वारा जाँच गरी योग्य पाइएको र आवेदकसँग जुन जुलाई २०२४ मा सुरु हुने अमेरिकी जीएमई पोजिशनका लागि मान्य सम्झौता भएको कुरालाई पुष्टी गर्छ । संचारले अमेरिकाको जीएमईमा प्रवेश गर्नको लागि परीक्षा आवश्यकताहरू पनि पुष्टि गर्दछ।’

थप रूपमा आफूहरु अमेरिका नेपाल मेडिकल एसोसिएसन एन्मासँग सम्पर्कमा रहेको समेत इन्ग्राहमले जानकारी दिएकी छिन् । यस विषयमा स्रोतको रूपमा एन्मा र अरुहरुका लागि उपलब्ध रहेको समेत उनले प्रष्ट पारेकी छिन् ।

अमेरिकाका चर्चित नेपाली मूलका कानुन व्यवसायी केशव सेडाईले खसोखाससँग भने -‘पहिले युएसएमएलईले स्कोर रद्द गरेकाले नेपाली डाक्टरहरु समस्यामा परे । जसका कारण स्कोर रद्द नभएका नेपाली डाक्टरहरुलाई समेत अमेरिकामा रेसिडेन्सी पाउन मुस्किल भयो । मुस्किलले रेसिडेन्सी पाएकाहरुका सन्दर्भमा पनि अधिकांशको जे वान भिसा आवेदन दूतावासले अस्वीकार गरिदिएको छ । जसले गर्दा उनीहरुमा अन्यौल छाएको छ ।’

पहिले नै भिजिटर वा अन्य गैर आप्रवासी भिसामा अमेरिकामा भएकाहरुले जे वानमा स्टाटस परिवर्तनका लागि आवेदन दिनसक्ने उहाँले जानकारी दिए । भिजिटर भिसा भएकाहरु अमेरिका आएर जेवान भिसामा गैर आप्रवासी स्टाटस परिवर्तनका लागि आवेदन दिनसक्ने भएतापनि उनीहरुले आफ्नो कोर्श सुरु हुने मितिबारे भने सावधानी अपनाउनुपर्ने उनले बताए ।

सामान्यतया जुन/जुलाईबाट रेसिडेन्सी कोर्श सुरु हुने भएकाले अतिरिक्त शुल्क तिरेर शीघ्र प्रकृयासहित तत्कालै जे वान भिसामा स्टाटस परिवर्तनका लागि आवेदन दिनेहरुले ३० दिनभित्र निर्णय प्राप्त गर्ने सेडाईले जानकारी दिए । उनले भने -‘तर त्यसका लागि अन्य प्रकारका गैर आप्रवासी भिसामा अमेरिका आइसकेको हुनुपर्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com