को होला नयाँ आइजिपी?


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

नेपाल प्रहरीको नेतृत्व फेरिन अब तीन दिन मात्रै बाँकी छ। तर, अझैसम्म पनि नेपाल प्रहरीको २६औँ प्रहरी महानिरीक्षक को हुने भन्ने टुंगो भने लागेको छैन। आइजिपीको दौडमा रहेका प्रतिस्पर्धी भने आफ्नो पक्षमा माहोल बनाउन भित्रभित्रै मिडिया क्यापियनदेखि शक्तिकेन्द्र धाउन व्‍यस्त रहेका प्रहरी स्रोतको भनाइ छ। २८ चैतबाट ३० वर्षीय सेवा अवधिका कारण हालका आइजिपी प्रकाश अर्याल अवकाश हुने भएपछि प्रहरीमा नेतृत्व फेरिन लागेको हो। प्रहरी नियमावलीअनुसार अतिरिक्त प्रहरी महानिरीक्षक एआइजीबाट प्रहरी महानिरीक्षक आइजिपी बन्ने सामान्य नियम छ। तर, ३० वर्षे सेवा अवधिका कारण अर्यालसँगै हालका १५ जना एआइजीसमेत अवकाश पाउने भएपछि २६औँ आइजिपी प्रकाश अर्यालझैँ योपटक पनि प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट सीधै आइजिपी नियुक्त हुनेछन्।

बहालवाला डिआइजीबाट एकजना आइजिपी बन्ने निश्चित भएसँगै आइजिपीको दौडमा डिआइजीहरू सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा छ। उनीहरूमध्ये एकजना डिआइजी भएको आठ महिनामै आइजिपी बन्नेछन्। तीन जनामध्ये पनि खनाल र खरेलको सम्भवना अझ बलियो बन्दै गएको एकजना उच्च प्रहरी अधिकारीले बताए। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)बाट डिआइजी हुँदा बढुवाको पहिलो नम्बरमा रहेका खनाल र यसअघिको बढुवाको लिस्टमा पहिलो नम्बरमा रहँदै आएका खरेलबीच तीव्र प्रतिस्पर्धा देखिन्छ। तर, आइजिपी बनाउने अधिकार भने सरकारसँग छ। त्यसैका कारण पनि गृहमन्त्री माओवादी केन्द्रका रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता र आफन्त भेट्न उनीहरूले तीव्रता दिएका स्रोतको भनाइ छ।

खनाल, खरेल र कार्कीको प्रहरी करिअर

तीनजना डिआइजी खनाल, खरेल र कार्कीको हालसम्मको काम र छवि चर्चामै छ। आर्थिक अनुशासनदेखि कुनै लेनदेन र सेटिङमा उनीहरूको नाम मुछिएको छैन। खनाल र कार्कीभन्दा ११ महिना अगाडि प्रहरी जवानको रूपमा प्रहरीसेवामा प्रवेश गरेका थिए खरेलले। प्रहरी निरीक्षकमा भने तीनैजनाले २०४६ सालबाट सेवा सुरु गरेका हुन्। प्रहरी निरीक्षकदेखि डिआइजीसम्म खनाल र खरेल सँगसँगै बढुवा हुँदै आएका छन् भने कार्की पछिपरेका थिए। कार्कीले खनाल र खरेललाई डिआइजी बढुवामा भेटेका हुन्।

प्रहरी निरीक्षकदेखि नै ब्याचमा लिड गर्दै आएका खरेल डिआइजीमा भएको बढुवामा भने खनालले पछिपारेका छन्। कार्की भने तेस्रो नम्बरमा छन्। अहिले खनाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा छन्। खरेल सुरक्षा महाशाखामा छन् भने कार्की प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख भएका छन्। खनाल अपराध महाशाखाको प्रमुख हुँदा भएको गुन्‍डा नाइके कुमार घैँटेको नामबाट चिनिएका कुमार श्रेष्ठको इन्काउन्टर र फुटबलको म्याचफिक्सिङको अनुसन्धानले प्रहरी करिअर चर्चामा आएको थियो। खरेल भने तराईका जिल्लाको अपराध नियन्त्रणदेखि काठमाडौं परिसरको प्रमुख हुँदा चर्चामै थिए। उता, कार्की भने अपराध महाशाखा पुगेपछि भएको अर्का गुन्‍डा नाइके दिनेश अधिकारी चरीको इन्काउन्टर घटनाले चर्चामा आएका हुन्।

प्रहरी नियमावलीमा के छ व्यवस्था?

प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुसार आइजिपी हुनलाई ‘ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्य’ मुख्य आधार मानेको छ। नियमावलीले बढुवाका लागि छुट्याएको १०० अंकमा ४० अंक कार्यसम्पादन मूल्यांकनलाई दिएको छ। नियमावलीले ज्येष्ठतालाई २०, शैक्षिक योग्यतालाई १०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई ८, तालिमलाई ७.५, बढुवा समितिले दिने ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई ५ र विभूषणबापत २ अंक निर्धारण गरेको छ।

यसको आधारमा तीनैजना डिआइजीले ८ महिनाको समयमा गरेको कार्यमूल्यांकनको आधारमा एकजना नेपाल प्रहरीको आइजिपी नियुक्त हुनेछन्। यसअघि भने हालका आइजिपी प्रकाश अर्याल हुँदा कार्यसम्पादन मूल्यांकनलाई लिएर विवाद उत्पन्न भएको थियो। विवाद हुँदा डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनको आधारमा आइजिपी नियुक्त गर्न सरकारको नाममा अन्तरिम आदेश दिएपछि हालका एआइजी जयबहादुर चन्दलाई बनाउने निणर्यबाट पछि हट्दै प्रकाश अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com