अख्तियार प्रमुख कार्की निलम्बित, भ्रष्टाचारीको आरोप लागेका बस्न्यात कार्यवाहक


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बिनमा परेका छन् ।  उनी निलम्बित भएसँगै आयुक्त दीप बस्न्यातले विहीबारदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।  प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थालेको अख्तियार प्रवक्ता गणेश कार्कीले बताएका छन्  ।

प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा बस्न्यातले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । निजामति सेवामा सचिवबाट अवकाश पाएका दीप बस्न्यातनिजामति सेवामा रहँदा अख्तियारको छानविनमा परेका थिए । प्रतिवेदनअनुशार बस्न्यात भ्रष्टाचारको अभियोग लागेका व्यक्ति हुन् ।

सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनमा वैध सम्पत्तिभन्दा बढी सम्पत्ति भएकाले छानविन हुनुपर्ने सूचीमा केही उच्च प्रशासकहरुको नाम उल्लेख गरेर सरकारलाई कारवाहीका लागि सिफारिस गरेको थियो । जसमा बस्न्यातको नाम समावेश थियो ।

यसैबीचप्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको व्यवस्थापिका–संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ‘ह्वीप’ जारी गरेको छ ।

संसद भवन नया बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने विषयमा हुन लागेको छलफलमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई ह्वीप जारी गरेको मुख्य सचेतक भानुभक्त ढकालले बताउनुभयो । बैठकले अहिलेको अवस्थामा लोकमानसिंह कार्की विरुद्धको महाअभियोग लगाउने प्रस्तावका पक्षमा लाग्न हस्ताक्षर गर्न छुटेका आफ्ना सांसदहरुलाई निर्देशनसमेत दिएको छ । त्यस्तै सहमतिका लागी नै संसद सारिएको बिषयमा जानकारी आएको ढकालले जानकारी दिनुभयो ।

नेकपा एमाले कुनै पनि हालतमा लोकमान विरुद्धको महाअभियोग पारित गर्ने पक्षमा रहेको छ ।

राससका अनुशार नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसद्मा पेस भएको महाअभियोग प्रस्तावको पक्षमा सत्ता साझेदार नेपाली काँग्रेससँग सहयोग माग्ने भएको छ ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रको कार्यालयको बैठकमा महाअभियोगबारे काँग्रेससँग थप छलफल गरेर निर्णय लिने सहमति भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

भारतको गोवामा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) र ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले जनाउनुभएको सहभागिता उपलब्धिमूलक भएको माओवादी केन्द्रको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफ्नो गोवा भ्रमणबारे जानकारी गराउनुभयो । चीन, भारत, भुटान, श्रीलङ्कालगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँगको आफ्नो भेट र छलफलबारे बैठकलाई जानकारी गराउनुभयो ।”

ती भेट तथा छलफल निकै फलदायी र सकारात्मक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

नेपाल, भारत र चीनका राष्ट्र र सरकार प्रमुखबीच भएको त्रिपक्षीय आकस्मिक भेटवार्ता नेपालका लागि सुखद संयोग र महत्वपूर्ण अवसर भएको बैठकले निष्कर्ष निकालेको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

सो भेटवार्तामा त्रिदेशीय साझेदारीबारे नेपालले राखेको प्रस्ताव दूरगामी महत्वको भएको बैठकले ठहर गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com