‘विमानस्थलमा झर्नासाथ नेपालको माटो छोएर ढोग्छु’


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

 

अमेरिका निवासी सफल नेपाली कानुन व्यवसायी केशव सेडाईले आफू अमेरिकामा रहेपनि नेपालको मायाभने आफ्नो मनभित्र सधै रहने बताउनुभएको छ । एबीसी टेलिभिजनमा कार्यक्रम ‘टक अफ द टाउन युएसए’मा कुराकानी गर्दै सेडाईले आफू नेपालको विमानस्थलमा झर्नासाथ सबैभन्दा पहिलो नेपालको माटो छोएर ढोग्ने गरेको बताउनुभयो ।

अमेरिकन ब्रोडकास्टिङ कर्पोरेशन न्युयोर्कसँगको सहकार्यमा नेपालको एबीसी टेलिभिजनबाट हरेक मंगलबार बेलुका साढे ७ बजे प्रशारण हुने कार्यक्रमका संचालक किशोर पन्थीसँग कुरा गर्दै विगत २७ बर्षदेखि अमेरिकामा बस्दै आउनुभएका सेडाईले यस्तो बताउनुभएको हो ।

कार्यक्रम टक अफ द टाउनमा कुरा गर्दै कानुन व्यवसायी सेडाईले नेपालमा कुनै बिपत्ति आउँदा आफूलाई दुख लाग्ने बताउनुभयो । नेपालमा महाभूकम्प गएको समाचार हेर्दा आफ्नो छातीमा पीडा महसुस भएको र गला अबरुद्ध भएको सेडाईले बताउनुभयो । त्यसपछि सेडाईले भूकम्पपीडितको सहयोगका लागि अभियान संचालन गर्नुभएको थियो ।

img_9339

अमेरिकामा रहँदा पनि सामाजिक क्षेत्रमा योगदान दिदै आउनुभएका सेडाइ नेपाली र नेपाली संघसंस्थालाई सहयोगको आवश्यकता पर्दा सहयोग गर्नेमा अग्रपंक्तिमा हुनुहुन्छ । नेपालमा गएको महाभूकम्पपछि आफ्नै व्यक्तिगत र एकल पहलमा रकम संकलन गर्नुभएका सेडाईले ८ लाख आफैले थपेर भूकम्पपीडितका लागि ६५ लाख खर्च गर्नुभएको थियो ।

उहाँले गोफण्डमीमार्फत झण्डै ५६ हजार अमेरिकी डलर संकलन गर्नुभएको थियो । संकलित रकम शतप्रतिशत नै भूकम्पपीडितका लागि खर्च गर्ने वाचा गरे अनुरुप आफैले लमजुङको चिती पुगेर भूकम्पपीडित १ सय परिवारलाई १२ हजार डलरको कर्कटपाता लगायतका राहतसामाग्री वितरण गर्नुभएको थियो । त्यस्तै २५ सय अमेरिकी डलरको खाद्यान्न र सामाग्री काठमाडौं नजिकै रहेको बोडे क्याम्पका भूकम्पपीडितलाई प्रदान गर्नुभएको थियो ।

त्यो बाहेक हिमालयन क्लाइमेट नामको संस्थालाई दुई किस्तागरी ५० हजार अमेरिकी डलर प्रदान गर्नुभएको थियो । यो संस्था गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा भूकम्पपीडितका लागि घर निर्माणकार्यको प्रकृयामा रहेको छ । गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा यो रकम भूकम्पपीडितका ५० वटा घरहरु निर्माणमा लगाइने भएको छ । निर्माणकार्य सन् २०१७ सम्ममा पूरा हुने कानुन व्यवसायी सेडाईले विश्वास लिनुभएको छ ।

अरुबेला उनी खासै चर्चामा आइरहन वा मिडियामा छाइरहन नरुचाउने तर कसैलाई समस्या परेको खण्डमा भने सहयोगका लागि कहिल्यै पछाडि पर्नुहुन्न, अमेरिकामा रहेर कानुनी पेशामा आवद्ध रहेका कानुनविद् केशव सेडाईं । म्यानहटनको अफिसमा नेपालका भन्दा धेरै अरु देशका ग्राहकसंग व्यस्त रहने उहाँ झट्ट हेर्दा नेपाली मूलको देखिनुहुन्न । तर मनभित्र भने नेपालको अगाध माया बोकेका सेडाईं लमजुङको चिदीमा जन्मिनुभएको हो झण्डै ५० वर्ष अगाडि ।

बुबा लक्ष्मण सेडाई र आमा हरिप्रिया सेडाईका जेठा छोरा केशव सेडाईले ८ कक्षासम्म लमजुङको चिदीमा रहेको सामान्य विद्यालयमा अध्ययन गर्नुभयो । त्यसपछि भने फर्पिङको त्रिभुवन आदर्श माध्यामिक विद्यालयबाट उहाँले एसएलसी सम्मको अध्ययन गर्नुभयो । पछि काठमाडौंको ल क्याम्पसबाट बिएल सकेर उहाँ थप अध्ययनका लागि सन् १९९० मा अमेरिकातिर हान्निनुभयो । अमेरिकाको नेब्रास्कामा व्यवस्थापन विषय पढेपछि उहाँले युनिभर्सिटी अफ नेब्रास्काबाट बिजनेशमा मास्टर्स गर्नुभयो । अध्ययनकै क्रममा उहाँले कलेजले नै दिएको रेसिडेन्स हल डाइरेक्टरको जागिर पनि खानुभयो । केशव सम्झनुहुन्छ –“त्यतीबेला मैले अमेरिकाको वकिल भएर संयुक्त राष्ट्रसंघमा जागिर खाने आफ्नो लक्ष्य सुनाउदा कसैले पत्याएनन्, बरु हासोको पात्र बनाए । ”

तर पछि उहाँले आफ्नो लक्ष्य पूरा गरेरै छाड्ने अठोट लिनुभयो । अनि युनिभर्सिटी अफ जर्जियाबाट कानुनमा मास्टर्स समेत गर्नुभयो । त्यसपछि एटलान्टाको एउटा ल फर्ममा जागिर गर्नुभएका सेडाई सन् १९९५ तिर न्युयोर्क आएर वल्र्ड ट्रेड सेन्टरमा रहेको एउटा ल फर्ममा काम गर्न थाल्नुभयो । यसै दौरान उहाले सन् १९९६ मा संयुक्त राष्ट्रसंघमा जागिर पनि खानुभयो । त्यतिबेला उहालाई जीवनको एउटा सफलता मिलेको अनुभव भयो । किनभने उहाले कानुन पढेर संयुक्त राष्ट्रसंघमा जागिर खाने कुरा सुनाउदा कसैले पत्याएका थिएनन् । संयुक्त राष्ट्रसंघमा जागिरका शिलशिलामा उहाले युगोस्लाभिया र क्रोयशियामा काम गर्नुभयो । जागिरबाट फर्केपछि उनले वकिलको लाइसेन्सपनि प्राप्त गर्नुभयो । यसै दौरानमा फिजिकल थेरापिस्ट रितुसंग प्रेममा परेका सेडाईले सन् १९९८ मा प्रेम विवाह पनि गर्नुभयो । त्यसपछि उहाँ २ छोरा र एक छोरीका पिता समेत भइसक्नुभएको छ ।

विवाहपछि सेडाईले आफ्नै ल फर्म खोल्नुभयो । सन् १९९९ मा उहाले न्युयोर्कको रिचमण्ड हिलमा आफ्नै ल फर्म खोल्नुभएको थियो । पछि सन् २००१ मा उहाले आफ्नो ल फर्म रिचमण्ड हिलबाट न्युयोर्कको केन्द्र वल्र्ड ट्रेड सेन्टर नजिकै सार्नुभयो । वल्र्ड टे«ड सेन्टरमा दोश्रो हमला हुंदा उहाँ आफ्नै ल फर्ममा हुनुहुन्थ्यो । वल्र्ड ट्रेड सेन्टरमा हमला भईसकेपछि उहाले आफ्नो ल फर्म डेढ महिना बन्द गर्नुपरेको थियो । त्यो भयानक क्षण सम्झदै उहाँ भन्नुहुन्छ –“हेर्दा हेर्दै वल्र्ड ट्रेड सेन्टर ढल्यो, हामी पनि कार्यालय बन्द गरेर सुरक्षित स्थान तर्फ दौडियौं, म त यति दौडिएँ कि न त त्यसरी पहिले दौडिएको थिएँ न त पछाडि नै दौडिएको छु । ”

सन् २००४ सम्म वल्र्ड ट्रेड सेन्टर नजिकै ल फर्म चलाएका सेडाईले सन् २००५ देखि भने म्यानहटनको १४६ वेस्ट २९ स्ट्रीटमा ल फर्म चलाउदै आएका आउनुभएको छ, अहिलेसम्म । न्युजर्सीको न्युपोर्टमा बस्दै आउनुभएका सेडाई कुनै नेपालीलाई समस्या पर्दा वा कुनै सामाजिक काममा सहयोग आवश्यक परेमा सधै तत्पर रहदै आउनुभएको छ । त्यसैले उहाँ पर्दा पछाडिका समाजसेवीका रुपमा परिचित हुनुहुन्छ न्युयोर्कमा । सेडाईले २०६२/०६३ को जनआन्दोलनमा राजतन्त्र विरुद्धको आन्दोलनमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्नुभयो । अमेरिकन इमिग्रेशन लयर एसोसियसन, अमेरिकन बार एसोसियसन, न्युयोर्क स्टेट बार एसोसियसनमा आबद्ध रहनुभएका सेडाई भन्नुहुन्छ –“भविश्यमा नेपाल फर्कने योजना त छ तर कहिले फर्कने तय गरिसकेको छैन । ”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com